झम्लङ्ग साँझ पर्दा हामीले सहिद स्मृति पार्क घुमी सिध्यायौँ र खुवा खायौँ । मकवानपुर गढीबाट फर्किदा चुच्चेबजारबाट ल्याएका थियौँ खुवा । तर समयको हतारोले गर्दा खान भ्याएका थिएनौँ । चारैतिर अन्धकार फैलिए पनि सहिद स्मृति पार्क भने विजुलीको उज्यालोमा जगमगाएकै थियो । ओहो ! कति सुन्दर रहेछ सहिद पार्क । जति घुमे पनि घुमुघुमु लाग्ने । घाम डुबिसकेको थियो त्यहाँ आइपुग्दा । छुट्छ कि भन्ने डर थियो । तर मकवानपुर जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी कथाकार हरिप्रसाद भण्डारीको सहयोग र नेतृत्वमा दिन नडुब्दै हेरिसिध्यायौँ सबै ठाउँ ।
बिहानै हिडेका थियौं काठमाडौंबाट । होलीको अघिल्लो दिन साँच्चिकै भीड थियो बल्खुमा । गाडी भेट्ने कुनै सम्भावना नै थिएन । यहाँ पनि उनै प्रशासकलाई गुहार्नु बाहेक अरू उपाय थिएन हामीसँग । नभन्दै केही समयमै सुमो आयो र लाग्यौँ दक्षिणकालीतिर । सुमोका सबै दशै सिटमा हामीले कब्जा जमाएका थियौँ । कवि प्रथाले आज भने ननभेज गफ गर्न पाइने भयो भनेर खुसी व्यक्त गरे । हुन पनि यात्रालाई असाध्यै रसमय बनाउँछन् कवि प्रथा । मायाले फुपाजू भनेर बोलाउँछन् नेपाली हाइकू सम्राट चेतनाथ धमलालाई उनले । र, उमेरले साना अरुलाई डमरु । यसपल्ट आएका छैनन् कवि चेतनाथ । डमरु भने प्रसस्तै छन् । यसपल्ट पनि कोषको रखवारी गर्ने जिम्मा केवल बिनाबीको पोल्टामा प¥यो । व्यापारी पाराले हिसाव किताव गर्छन् कवि केवल बिनाबी पसलेसँग र भेटिहाल्छन् कहिँ न कहिँ छिद्र । नभन्दै सीमभञ्ज्याङमा बडो नखरा पार्ने साहूनीहरूको हिसाबमा धेरै नै फरक भेटियो । झण्डै आधा नै बढी । सायद सोचेहोलान मैयाँहरूले, अल्लारे केटाहरूले झैँ यी साहेबहरूले पनि हिसाबै नगरी नुट दिन्छन् । तर प¥यो फसाद ! लाग्यो होला ज्याद्रोपो रहेछन् गाठेँ यी त । पाइ पाइ गरेर कमाएको पैसा पो हो त । सायद यस्तै सोच्दा हुन् कवि केवल बिनाबी ।
हाँसोको फोहरा छुटिरह्यो यात्राभरि । नहाँस्नु पनि कसरी र हाँस्नु पनि कसरी । आफू परियो भर्खरै आधा शताब्दी पार गरेको मान्छे । अझ बुढो भन्दा फरक नपर्ने । सबैभन्दा पाको । तर सबैको हाँसोमा साथ दिनै प¥यो । यात्रा न हो, गजक्क फुलेर बस्न पनि भएन । दिएँ बेस्सरी । तर संहालिँदै । लाग्यो कहीँ न कहीँ ठूलो बोझले च्यापिदै छु म । चिसापानी गढीको ओराले छिनभरिमै काटियो र पुगियो भीमफेदी । पुरानो सदरमुकाम । सायद सुन्दर र गुल्जार स्मृतिदंशले थिचिएर बाँच्दो हो भीमफेदी । ढिला गर्नु थिएन हामीलाई । सिधै लागियो हेटौडा बजार जहाँ सिद्धार्थ होटलमा हाम्रो प्रतीक्षामा कथाकार हरिप्रसाद भण्डारी, कविहरू निमेष निखिल, छवि अनित्य, सुभाष खनाल र गिरिजा अधिकारी हुनुहुन्थ्यो ।
