इन्टरनेशनल एयरपोर्ट अफ डल्लासबाट बहिर्गमन हुँदा प्लेकार्ड लिएर उभिएको मानिसमाथि दृष्टि लगाउन मलाई नेपालस्थित अमेरिकी राजदूतावासका कोर्डिनेटर मोहन चापागाईंले ध्यानाकर्षण गरेका थिए । भनेका थिए— ‘नेसा पार्टिसिपेन्स लेखिएको पनि हुन सक्छ र ‘रामप्रसाद पन्त नेपाल’ लेखिएको पनि हुनसक्छ ।’ अर्काे विकल्प पनि उनले दिएका थिए— ‘कथं कदाचित् तपाईंलाई लिन आएको गाडी लामै जाममा प¥यो वा अन्य कुनै कारणले ढीलो भयो भने तपाईंले सम्बन्धित संस्थामा वा तपाईं बस्ने होटलको ठेगानामा फोन गर्न सक्नुहुन्छ । उनीहरूको मार्ग निर्देशन अनुसार तपाईं टेक्सी चढेर त्यस ठाउँमा पुग्न सक्नुहुन्छ । लागेको खर्च पछि नेसाले व्यहोर्छ ।’
मोहनजीका यी कुरालाई मनमा खेलाउँदै म गेटबाट बाहिर के निस्केको थिएँ, प्लेकार्ड लिएर उभिएकाहरूको लाइनमा मेरो नाम स्पष्ट देखियो । प्लेकार्ड लिएर उभिने एउटी महिला थिइन् । परैबाट मुस्कुराउँदै उनी भए नजिकै पुगेपछि उनी खुसीले रमाइन् ।
भनिन्— ‘ओह ! तपाईं नेपालबाट आउनुभएको ? तपाईंलाई भेटेर मलाई अत्यन्त खुसी लाग्यो । मेरो नाम जस्मिन ।’ त्यसपछि उनले हात मिलाइन् र ‘म तपाईंलाई सहयोग गर्छु’ भन्दै मैले गुडाइरहेको सुटकेश समातेर मलाई अगुवाइ गर्दै कारसम्म पु¥याइन् ।
मेरो अनुमान थियो, चालक अरु कोही होला ! उसले सुटकेश कारमा राख्ला र ड्राइभ गरेर हामीलाई गन्तव्यतिर लैजाला ! किनकि म यसअघि चाइना जाँदा पनि यस्तै बीस÷पच्चिस वर्ष उमेरकी गोरी हँसिली केटीले मलाई अगुवाई गर्दै कारसम्म पु¥याएकी थिइन् र ड्राइभरलाई निर्देशन गरी गन्तव्य पहिल्याएकी थिइन् ।
तर मेरो अनुमान गलत निस्क्यो यहाँ । जस्मिन स्वयम् चालक रहिछन् । उनले कार पछाडिको कभर खोलिन्, मेरो सुटकेश राखेर बन्द गरिन् । त्यसपछि अगाडिको ढोका खोलिन्, मलाई बसालिन् र अर्काेतिरको ढोका खोलेर चालकको सिटमा आफू बसी स्टेरिङ घुमाउन थालिन् ।
उनले सर्वप्रथम स्वास्थ्यको कुरा उठाइन्— ‘तपाईं आरामसँग त आउनुभयो ? बाटोमा कुनै तकलिफ त भएन ? यद्यपि मलाई थाहा छ, तपाईं लामो यात्रा गरेर आउनु भएको छ, तपाईंलाई थकाइ लागेको छ तथापि आज होटल पुग्ने बित्तिकै आरम गर्न पाउनुहुने छैन । सहभागीहरुमा तपाईं सबैभन्दा ढिलो हुनुभयो । अब हामी छिटो भन्दा छिटो होटल पुग्नुपर्छ र कार्यक्रमका लागि तयार हुनुपर्छ ।’
उनले स्टेरिङ अगाडि पिल्पिलाइरहेको घडी हेरिन्— ‘पाँच बजिसक्यो । भोलिदेखि थालनी हुने समिनारमा आएका सहभागीहरुको जमघट छ आजै बेलुका छ बजे होटलको वैठक कक्षमा । गाडी जाम भएन पनि कम्तिमा पैँतालीस मिनेट लाग्छ त्यहाँ पुग्न । कोशिस गरौँ जे होला ।’
उनले नेपालमा जस्तो बायाँ होइन दायाँ ड्राइभ गरिरहेकी छन् । अमेरिकाको ड्राइभिङ सिस्टम मलाई नेपालमै थाहा थियो र विमान अवतरण गर्ने क्रममा मैले आकाशबाटै बाटोमा गुडिरहेका गाडीहरु दायाँ ड्राइभ भइरहेको प्रत्यक्ष देखिसकेको पनि थिएँ । त्यसैले उनको ड्राइभले मलाई आश्चर्यमा पारेन ।
तर म आश्चर्यमा के परिरहेको थिएँ भने एकतर्फी चार लेन भएको त्यो सडकमा जस्मिनले जुन लाइन खुल्ला देख्छिन्, त्यस लाइनमा सुलुत्त सुलुत्त छिराउँदै तीव्रगतिमा हाँक्दै थिइन् । उनले दुर्घटना गराउलिन् भनेर मलाई डर लागेको त थिएन तर मलाई जिज्ञासा अवश्य लागेको थियो कि सडक यातायात सम्बन्धी अत्यन्त कडाइ भएको अमेरिकमा उनले ट्राफिकको आँखा छल्दै छिन् कि नियमले दिने काम गर्दैछिन् ?
