आजको सन्ध्या विशेष सन्ध्या । धेरै दिनपछि घर फर्केको थिएँ । लगत्तै पुरानो गोरेटो हुँदै उकालो चढेँ । हावाको सुम्सुम्याई संगै म करीब २५ वर्षअगाडि छोडिएको त्यो थलोमा पुगेँ, जहाँ मेरो बाल्यकाल बसोबास गर्थ्यो, जहाँ मेरो पहिलो मुस्कान र रोदनको अवतरण थियो । डाँडाको काखमा थिचिएको त्यो गाउँ अब केवल स्मृतिको टुप्पोमा झुन्डिएको एउटा चित्रझैँ रह्यो । जहाँ कहिल्यै नढल्ने लाग्दो घरहरू ढलेछन्, अनि कहिल्यै नफर्किने लाग्दो मान्छेहरू हराइसकेछन् ।
पश्चिमतिरबाट सुरु भएको त्यो विस्थापनको यात्रा हजुरबुबाहरूको मूलघरबाट हुँदै, साँइला काकाको मिस्त्रीय हातबाट बनाइएको बेसीतर्फको झराइसम्म आइपुगेछ । म हेर्दै थिएँ त्यो खाली जग्गाहरू, जहाँ हाम्रो कराउँदो हाँसोहरू गुञ्जिथ्यो आज चुपचाप आकाश हेरेर शोक गरिरहेछ । एक समय थियो- यो डाँडो बगैँचाले भरिएको, हरेक घरका आँगनमा घामको किरण उषाको जस्तो मुस्कान बोकेर उत्रिन्थ्यो । हावाले घरको छानो मात्रै होइन, मानिसको मुटु समेत स्पर्श गर्थ्यो । तर समय त्यो थिएन जसले रोकिएर सम्झिन सक्छ । उ त लहरजस्तै हो एकलाई बगायो, दोश्रोलाई तान्दै लग्यो । सबैभन्दा पहिले साँइला काकाले यात्रा सुरु गर्नुभएको थियो । डाँडाको छायाँबाट बेसीतिर हेर्दै घर बनाउनु भयो र बिस्तारै घरसंगै आफूलाई पनि ओराल्नुभयो । कान्छा काका परदेशको उज्यालोमा धेरै हराउनुभयो । श्रीलंकाबाट कमाएको पसिना लिएर फर्केर आउनुभयो तर त्यो घरमा होइन जहाँ बाल्यकाल थियो । तर त्यही ठाउँमा हो, जहाँ ‘सपना’ भन्दै धेरैजना ओर्लिसकेका थिए । त्यो ओर्लाइलाई उहाँले पनि दक्षिण दिशाबाट अंगाल्नुभयो । पछिल्लो घर थियो मामाघर । जुन घरमा बाल्यकालमा हामीलाई अम्बाको काँटीले जिस्काइन्थ्यो र मामाहरू हाम्रा गोडा हेरेर ठट्टा गर्नुहुन्थे तर एक बिहान त्यो घर पनि चुपचाप भइदियो निजगढतिरको बस्तीले तान्यो वहाँहरूलाई पनि । यसरी क्रमशः डाँडा निर्वर्त्र हुँदै गए ।
वरपरीका वृक्षहरूलाई समीपबाट चुम्दै गएँ । अटल अनुरागले भरिपूर्ण थियो । लाग्छ कि तिनीहरू सोध्दै छन् यतिन्जेल कहाँ हरायौ ? लाग्छ त्यो केवल रूख र घाँसे टाकुरा थिएनन्, त्यो त हाम्रो बाल्यकालको एउटा अंश थियो । ती सबै कसैको बगैचामा उभिएका त थिए, तर सबैका बाल्यकालमा रमाइरहेका थिए, एक साक्षी थिए । तिनका हाँगाहरू केवल फल मात्र थिएनन् हाम्रो लुकामारीको थलो थिए, हाम्रो चर्पिको गोप्यता थिए । अनि काख थिए, जहाँ थकाइले भरिएको शरीरले विश्राम पाउँथ्यो । पश्चिमपट्टिको त्यो उद्यान जहाँ विस्कुन सुकाइन्थ्यो । जहाँ मैना चरीको निवास ठडिरहेको थियो । बिहानीका किरणहरू झ्याल झ्याल छिरेर बिझाउँथे र बेलुकी चिरबिर गर्दै फर्कने चराहरूले सुनाउँथे संसारको कथा । त्यो त केवल जङ्गलको घाँसे पाखाबाट फर्किएको पसिनामा चोबिएको शरीरलाई मात्र थाह थियो । पानी परेको रात, झाडीमुनि झुल्किएको बत्ती र पानीको टप टप आवाजले परिवेशलाई कविता बनाउँथ्यो, रूख बुट्यानहरूलाई श्रोता बनाउँथ्यो र हामीलाई एक अद्भुत कथा भित्रको पात्र ।
साँझ झर्यो कि आकाश आफैँले सुस्केरा हाल्ने र त्यसमा झ्याँउकिरीहरूको कोलाहलले साथ दिने । झ्याँउकिरीको धुनले कसैको अनुपस्थितिको चिरफार नेै गर्दथ्यो । जब त्यो आवाज अलिक स्थिर हुन्थ्यो, त्यसैको तानमा कोइलीको सुमधुर गायन तब शुरू हुन्थ्यो । त्यो गायत न चिर्दै चिच्याउँथ्यो, न कराउँदै बोल्थ्यो। त्यो त हृदयभित्र पसेर कसैको मुखबाट निकालिएको एक मीठो स्मरण थियो । आमा र बुबाको बीचबाट मेरो सिरानीमाथिको नजर झ्याल हुँदै जूनको यात्रामा पुग्थ्यो । ऊ आकाशको न्यानो कम्बलभित्र बिस्तारै–बिस्तारै हिँडिरहेको जस्तो लाग्थ्यो । तर त्यो त केवल चन्द्रमा मात्रै थिएन, त्यो त हाम्रै बाल्यकालको चुपचाप सहयात्री थियो । ती झ्यालहरू केवल झ्याल मात्रै थिएनन् त्यो त स्मृतिको पर्दा थिए । जहाँबाट चिहाएर हेरिएको जीवन अझै पनि साँझको मौन संगीतमा बगिरहेको छ । र त्यो समय ? ओहो उ त झन त्यो समय होइन जो घडीले टिप्थ्यो, उ त त्यो समय थियो जो मनले अनुभूति गर्थ्यो ।
किशोरअवस्थामा म यही उकाली चढेँथे जहाँ कहिल्यै नथाक्ने खुट्टा आज रहरको केही क्षणमै थाकेजस्तो भयो । त्यही उकालो, जहाँ स्कुल जान हरेक दिन पाइलाले कथा लेखिन्थ्यो । आज केवल रहरले उक्लिदा पनि शरीरले बिर्सिसकेको रहेछ त्यस उकालोलाई । तर मन ? ओहो मन त अझै उही हो जहाँ उकालोमा पसिनाको गन्ध हुन्थ्यो र डाँडामा पुग्दा हावाले पखालिदिन्थ्यो । ती बेलाका आफ्ना दौतरीहरूको अनुहार पनि प्रतिबिम्बित भयो । हामीलाई घरको भित्ता लिप्न सिकाएका हातहरू, हामीलाई जिस्काउने मावलीका दिदीहरू र रिसाएर फर्किएका हाम्रा हाँसोहरू । ती दिनहरू झल्केर आए, झाडीमा भेटिएको एउटा पुरानो लुगाको फाटो अँगालेर म सिधै २५ वर्ष पछाडि पुगेँ जसरी आत्माले आफ्नै शरीरलाई सम्झिन्छ । अनि जब फेरि डाँडाबाट तल झरेँ । केवल थियो रातको चिसो हावा, तर म त भर्खरै आफ्नै बाल्यकालको हाँसोबाट फर्किएको थिएँ ।
(सिन्धुली)