जनप्रिय होटलमा खाना खाएपछि सुरु भयो मायाको गलबन्दी कस्ने काम । हेटौडाका कलापारखीसँगको साइनो पुरानै हो मेरा लागि । तर पनि यतिसाह्रो मुहुनी लगाएको थिएन यसभन्दा पहिले उसले । किन छचल्किएर बग्ने गर्छ मायाको वहार । सबै सबै कवि, साहित्यकार उल्लासित र प्रमोदित छन् । घमण्ड र बढप्पनको लेस पनि छैन । आत्मीयता र हर्षातिरेकको बाढी कवितासँगै बग्यो । कविता सिङगै आकाश बन्यो र दीनकरसँग जिस्कित थाल्यो । गुञ्जियो सिङ्गै हेटौडा । झण्डै तीन दशकभन्दा पुरानो संस्था हो साहित्य सङ्गम, मकवानपुर । धन, मन र परिश्रम धेरै बगेको छ होला यसलाई यहाँसम्म ल्याइपु¥याउन । कम्ता होइन निरन्तर करिव दुईसय पचास शृङ्खला पार गर्नु भनेको । त्यो पनि आफ्नै प्रयास र बलबुतामा । मोफसल र राजधानीबिचको फरक यहीँ नेर भेटेँ मैले । यति ठूलो इतिहास बोकेर पनि अझै छायामा छ साहित्य सङ्गम । अझ संस्कृतिको उत्थान र उन्नयनको ठेक्का लिएको मन्त्रालय र प्रज्ञा प्रतिष्ठानको आँखा त्यता पुगेको छैन । हुनत कहाँ पो पुगेको छ र ! भगवान भरोषामा बाचेको हाम्रो जस्तो देशमा जे भएको छ त्यो पनि प्रसस्तै हो भन्दा फरक नपर्ला । यो त निराशा भएन र ! हो साँच्चै, निराशा हुनसक्छ । तर सधै आदर्शको काल्पनिक संसारमा विचरण गर्न पनि त सकिदैन ।
जेहोस सबै अग्रज र समकालीन प्रखर कवि साहित्यकारहरूको मेला लागेको छ साहित्य सङ्गमको परिसरमा । काव्यशिविरको चाँजोपाँजो मिलाउन अघिल्लै दिन त्यहाँ पुग्नुभएका आदरणीय कवि आनन्दराम पाडेलले उसैगरी सुनाउनु भयो कविता । उसैगरीको मतलव हो छुट्टै र असाध्यै भिन्न तर मिठासपूर्ण शैलीमा वाचन । पूर्व प्रशासक हो उहाँ । तर खै कसरी सम्पन्न गर्नुभयो होला लामो समय प्रशासकीय काम उहाँले । संकै लाग्छ । एउटा यति सरल र आत्मीय कवि अनि कामैले नीरस र रुखो प्रशासकको दैनन्दिनी । अग्रज कवि देवराज खरेल, साम्ब ढकाल, मीन प्रसाद लामिछाने र आर.आर. चौलागाईंले पनि जोसिला युवा कविसँग कुममा कुम जोड्न हिच्किचाउनु भएन । उस्तै सान र प्रभावका साथ प्रस्तुत हुनुभयो उहाँहरू । हामी नजिकबाट सुन्न गएका थियौं समकालीन युवा आवाजलाई । के हेटौडा काव्यिक आन्दोलनको मिनी केन्द्र हुन सक्छ ? के साँच्चै मकवानपुर बत्तीमुनिको अँध्यारो हो ? प्रसस्तै प्रश्नहरू थिए हामीसँग । तर प्रमोध अधिकारी, दीपज्योति थापा, यश लामा, पुरुषोत्तम आचार्य, एस.