मैले सोधेँ — ‘यसरी तुफान गतिमा आ–आफ्नो लेनबाट कुदिरहेका गाडीहरुलाई छलेर लेन बदल्न पाइन्छ ?’ उनले भनिन् — ‘अगाडि पछाडि हेरेर लेन खाली छ भने क्रस गरेर अर्काे लेनबाट पनि कुदाउन सकिन्छ ।’
अलि अगाडि बढ्दै जाँदा मैले अरु कारहरूले पनि त्यसै गरेको देखेँ । तर मलाई लाग्दै थियो, जस्मिनलाईजति हतार अरुलाई भएको थिएन, मलाई पनि भएको थिएन । प्लेनको समय नै यही थियो त म के गरुँ ? तर समयका पक्का अमेरिकीहरू परिस्थितिले सिर्जना गरेको समयलाई पनि यथासक्य सन्तुलनमा ल्याउने प्रयास गर्छन् सायद !
यसै प्रयासमा थिइन्— जस्मिन र पाँच मिनेटमात्र भए पनि अघि पु¥याउन प्रयासरत थिइन् । उनी मसँग कुरा गर्न पनि चुकेकी थिइनन् र हात खुट्टाको सन्तुलन पनि कत्ति गुमाएकी थिइनन् । गुम्यो भने त भइयो फेरि एक डल्लो÷एक चिहान । दुई जनाको एक चिहान भएरमात्र दुर्घटना ठेगान लाग्ला र ? पछाडिबाट लाइनै हुत्तिएर आइरहेका गाडीचालकले के ब्रेक थिच्न भ्याउलान् र ? अनि त कति गाडीको मिलन वा कति चालक वा गाडी सवारहरुको ज्यान जोखिममा पर्ने हो ! त्यसको हिसाब के निस्कन सक्ला !
आउने र जाने दुई बाटो बीचको ओभरहेड ब्रिज बनाउनका लागि युद्धस्तरमा काम भइरहेकोले पनि हामीलाई कतै कतै बाधा परेको हो । बाँकी गाडी जाम भएर वा अन्य कुनै कारणले हाम्रो गाडीको गति कम भएको थिएन ।
कालो चिल्लो सफा र फराकिलो बाटोमाथि गुडिरहेको होइन सायद उडिरहेको त्यस मोटरकार भित्र जस्मिन जस्ती सुन्दर युवतीका साथ सयर गरिरहेको म पटक पटक कल्पना गर्न पुगेथेँ— पृथ्वीको यस स्वर्गमा केवल ममात्र छु र अप्सराका साथमा स्वर्गीय सयर गरिरहेको छु ।
अमेरिकाको नाम सुन्ने र देख्ने सबैले अमेरिकाको रटान किन गरिरहन्छन् ? नदेख्नेले देख्ने र देख्नेले दोहो¥याएर हेर्ने वा छोडेर हिँड्न नचाहने इच्छा किन व्यक्त गर्छन् ? भनेको त सपनाकै संसार रहेछ र पो !
