आफ्नो भागको एक मुट्ठी आकाश मुन्तिर उभिएर म तिम्रो मनुवादी कृत्रिम कठोर सत्ता हेर्छु, छुन्छु, छाम्छु, छिचोल्छु समाजको आँखाको परिवेशबाट छेलिएको, छोपिएको यसको बाक्लो दैवीय आवरणभित्र लुकेको मानवजनित संरचना नियाल्छु, मेरो काँध चढ़ी मात्र तिमी अग्लिने ! मलाई दास बनाएर मात्र तिमी मालिक बन्ने ! मलाई निहुराएर मात्र तिम्रो शिर ठड़िने ! मलाई सीमित गरेर मात्र तिम्रो विस्तार हुने, अश्लाघ्य र कोल्टे संरचना ! तिम्रो असुरक्षित र साँघुरो मानसिकताको निर्मम प्रहारले मेरो क्षत-विक्षत मानसिकता भित्र छटपटाइरहेको जिउँदो स्वाभिमानको छात्ती टेकी ठड़िएको तिम्रो अभिमान मेरो आह्वान तिमीलाई ! आऊ एक पटक मेरो काँधबाट तल झर, म बराबर उँभिएर, सराबर भएर मसँग प्रतिस्पर्धा गर, पर्दैन एकलव्यले झै बुढ़ी औला दिन आऊ तिम्रो सग्लो हातसँगै आऊ कम्मरको झाड़ु र गलाको घैटो फ्याँकेर आऊ अछूत, सछूत र छुवाछुतलाई थन्काएर आऊ, भोजन पानी र विवाहको विभेदलाई पन्साएर आऊ पर्दैन शंबूकले झैं शिरच्छेद गराउन, आँखामा वेदको अक्षरहरू टाँसेर, कानमा ऋचाका ध्वनीहरु घन्काएर, जिब्रोमा वेदका मंत्रहरू रन्काएर आऊ, पर्दैन सुरेखा भोतमागेझैं नृशंस बलात्कृत हुन, तिम्रो बर्बरताको मुखबाट चुहेर उसको क्षत-विक्षत यौनांगबाट बगेको रगतको टाटोहरू पखालेर आऊ, पर्दैन मानव भएर पनि पशुझैं बाँच्न, तिमी मनुष्य भई मनुष्य सरह शिर उठाएर आऊ, अभिमान र ईख बोकी आऊ, आफ्नो सम्पूर्ण क्षमता र शक्ति लिएर आऊ, आऊ एउटा स्वच्छ प्रतिस्पर्धा गरौं, आऊ पालो गरौं, केवल केही सौ वर्ष मलाई तिम्रो काँध चढ़न देऊ, र बोक मलाई जसरी लगभग तीन हजार वर्ष मैले बोके तिमीलाई । (सिलगुरी, भारत)