भजनसिंह उमेरसॅंगै बढे । पढे । घरजम गरे । परिवार सङ्ख्या बढाए । खरिदार तहको सरकारी सेवामा लागे । अहिले समयसॅंग समानान्तर रेखामा कुद्न कोशिसरत छन् ।
शरद ऋतुले दशैँलाई के गाउॅं के सहर चारैतिर फिॅंजाएको थियो । उनीहरूको घर सल्लाहमा दशैँ किनमेलको विषयले प्रवेश पायो । वर्षेनी किनमेलको क्रमबद्ध लेखिएको मागहरू भजनसिंहको हातमा श्रीमती र दुई छोराछोरीबाट थमाइन्थ्यो । यो पालि भने घटस्थापनाको पूजाआजासॅंगै मौखिक रुपमा मागहरू आए ।
“आइफोन तेह्र प्रो म्याक्स जसरी पनि चाहिन्छ ।” छोरीले अड्डी कसिन् ।
“तेह्र प्रो मात्र भए हुन्छ ।
तपाईॅंको कार्यालयमा काम गर्ने पाले अंकलको छोरोले त बोक्छ ।” छोरोले पनि घुमाउरो पारामा आइफोन चाहिने बताए ।
“लेहेङ्गा साडी किनिदिन्छु, भन्नुभएको कति वर्ष भयो ? आफै सम्झिनुहोस् ।” श्रीमतीले पारो तातिसकेको छाँट देखाइन् ।
सबै सुनिसकेपछि भजनसिंह मुसुमुसु मुस्कुराए । सरासर आफ्नो कोठातिर लागे ।
फोन डायल गरेर ठुल्ठुलो स्वरमा बोल्न थाले ।“नमस्ते, सर ! यो पालिको मेरो दशैँ खर्चमा पाँच लाख चाहिने हिसाब निस्क्यो । पचास हजार जति सञ्चित राखेको रहेछु । साँढे चारलाख मात्र भए पनि म अस्पताल आउने भएँ ।”
छोरा र छोरी टिभी हेर्दै थिए । झ्याप्पै बत्ती गयो । संयोगवश, उनीहरूले बुवाको फोनवार्ता सुने । भान्छा कोठाबाट श्रीमतीले सोधिन्, अस्पताल किन जाने र, हजुर ?”
“तिमीहरूको दशैँ खर्च किड्नी बेचेर जोहो गर्न ।” लुगा लगाउॅंदै भजनसिंहले जबाफ फर्काए ।
भक्कानिॅंदै श्रीमतीले झटपट अॅंगालो हालिन्, “भो, पर्दैन लेहेङ्गा ।”
“ड्याडी, मलाई आइफोन चाहिॅंदैन ।” छोरी पनि बुवाको अँगालोमा भक्कानिन थालिन् ।
“म पनि यही पुरानो आइफोन दश नै चलाउॅंछु ।” छोरोले समेत बुवालाई आफ्नो स्वास्थ्य नबिगार्न बिन्ती गरे ।
“अँ, बल्ल लाइनमा आयौ, हैन ? फोनमा सही नम्बर त हानेकै थिइनॅं ।” भजनसिंह आफ्नै मनसित बोल्दै यो पालिको दशैँ टरेकोमा खुसी भए ।
(हतुवागढी, भोजपुर हाल – जापान)