
बैशाख २८, काठमाडौं।
आज आमा दिवस अर्थात् आमाको मुख हेर्ने दिन । ‘मदर्स डे’ का रूपमा प्रायः विश्वभर मनाइने यो दिवस नेपालमा पनि मनाइन्छ।
नेपालमा यो दिवस परापूर्वकालदेखि नै मनाइँदै आइएको छ । अमेरिका लगायत पश्चिमा मुलुकमा ‘मदर्श डे’ र ‘फादर्स डे’लाई राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएता पनि नेपालमा यसलाई धार्मिक पर्वको रूपमा मनाइन्छ ।
नेपालमा यो दिवस वैशाख कृष्णपक्ष औँसीका दिन मनाइन्छ । जन्मदाता आमालाई सम्मान गरी मनाइने आमा दिवस (आमाको मुख हेर्ने पर्व) आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा र तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।
केही वर्षदेखि यो दिवसलाई धार्मिक आडम्बरको रूपमा भन्दा पनि आमालाई सम्मान गर्ने उद्देश्यबाट प्रेरित भई मनाउन थालिएको छ ।
आमा दिवसको अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ। यस वर्ष भने कोरोना महामारीका कारण मेला भर्न स्थगित गरिएको छ ।