१. प्रस्थापना :
साहित्य जीवन र जगत् को अनुभूतिमात्र होइन भावनाको मनोरम प्रवाह , जिउने कलाको सुन्दर शब्द-चित्र र सङ्घर्षको पर्याय पनि हो । हरेक देशको साहित्य त्यहींको प्राकृतिक अवस्था , भौगोलिक वातावरण , सामाजिक परिवेश र सांस्कृतिक परम्परा , जनतामा अन्तर्निहित अनुकूल भावनासित गाँसिएको हुन्छ । त्यसैले युद्धप्रसाद मिस्र , गोपालप्रसाद रिमाल र भूपि शेरचनका कवितामा तत्कालीन सामाजिक वा राजनीतिक परिवेशका आरोहण अवरोहणका प्रतिबिम्बहरु देखिनु स्वाभाविकै हो ।
वि सं २००१ भाद्र ८ गते कास्कीको प्रकृतिरम्य पोखराको धार्मीमा माता धनसरा पौडेल र पिता डिल्लीराम पौडेलका पुत्ररत्नका रूपमा पोषराज पौडेलको जन्म भएको हो । सम्प्रति भरतपुर-७, कृष्णपुरमा स्थायी बसोबास गर्दै प्रगतिवादी यथार्थवादी काव्यचिन्तनमा व्यस्त हुनुहुन्छ । प्रगतिवादी क्रान्तिकारी मार्क्सीय सौन्दर्यको धारलाई अँगाली सृजनारत कम्युनिष्ट दर्शनका अध्येता कविवर पोषराज पौडेल राष्ट्रिय प्रतिभाका रूपमा सुपरिचित हुनुहुन्छ । वि. सं. २०२३ देखि २०५५ सालसम्मको शिक्षण पश्चात् सेवा निवृत्तको जीवनमा पनि सामन्तवादी प्रभुसत्ताका विरुद्ध कलम र मसाल दुवै हतियार चलाउँदै आइरहनुभएको छ ।
२. साहित्य सिर्जनामा पोषराज पौडेल :
साहित्य र जीवनको अन्योन्याश्रय सम्बन्ध हुन्छ ।आसुरी प्रवृत्ति हटाई साहित्यले नै मानव-जीवनलाई आलोकित पार्न प्रेरित गर्दछ । साहित्यकार युगद्रष्टा मात्र नभई सजग स्रष्टा पनि हुँने हुँदा बहुप्रतिभाशाली पोषराज पौडेलमा पनि साहित्यको साधनासँगै समाजसेवा गर्ने निष्काम भावना जाग्रत भई जनतामा चेत छर्ने उद्देश्य मुताबिक साहित्य सृजना गर्दै कवितासङ्ग्रह , खण्डकाव्यहरु र महाकाव्यसमेत गरी झन्डै एक दर्जन कृतिहरुले नेपाली वाङ्मयलाई समृद्ध तुल्याइसक्नु भएको छ । प्रस्तुत आलेखमा छन्द कवितामा विशेष दखल राख्नुहुने कवि पौडेलको शुक्लागण्डकी महाकाव्य ( २०७८ ) का वारेमा सङ्क्षिप्त पाठकीय दृष्टिकोण पेश गरिने छ ।
३. शुक्लागण्डकी महाकाव्यको सिंहावलोकन :
साहित्यकार सामाजिक अभियन्ता वा पथदर्शक भएकाले समाजभित्रका यावत् शोषण, दमन, अभाव, अराजकता, हत्या, हिंसा, आतङ्क, महङ्गी, भ्रष्टाचार, सत्तालिप्सा एवम् राजनीतिक , सामाजिक र सांस्कृतिकजन्य र विशृङ्खलनलाई रचनाका माध्यमबाट समाजलाई सचेत तुल्याउँदै नयाँ जागरण ल्याउँछ । यस्तै कालजयी साहित्यको रचना गर्ने श्रेणीमा कविवर पोषराज पौडेल पर्नुहुन्छ ।