के.निधन, प्रतीमा पाठक, अनिता न्यौपाने, जेनन नेपाल, बबि थापा, गिरिजा अधिकारी, छवि अनित्य र सुभाष खनालले सावित गरिदिए हेटौडा राजधानीभन्दा कत्ति पनि कमजोर छैन भन्ने कुरो । बरु गुणबत्ताका हिसाबले धेरै माथि छ । आदर्श र सौन्दर्यमा मात्र होइन विचार र व्यवहारको संयोजनमा नयाँ पुस्ता धेरै उच्च छ । ढोगी र आडम्बरी राजधानीभन्दा कता हो कता समृद्ध छ । सिक्नु पर्छ हेटौडाका प्रतिभाबाट राजधानीले । फर्किनुपर्छ अल्छि र परनिर्भर सहर मोफसलतिर । वाह ! कविताको शक्ति र सामथ्र्य ! सलाम छ हेटौडाका कविहरूलाई । एउटा मात्र होइन सबै कोहीभन्दा कमजोर छैनन् । सबै एक से एक उम्दा छन् । कवि निमेष निखिल हेटौडे कविहरूका नेता । थाहा छैन कत्तिको राजनीति गर्छन् उनले ? आदरणीय कवि अर.सि. रिजालले जस्तो संगठन चलाउन सक्छन् कि सक्दैनन् थाहा छैन । तर यत्ति थाहा छ नेपाली समकालीन कविहरूमा उनी श्रेष्ठ कवि भने अवश्य हुन् । यसमा दुईमत हुनै सक्दैन कि हेटौडाको मात्र होइन मोफसलकै नेतृत्व गर्छन् उनले । उनले राजनीति नगरे पनि समालोचना भने असाद्धै सुन्दर गर्दा रहेछन् । मलाई थाहा थिएन उनी समालोचना पनि गर्छन् । उनीप्रति इष्र्या त गर्थेँ नै मैले तर अब यसको पारो अझै माथि पुग्ने भयो ।
छवि अनित्य हाम्रा गाइड भएका छन् । कथाकार हरिप्रसाद भण्डारीको पहलमा दुइवटा सवारी साधनको व्यवस्था भएको छ । साथै यस अवलोकन अभियानको नेतृत्व गरेका छन् स्वयम् उनैले । अर्को वाहनमा गाइडको भूमिकामा छन् कवि सुवाष खनाल । हामीलाई विछट्टै पछि पारेर बत्तियो ऊ । खैर केही छैन प्रशासक हामीसँगै भएपछि के नै फरक पर्ला र ! अठार किलोमिटरको ग्रावेल सडक लामै हो । छवि अनित्यले आफ्नो गाउँ र आफूले प्रध्यापन गर्ने चण्डिका विद्यालय देखाए । हामी चौवडा, हटिया हुँदै अघि बड्यौँ । र, उक्लियौँ चुनडाँडको उकालो । अहिले कवि प्रथा हामीसँग छैनन् र रमाइलो पनि उनीसँगै अर्को गाडीमा छ । उनको कविताले खुव ताली खायो आज र अहिले गाडीमा ताली खाँदै होलान उनी । तर पनि हामीसँग कवि अनिता न्यौपाने छन् । कोइलीकोजस्तो आवाजमा कोइलीभन्दा अलि बढी नै गाइरहेकी छन् उनले । आहा ! कति मिठो हाँसो ! कविताभन्दा पनि रसिलो । पछिल्लो सिटमा छन् कवि कला अनुरागी र उनी । फेसबुकले जुराइदिएका दुई साथीको प्रतक्ष्य भेट भएपछि कस्ले सक्नु र !