सहरको मुटुतिर अर्थात् आर्लिङटन एरियातिर प्रवेश गरिसकेपछि भने जस्मिनले गाडी दायाँ बायाँ छलाएर कुदाउन पाइनन् । बाटोभरि गाडीहरू थुप्रिएका देखिए । मैले टेलिभिजनमा देखेको जस्तै देखिएको थियो हाइवेको दायाँबायाँ मानौँ यात्रुहरूको स्वागतार्थ उभिएका रङ्गिविरङ्गी रुखहरू थिए । बाटोमा ठूला ठूला बसहरु पनि होइन, ट्रकहरू पनि होइन, केही मिनीट्रकजस्ता मालगाडी देखिएका थिए, बाँकी कारैकार । त्यो कार पनि प्रायः एक व्यक्ति, एक कार ।
जस्मिनको अनुमानित समयले फड्को मारिसकेको थियो । अर्थात् हामी डल्लास विमानस्थलबाट हिँडेको पचास मिनेट नाघिसकेको थियो । अबको दस मिनेटपछि सहभागीहरू बीच भेटघाटको आयोजना गरिने छ । जस्मिन चिन्तित थिइन्, मैले तपाईंलाई नुहाइधुवाइका लागि अलिकति समय छुट्याउन सक्छु कि भनेर प्रयास गर्दै थिएँ तर नसक्ने भएँ ।
कार कुदिरहेको बाटोको दायाँपट्टि खुल्ला ठाउँमा चारकुने फराकिलो तर चार तल्ला मात्रको होचो भवन देखिँदै थियो । मैले पश्न गरेँ जस्मिनसँग — ‘यो के हो ?’
उनले जवाफ दिइन्— ‘पेन्टागन, अर्थात् रक्षा मन्त्रालय ।’
वा ….पेन्टागन ! संसार हल्लाउने दायित्व बोकेको मन्त्रालय । विश्वको सुरक्षा नीतिलाई गम्भीरतासाथ अध्ययन गरेर कहाँ कहिले कुन बखत के गर्नुपर्छ भनी तम्तयार भएर बसेको संसारको तारो पेन्टागन । यस्तो पेन्टागनलाई मैले आउँदाआउँदै बाटैमा देख्न पाउँला भनेर सोचेको थिइनँ । मैले हेरिरहेँ खुल्ला आँखाले धेरैबेर ।
तबसम्म जस्मिनले आफ्नो कारलाई एउटा पुलमुनि छिराइसकेकी थिइन् । मेरो आँखाबाट पेन्टागन लुप्त भइसकेको थियो । त्यसैबेला जस्मिनले भनेकी थिइन्— ‘हामी आइपुगियो, त्यही हो हामी पुग्ने होटल ।’
मैले हेरेँ, अग्लो भवनको टुप्पोमा लेखिएको थियो— रेसिडेन्स इन ।
होटल सीधै अगाडि उभिइरहेका भए पनि जस्मिनले ट्राफिक नियम पालना गर्दै एक फन्को घुमाइन् र रेसिडेन्स होटलको अगाडि पु¥याएर रोकिन् ।
त्यतिले मात्र उनको दायित्व पूरा हुँदैनथ्यो । जस्मिन कारबाट ओर्लिन् । म ह्यान्डब्याग झुन्डाएर कारबाट ओर्लेँ । जस्मिनले पछाडिको कारको कभर खोलिन्, मेरो सुटकेश झिकिन् र मेरो अगुवाइ गर्दै रिसेप्सनमा पु¥याइन् । पासपोर्ट र नेपालस्थित अमेरिकी दूतावासले दिएका डकुमेन्टहरु देखाएपछि रिसेप्सनिष्ट महिलाले मसँग ७० डलर मागिन् । यसर्थ कि फोनकार्ड वापत २० डलर र पछि फिर्ता हुने गरी डिपोजिट ५० डलर ।
त्यसपछि डोर कार्ड पाएँ — रुम नं. ५०३ । तर रुममा जानु अघि जस्मिनले मलाई मिटिङ हलतिर लगिन् । हल बाहिर टेबुल कुर्सी राखेर बसेका नेसाका कोअर्डिनेटर विन्डी, एन्ड्रयू र क्याथरिन सँग परिचय गराइन् । उनीहरूले मेरो स्वागत गरे र कार्यक्रमको एउटा फाइल थम्याउँदै भने— ‘यो फाइल तपाईंले पछि हेर्दै गर्नुहोला, तर अहिले ग्यादरिङ सुरु भइसको छ, कोठामा सामान राखेर आइहाल्नुहोला । यहाँलाई आरामको समय दिन नसकेकोमा हामी क्षमाप्रार्थी छौँ ।’
त्यसपछि जस्मिनले हात मिलाइन् र भनिन्— पछि भेटौँला ।
म उनीलाई वाइवाई गर्दै लिफ्टको स्विच थिचेँ ।