यस महाकाव्यको प्रकाशकीयमा चितवन साहित्य सङ्गमका अध्यक्ष कवि प्रकाश चापागाईले कवि पोषराज पौडेलका कवित्व-प्रतिभाका सम्बन्धमा ” …समाजभित्र देखा परेका वर्गीय विभेद , विकृत राजनीति , व्यक्तिवादी चिन्तन , धार्मिक असहिष्णुता , लिङ्गीय विभेद आदिका विरुद्ध समाजलाई ब्युँझाउने र सङ्गठित रूपमा उभ्याउँदै हौसला प्रदान गर्ने कवि हुन् ” भन्ने धारणा अभिव्यक्त गरेका छन् । प्रा. डा. नारायणप्रसाद खनालले भूमिका लेखनका सन्दर्भमा “शुक्ला गण्डकीको सौन्दर्यसिन्धुमा पञ्च-स्नान ” शीर्षक दिएर महाकाव्यगत सैद्धान्तिक स्वरूप औंल्याउँदै महाकाव्य लेखनको मूलोद्देश्य “…शुक्ला गण्डकीका जनतामाथि हँसियाहथौडाको झण्डा फर्फराएर तथाकथित देखावटी कम्युनिष्टशासकबाट भएको जनताको उठीबास , बलात्कार , हत्या , आरोप , सीमान्त अत्याचार र चरम शोषण हो ” भन्ने दर्शाएका छन् भने समालोचक डी. आर. पोखरेल र डा.धनेश्वर भट्टरांईले पनि समाजवादी आन्दोलनका माध्यमबाट सर्वहारा वर्गको प्रभुत्व कायम गर्ने ” भन्दै महाकाव्यको उच्च मूल्याङ्कन गरेका छन् र स्वयम् महाकाव्यकार तथा सिद्धहस्तकवि पोषराज पौडेलले आफ्नो ‘आत्म निवेदन एवम् आभार’ द्वारा ‘देशमा गणतन्त्र आएर पनि जनताले अहिलेसम्म कुनै परिवर्तनको अनुभूति गर्न नपाएको कुरा मेरो मनमा खट्किरहेको थियो । यिनै कटु अनुभूतिलाई समेटेर एउटा कथा बुनें र लेख्न शुरु गरें ‘ जस्ता भनाइहरुले महाकाव्यको महनीयता र उपादेयताका वारेमा खुलस्त भएकोमा थप दृष्टिकोणको औचित्य रहँदैन ।
महाकाव्यकार ‘शहीद गाथा’ महाकाव्य (२०५७ ) पछिको यो शुक्ला गण्डकी दोस्रो महाकाव्य हो । महाकाव्यमा कविका भावनाहरु, अनुभूतिहरु र संवेदनाहरु समाच्छन्न छन् ।मङ्मगला चरणसहित महाकाव्यापेक्षित वास्तुनिर्देशानुसार स्पार्टाकसले नेपाल-जननीसँग यसै भूमिमा जन्मिन पाऊँ र कम्युनिष्ट नामका कलङ्कहरुलाई निर्मूल गर्नसकूँका सङ्कल्पलाई साकार पार्दै र पुन: अर्को आन्दोलनतिर सङ्घर्ष मोडिएको छ । महाकाव्य अनुकूल बिसौं सर्गपर्यन्त समुचित २३ वटा छन्दको प्रयोग, १२६६ श्लोकमा कथिए पनि महाकाव्यको विषय महान् र व्यापक हुनुपर्दछ । संसारका समृद्ध र उन्नत भाषाहरुमा प्राचीनकाल देखि नै महाकाव्यको रचना हुँदै आएको छ । पूर्वीय काव्य सिद्धान्तका आचार्य भामहले सर्गबद्धता , महान् चरित्रमा आश्रित , जीवनका विविध आयाम र नाटकीय गुण र पञ्चसन्धिहरुको योजना , सङ्घटित कथानक र प्रभावान्वितिमा जोड दिएका छन् । आचार्य दण्डीले ‘काव्यादर्शमा आशीर्वचन , नमस्कार र वस्तु-निर्देश , ऐतिहासिकता र सदाश्रित , चतुर्वर्गमध्ये कुनै एकको प्राप्ति निर्देश , नीर क्षीर विवेकपूर्ण धीर वीर नायक , प्रकृति वर्णन ,छन्द , रस , रीति , ध्वनि , औचित्य , वक्रोक्ति , अलङ्कारदिलाई अघि सारेका छन् । आचार्य रुद्रट , विश्वनाथ र मम्मटादिले पनि महाकाव्यको नायक सर्वगुणसम्पन्न , वीर , नीतिज्ञ भएझैं प्रतिनायक पनि क्षमतावान् हुनुपर्ने र नायकको विजयसँगै प्रतिनायकलाई दुष्कर्मको दण्ड दिइएको हुनुपर्ने तथ्यलाई अघि सारिएको छ ।