अब म मान्छेद्वारा, अझ शासकद्वारा भन्दा बेश, पछि पारिएको अलौकिक स्वप्नलोकमा उभिएर पारि पारि हेरिरहेको छु । धेरै टाढा टाढा पुगेको छ क्षितिज । चम्किदै छन् हरित पर्वतराज र वग्दै छ शीतल समीर । म राजा माणिक्य सेनको दरवारको टुडिखेलमा उभिएर रसपान गर्दै छु प्रकृतिको । कल्पनाको स्वर्गबाट टपक्क टिपेर ल्याएजस्तो कति सुन्दर ठाउँ ! साँच्चै उदात्त रहेछ सेनराजाको सुन्दरताको छनोट गर्ने कला । तर यति सुन्दर र अलभ्य प्रकृतिको काखमा रचिएको कलालाई बचाउन र चिनाउन सकेका छैनौँ हामीले । विदेशीले पाए कस्तो बनाउँदा हुन् यसलाई । के गर्ने माल पाएर पनि चाल नपाएपछि ! वरिपरि उँचो पर्खाल उठाएर बनाइएको टुडिखेल जराजीर्ण त छँदै छ त्यसमाथि अतृप्त र बेहोसी हातहरूद्वारा दिनदिनै अतिक्रमण पनि बढ्दो छ । एकापट्टि सामरी र अर्कापट्टि हर्नामाडी फाँट सुन्दर र हरिया उँचा पहाडहरूलाई अङ्गालो हालेर सुतेका छन् । र, टाढा टाढा सम्म भित्री उपत्यका लहलहाउँदा गराहरूमा झुलेको छ ।
अब हामी सेन राजाको दरवारमा आइपुगेका छौँ र भेटेका छौँ उछिन पाछिन गर्दै कुँदेको कवि समूहलाई । दरवार भत्किएको छ । भत्किएको मात्र होइन त्यहाँका पुरातात्विक सम्पदा र अमूल्य सम्पत्ति लुटिएको र चोरिएको छ । र, उहिले उहिले विदेशी अतिक्रमणकारी लुटेराहरूको रखवारी गर्ने गढी स्वयम् चारैतिर अव्यवस्थित र असुरक्षित छ । देशै असुरक्षित र भद्रगोल भएपछि तपसीलका अरूहरूको के नै कुरा गर्नु । मैले भत्किएको दरवारभित्रै गएर तस्विर खिँचाए । भत्किए पनि यो मेरो देशको सान र इतिहासको साक्षी हो । श्रमशील हातहरूमो पौरख हो । साँच्चै सजाउन पाए यो दरवारलाई कविता जस्तै । गढी र दरवार बनाउँदा ठूलाठूला ढुङ्गाले थिचिएर निस्सासिदै ज्यान गुमाएका अनाम नागरिकहरूको सपना सजाएर उनको समाधीमा सिर्जना रोप्न पाए ! गढीको चारैतिरको उजाड र उराठ पाखाहरूमा बनफूलहरू फुलाउन पाए ! कति रमाइलो गर्थे हुनन् युवा जोडीहरूले यहाँ आएर । यदि यहाँ सुन्दर बनभोज पारक बनाउन पाए कति रम्थे होलान् युवा र वृद्धाहरू । आहा ! बनफूल सिउरेर लुकामारी खेल्ने नानीहरू कति प्रफुल्ल हुन्थे होलान् ! के मैले कुनै दिन यहाँको हरियालीमा बसेर कफी पिउँदै कविता गुनगुनाउन पाउँला ?! के विदेशी अतिक्रमणकारी गुगरित खानको विरुद्ध आफ्नो प्राणोत्सर्ग गर्ने वीर सिपाहीहरूको मुर्ति कुँदिएला यहाँ !
