आरनले खलाँतीको साथ पाएर फलामलाई रातीगेडी बनाएको थियो । त्यहाँ दौरासुरुवाल र फाटेको जाँघे लगाउनेदेखि सारीचोलो अनि टालेका धोती लगाउनेसम्मको जमघट थियो । साहिँला दाइ रातीगेडीलाई आकार दिन तम्सिरहेका थिए । उनको अनुहारमा श्रमका दाना बर्सिरहेका थिए ।
‘ए साहिँला ! छिटो हँसिया पिटी दे न, घरमा खेतारा आउने बेला भइसक्यो ?’ हवस् साहेब, म काम गर्दै छु । पहिला आउनेको पहिला पिटिदिन्छु । सबैका खेताँ धान पहेलपुर भको छ । पालो आएपछि हजुरका हँसिया बनाउँछु भन्दै आफ्नो काममा लागे ।
‘पालोसालो छाडी दे, हाम्रा त उहाँ खेतारा छन् घरभरि । आज सिमे खेतको धान ढाल्ने दिन ।’
‘कसैका खेतारा होलान्, कसैका घरैघरका जहान होलान् त कसैका अर्मापर्मा गरेर धान काट्ने होलान् नि मुख्खे साब ?’
साहिँलाको यस्तो जवाफ सुन्दा दलित, जनजाति, महिला, पिछडा वर्गलगायत सबै जना मुखामुख गर्न थाले । आरनका साहिँला बाउन्न सालपछि कुरा गर्न र न्याय खोज्न सिपालु भएका थिए । यस गुणले साहिँलामा आँट र साहस खुब बढेको थियो ।
खलाँती छेउ बसेकी बालिकाले आफ्ना हँसिया तेर्साउँदै भनिन्, ‘हैन, अब मेरो पालो आएन साहिँला दाइ ? किन मुखिया बाका हँसियाको कुरा गरेको ? पालो त मेरो हो नि ? कसैले पालो मिच्न पाइन्नँ नि, कि कसो ?’
‘यो कसकी छोरी हो हँ ? दुईचार अक्षर के पढेकी हुँदी हो फुर्ती लगाउन थाली बा, के यसले चिनेकी छैन मलाई ?’
‘मलाई चिन्नु पनि छैन, म त हँसिया बनाउन आएकी, कसैलाई चिन्न आएकी होइन ।’
खलाँती लगाउँदै साहिँला दाइले भने, ’मुख्खे साहेब अब तर्साएर, हँकारेर, हप्काएर, गाली गरेर काम गर्ने जमना गए । अहिले त लोकतन्त्र पो त नत्र मैले पालैपालो हँसिया कहाँ बनाउन सक्थेँ ।’
साहिँला दाइका कुराले सबै जना गलल्ल हाँसे । मुख्खे बाको अनुहार आरनको आगोभन्दा रातो भयो । दाह्रा किट्दै उनले भने, ‘ए ! तैँले हँसिया बनाउदैनस् हैन ? बनाए बना नत्र त्यसै जान्छु ।’
पालो कुरेर बसेका सबै टुलुटुलु हेर्दै थिए । बालिका आफ्ना हँसिया डोरीले बानेर बाटो लागिन् । आरनका साहिँला दाइ खलाँती चलाउँदै पालैपालो मुस्कान दिएर हँसिया पिट्न थाले ।