पाश्चात्य-मतानुसार दैवनोट , लुकन , टेसो र डिक्सन आदिले गम्भीर र महत्वपूर्ण घटनाको वर्णन , सङ्घर्षमय जीवन चित्रण , घटनाहरुले पाठकको हृदयलाई उद्वेलित पार्ने जस्ता विशद वर्णन गरेका छन् । देशमा विद्यमान भ्रष्ट शासनका विरुद्ध लड्नका लागि जननीसँग शक्तिको आग्रहसहित नेपाली भूमिबाट साहु लागेर मुगलान भासिएका र त्यहाँबाट निकालिदा पुन: आफ्नै पैतृक स्थल आई जीवन धान्न विवश महाकाव्यका नायक नायिका ( कृष्ण र राधा ) सहित गोरेहरुले सारै रमणीय र अति उर्बर शुक्ला गण्डकीको किनारमा झुप्रो हालेर श्रमलाई पूजा ठानी लहलह अन्नबाली झुलाउँन्छन् । वर्ग-वैरी रूपमा क्रूर र हिंस्रक सामन्तहरू जबरसिँह , वृषभसिँह ( महाकाव्यका खल-पात्रहरु ) र यिनैका भरौटे भजनेहरुसँग डरलाग्दो सङ्घर्ष गर्छन् । लोकतन्त्र वा गणतन्त्रका हिमायती , साम्राज्यवाद वा विस्तारवादका सत्तासीन मतियारहरुसँग विद्रोह र जनक्रान्ति गर्दै सफलता पनि हासिल गर्दै सुन्दर र सभ्यसमाजको निर्माणको उद्घोषण नै महाकाव्यको नवीनतम र ठोस प्राप्ति हो ।
४. शुक्ला गण्डकी महाकाव्यमा समायोजित वस्तु विन्यास :
जननी वा जन्मभूमिप्रति कविबाट आशीर्वादयुक्त मङ्गलाचरणको संस्कृतिको रतिभाव राम्ररी मुखरित मात्र भएको छैन अपितु कामका नाममा सिन्को नभाँच्ने , राजनीतिक दलका नाममा लठैतहरुको समूह तयार पार्ने , हक-अधिकारका नाममा अनुशासनहीनतालाई प्रश्रय दिने , माफियातन्त्र र घुसखोरहरुलाई संरक्षण दिने , खालका अनेकौं बितन्डाहरुद्वारा देशले र जनताले भोग्नु परेको यथार्थतालाई यस प्रबन्ध काव्यले विषयसामग्रीसहित नयाँ नेपाल निर्माणका निम्ति भनी ठुलो सङ्घर्षले स्थापित लोकतन्त्रीय गणतन्त्रात्मक व्यवस्थाले झन् अराजकता फिंजाएको कविको ठम्याइमा काव्य अवलोकनीय , पठनीय र सङ्ग्रहणीय बनेको छ ।
कविको श्रमजीवीप्रतिको गहिरो अनुराग, मार्क्सीय द्वन्द्ववादी क्रान्ति-चेतना , राजनीतिक वर्गीय पक्षधरता र राष्ट्रवादीभावनसँगै युगबोधी विचारहरु यसरी गुन्जिन्छ-
सुनौला सूर्यको क्रान्ति धर्तीमा जब पोतियो अहा ! नेपाल यो धर्ती सुरम्य अझ देखियो । सर्ग १८ , पृ.२००, श्लोक २४
तिरेर रिन आमाको सकिंदैन कुरा कसी 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।' सर्ग ११ , श्लोक ३, पृष्ठ १०८
नेपालबाट शान्ति र स्थिरता हराएको छ । आज जताततै जाति , धर्म , लिङ्ग , सम्प्रदायका निहुँमा दिनानुदिन अशान्ति , विग्रह , बन्द , ईर्ष्या र प्रतिशोधको डढेलो सल्किरहेको छ । अन्धविश्वासको आड लिई चेतना , साहस र सौर्यकी प्रतिमूर्तिनी एवम् काव्यकी नायिकाले बेहोर्न परेको बुहार्तन र उनका वाणीवाट छुटेका हुङ्कारको सानो नमुना-
मेरा छन् परदेशमा पति यहाँ लिन्छौ भने हुर्मत भोग्नेछौ पछि दुष्ट, ए अधम हो ! दुष्कर्मको यो फल । सर्ग १६ , श्लोक १२,पृष्ठ १७२
