साहित्यकार विष्णु भण्डारीको कथासङ्ग्रह ‘अरुन्धतीको मृत्युु’ पाठकमा समर्पित गर्दै बजारमा आइपुुगेको छ ।
कथासङ्ग्रहमा जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा सङ्ग्रहित छन् । भण्डारीले कथामार्फत् युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् । उनका अनुसार यी कथा काल्पनिक र बनाबटी यथार्थमाथि नभएर तत्कालीन समयका प्रतिनिधि घटना, प्रवृत्ति र विषयमाथि आधारित छन् ।
नेपाली युद्धसाहित्यमाथि वहस गर्दै आएका भण्डारीले युद्धसाहित्य (War Literature) मात्र नभएर युुद्धपछिको साहित्य (Postwar Literature) मा पनि काम गर्दै आएका छन् । उनका अनुसार यसपछि आउने उनको कृतिमा युद्धमा संलग्न र युुद्धबाट प्रभावित नागरिकले युद्धपछि भोगेका ट्रमा र युद्धपछिको मानवीय संवेदनालाई आधार बनाएर लेखिएका कथा रहने छन् ।
साहित्य पार्टीको घोषणापत्र हुन सक्दैन भन्छन् विष्णुु भण्डारी । तर पनि उनका अहिलेसम्म प्रकाशित सबैजसो कृतिमा राजनीतिक विषय र सामाजिक मुद्दालाई नै प्रमुखताका साथ उठाउँदै आएको पाइन्छ । राजनीतिक विषय र मुद्दालाई विषयवस्तुु बनाएर साहित्य लेखे पनि उनको लेखनमा असङ्गत राजनीति र भ्रष्ट राजनीतिज्ञमाथि तीब्र आक्रोश भेटिन्छ । समाजमा मौलाउँदै गएको मूल्यहीनताका साथै सामाजिक, सांस्कृतिक र राजनीतिक विकृति र विसङ्गतिको खरो आलोचना उनको लेखनको प्रमुख पक्ष हो । ‘अलगधार’ उनको लेखनको रोडम्याप हो ।
चालिसको दसकदेखि कविता विधामा कलम चलाउँदै आएका भण्डारी सत्तरीको दसकयता आख्यान र गैरआख्यान लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका विद्रोहको छाल (खण्डकाव्य, २०४३), आँधी–तुफान (मुक्तक सङ्ग्रह, २०४४), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य, २०४५), कालो नाटक (लघुकाव्य, २०४५), फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३), देश जागेको बेला (कविता सङ्ग्रह, २०६३), उत्सर्ग (महाकाव्य, २०६७), घाइते ह्विलचेयर (कविता सङ्ग्रह, २०६९), पहेँलो घाम (उपन्यास, २०७२), सुनको पहाड (उपन्यास, २०७६), नेपाली युद्धसाहित्य (गैरआख्यान, २०७९) गरी ११ वटा कृति प्रकाशित भैसकेका छन् । ‘पहेँलो घाम’ र ‘सुनको पहाड’ उनका अत्यधिक रुचाइएका उपन्यास कृति हुन् । केही महिना पहिले उनको ‘नेपाली युद्धसाहित्य’ नामक गैरआख्यान प्रकाशित भएको थियो ।
कथासङ्ग्रह ‘भुँडीपुरान प्रकाशन’ले बजारमा ल्याएको हो । सुुन्दर कलेवरसहित १९२ पृष्ठ रहेको कृतिको मूल्य रू. ३५०/ राखिएको छ । औपचारिक विमोचन कार्यक्रम नगरी सार्वजनिक गरिएको ‘अरुन्धतीको मृत्युु’ आजबाटै बजारमा उपलब्ध हुनेछ ।