म यही सोच्दै त्यहाँको लोपोन्मुख कला, जेल, सत्तल, चोटाकोठा र जीर्ण सम्पदा चहार्दै गर्दा दरवारभित्र तस्विर खिँचाउने कुरो भयो । तर हरिप्रसाद भण्डारी र उनका सुरक्षा गार्ड भने त्यहाँ थिएनन् । गम्भीर शैलीमा कवि प्रोल्लास सिन्धुलीयले भने– छोड्नु हुँदैन है उहाँलाई । फेरि कतै ‘यी लङ्गुरे कविसँग म के कोे दोस्ती गर्नु ? म त जिल्लाको राजा पो त’ भनेर मन बिग्रियो भने हाम्रो विचल्ली हुँदैन । हाँसाको पैरो गयो । हुन पनि एउटा प्रशासक भएर पनि उनले काव्यशिविरको सातौँ शृङ्खलाका लागि धेरै सहयोग गरेका छन् । उनले र साहित्य सङ्गमले नसघाएको भए हाम्रो हेटौडामा पुग्ने सपना सपना मात्र हुन्थ्यो होला । हामीहरूले तस्विर खिच्यौँ र उनलाई पछ्यायौँ ।
त्यहाँका चौकिदारले अलि पर पूर्वपट्टिको ओरालोमा सेतो हात्तीको चिहान देखाए । सेतो हात्ती अथवा एकदन्ता हात्ती । राजा पृथ्वीनारायण शाहलाई दाइजोमा दिने कवुल गरिएको अमूल्य धन । सेतो हात्तीको चिहान त अझै पनि छ तर नौलखा हार (गजमोतीको हार) भने सेनवंशको पतनपछि कहाँ गएहोला ? मलाई यस अनुत्तरित प्रश्नले सताइरह्यो । मन त अझै केही समय त्यहीँ बस्ने थियो । पाए त म कैयौँ दिन त्यतै बस्थेँहुँला । तर घामले सुदूर क्षितिज चुम्न दुई जुवा बाँकी छँदै हामी भने त्यस ऐतिहासिक स्थललाई छोडेर फर्कियौँ ।
महिना दिन वित्यो मैले उसलाई छोडेको तर अझै पनि त्यसको ह्याङले छोडिसकेको छैन मलाई । मिठो स्मृति र न्यानो काउकुति ! हो साँच्चै न्यानो र मयालु गलबन्दी । अर्को बिहानदेखि नै सबै अभियन्ताहरूको मुखमुखमा झुण्डिएको थियो यो शब्द । अहिलेका चर्चित कवि काव्यशिविरका अभियन्ता केशव सिलवाल मुस्कुराए मात्र । सायद गलबन्दीको महिमा र उपमा बुझेनन् उनले ! कवि न परे ! कविता जस्तै छन् । पहिले त मैले पनि बुझिन तर बिस्तारै भेद खुल्दै गयो । उनी सहित कवि राजु स्याङतान र केशरी अमगाईको प्रच्छन्न हाँसो हल्का खुल्यो, विस्तारित भएन । कवि माधव घिमिरे ‘अटल’, कवि प्रकाश गुरागाई सहित बाँकी सबै अभियन्ता खुलेरै कला अनुरागीपट्टि सोजिएको गलबन्दीको बिम्बलाई चङ्गा बनाएर उडाए । मलाई डर लाग्यो कतै यो सुन्दर बिम्बले परिनिर्मित चङ्गा टुट्ने त होइन । तर टुटेन । हेटौडाले लगाएको मुहुनी र उसले दिएको मायाको चिनो पो हो त यो । पहिलो पल्ट हेटौडा आउँदा लेखेको थिएँ मैले—‘थाहा छैन किन हो औधि नजिएका छौँ हामीहरू । अर्थात हेटौडा र मेरो बिचमा एक किसिमको अनुरागपूर्ण सामीप्यता बढ्दै गएको छ । मित्रता छुट्टिनै नसक्ने गरी जेलिदै गएको छ ।’ त्यो भन्दा पनि बढी भएको छ अहिले । अहिलेको फेसबुक दुनियाँमा माया पनि छिटो बस्छ र सम्बन्ध पनि छिटै टुट्छ भन्छन् । तर हाम्रो भने कुरै वेग्लै । झन् झन् पो झाङ्गिएको छ गाठेँ हाम्रो माया । कतै प्रतिमा पाठकको फेल कविताको पात्र जस्तो त हुने होइन म !
(२५ चैत, २०७०)