नेपाल सांस्कृतिक र प्राकृतिक सम्पदा-वैभवले चुलिएर पनि भिक्षावृत्तिमै जीवन निर्वाह गर्नुपर्दाको वास्तविकतालाई यसरी दुखेसो प्रकट गर्दछन्-
'के छैन यो मुलुकमा सब छन् खजाना भण्डार छन् प्रकृतिका अति दिव्य नाना' । सर्ग ५ , श्लोक १९, पृ. ४२
वर्तमान नेपालका भ्रष्ट र नैतिकहीन नेताहरुको क्रियाकलाप समूल नष्ट गरी नयाँ जनवाद स्थापनाका निम्ति क्रान्तिकारीहरुले ‘ नेपाल बचाऊ सङ्घ’का माध्यमबाट सम्झौताहीन सङ्घर्ष गर्नु पर्ने र यसका निम्ति स्पार्टाकस र पिटरको जन्म यही धर्तीमा भइसकेको छ भन्ने वस्तुसत्यलाई यसरी प्रकट गर्दछन्-
लड्छौं सधैं मुलुक निम्ति लडिरहन्छौं भत्काउँदै सकल बार बढी रहन्छौं को सक्छ छेकेन जनको बल यो अपार आँधी बनेर अघि बढ्दछ बार बार । सर्ग १७ , श्लोक ३४ , पृ. १८८
कविले राष्ट्रवाद र मानवतावादलाई अघि सार्दै अद्यापि विद्यमान अन्धविश्वासप्रति तीखो व्यङ्ग्य प्रहार गरेका छन् । दिनानुदिन राष्ट्र खोक्रिदो छ , जनता अधिकार विहीन भएका छन् , युवाहरु विदेशतिर ओइरिंदै छन् र तथाकथित कम्युनिष्ट शासकहरुबाट नै राज्य-आतङ्क चुलिदो छ । यसै सन्दर्भको केही रचनाहरु प्रस्तुत छन्-
मशान घाट जस्तै छ गाँस बास गुमे पछि रानो मौरी हराएर बिचल्ली माहुरीसरि ! सर्ग ८ , श्लोक २ , पृ. ७३
'कम्युनिष्ट लिई नाम गर्छन् बाँदर शासन नित्य भत्काउँदै दिन्छन् कष्ट धेरै दुशासन' । सर्ग ११ , श्लोक ३५ , पृ. ११५ 'सामन्तका लहडमा जब चल्छ देश फर्सी गलेसरि भई अनि गल्छ देश ।' सर्ग १२, श्लोक १४, पृ. १३२ 'आफ्नो मालिक आफैं हो अरू मालिक छैन है कसैको दास छन् को र मात्र मानव हुन् सबै ।' सर्ग १८, श्लोक ६५ , पृ. २०९
५. उपसंहार
अन्त्यमा कवि कीर्ति र यश अनि उसले गरेका प्रशंसनीय कार्यका माध्यमबाट युगौं बाँचिरहेको हुन्छ । सरल र सरस शैलीको छनक , कथानकको सङ्गठन र विन्यासमा कार्यकरण सम्बन्ध , निर्घात घात सङ्घातले युक्त , युगानुकूल क्रान्ति , युगबोध र चेतनामयी आख्यानहरुले कृति ओजपूर्ण बन्न गएको छ । महाकाव्यकार पोषराज पौडेल बाँचेको युगमा उनले देखेका भोगेका र सुनेका कटु तिक्त यथार्थतालाई देश र जनताका लागि र खास गरी आफ्ना असल सन्ततिका लागि कविताबाट जनसांस्कृतिक आन्दोलनका तथाकथित छद्मभेषी क्रान्तिकारीहरुको नग्नतालाई चिर्दै अब गरिने सम्झौता बिहीन आन्दोलनप्रतिका आफ्ना समाजवादी विचार र भावनाहरु उतारेका छन् र देशलाई ठुलो गुन लगाएका छन् । उनको दिग्दिगन्त कीर्ति-पताका युगौंसम्म फैलिरहोस् । सम्पूर्ण योद्धाहरुको विजयको कामनासहितको महाकाव्यकै उपसंहार अन्तर्गतको कविकै कविताँश प्रस्तुत गर्दै लेखनी थाम्दछु ।
जय होस् ! सब योद्धाको अनिष्ट अब क्यै नहोस् हँसिया र हथौडाको विश्वमा शान फैलियोस् ।
(चितवन)