मेरो पुरा नाम पसुपति भए पनि गाउँमा सबैले मलाई “पस्पते” भनेर चिन्छन वा बोलाउँछन्।
अचेल म मान्छेहरुको मन पढ्ने मेसिनको अविस्कार गर्ने सोचमा डुबेको छु। यो मेरो आबश्यकता हो। आबश्यकता अबिस्कारकि जननी हुन् भन्ने कुरा मलाई राम्ररी थाह छ। त्यस्तो मेसिन नभइनहुने बाध्यता चाहिँ के परेछ भन्नु होला, लौ सुन्नुहोस मेरो राम कहानी।
देख्दा सरल र भलादमी देखिने सिरानघरे काइँलोसँग मैले सङ्गत गरेको धेरै बर्ष भएको थियो। कुरा बुझ्दै जाँदा ऊ त “मुखमा राम राम बगलीमा छुरा” पो रहेछ। बल्ल थाहा भयो तर निकै धोका खाएर। मन पढ्ने मेसिन भएको भए उस्लाई जान्न र बुझ्न यसरी बर्षौ लाग्दैन थियो। धोका खानै पर्दैन थियो। उसले जे कुरा गरे पनि त्यो मेसिनले उसको दिमागमा असली कुरा के छ भनेर ठ्याक्कै भन्न सक्थ्यो।
त्यसैगरी मलाई जिम्माल बाउकि छोरी औधी मन परेको थियो ऊ जमानामा। लज्जालु स्वभावकि अनि हेर्दा परी जस्तै थिई त्यो मोरी । बोल्न भनेपछि केही बोल्दै नबोल्ने, उसको मुखबाट दुई शब्द सुन्न औसी पुर्णे पर्खनुपर्ने जस्तो थियो परिस्थिति। उस्ले मलाई मन पराउँथि कि मन पराउँदिनथी मैले भेउ पाउनै सकिनँ। त्यो परिस्थितिमा घुँडा टेक्न चाहेर पनि टेक्न सकिनँ। मन पढ्ने मेसिन भएको भए उस्ले चाहेको थियो कि थिएन भनेर एकिन हुन्थ्यो। नलाएको मायामा बिचलित हुनुपर्ने थिएन।
बाउले सुन्तलीसँग बिहे गरिदिए। ओहो बिहे गरेको दस बर्ष बितिसकेछ। एक दशक भइसक्दा पनि मैले सुन्तलीलाई बुझ्न सकेको छैन। सायद सुन्तलीलाई पनि यही समस्या परेको होला,मलाई पनि राम्रोसँग बुझ्न सकेकी छैन होला। समय बित्दै जाँदा सुन्तलीलाई बुझ्दै जानेछु भन्ने कुरामा विश्वास गरेँ तर अब त्यो आशा एबम भरोसा बिलिन हुँदै गइरहेको छ। मन पढ्ने मेसिन भएको भए सुन्तलीले ठ्याक्कै के चाहन्छे थाहा पाएर खुशी राख्न सक्थें होला। दाम्पत्य जीवन अलि सहज हुन्थ्यो होला।
मेरो मिल्ने साथी यम बहादुर थापा मगर मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ भन्दै हिंड्छ। के भयो भनेर सोद्दा “मनको बह कसैलाई नकह” भन्छ। पागल प्रेमी हो कि भन्ठान्छु किनकि ऊ पागल जस्तै भएर भौंतारिरहेको हुन्छ। मन पढ्ने मेसिन भएको भए केही सहयोग गर्न सक्थेँकि भन्ने लागिरहन्छ।
यो कुरा गोप्य नै राखौँला भन्छे मेरो मिल्ने साथी हरि माया। ऊ भन्छे ऊ सँग त एक हैन दुई प्रकारका गोप्य कुराहरु छन्। ऊ भन्छे “कुनै कुनै कुरा भन्न चाहन्न अनि कुनै कुनै कुरा भन्न हिम्मत गर्दिन”। मन पढ्ने मेसिन भएको भए ती दुईवटै कुराको जानकारी मलाई हुन्थ्यो।
हो हरेक मान्छेसँग केही न केही गोप्य कुराहरु हुन्छन्। यो एक साधारण प्रक्रिया हो। सबै कुरा मन पढ्ने मेसिनले पढेपछि जिन्दगी झन् बोरिङ्गपो हुन्छ कि भन्ने सोच पनि बेला बेलामा आउँछ। फेरी, मेसिनले मलाई चाहिनेभन्दा बढी कुराको जानकारी दिने डर पनि छ।
फेरी यो मेसिन विकास गरेपछि मेरा गोप्य कुराहरु पनि त सबै छरपस्ट हुन्छन्। मैले लुकाएका गोप्य कुराहरुमध्ये केही मेरा कमजोरीहरु पनि होलान्। मेरो कमजोरी थाहा पाएपछि मेरा शत्रुहरु शक्तिशाली हुन्छन्। त्यसैगरी मेरा केही गोप्य कुरा मैले खुलस्त पारिदिएँ भने अरुलाई नोक्सान हुन सक्छ। त्यसो त कति कुराहरु लुकाएर म आफैलाई भित्र भित्रै नोक्सान पनि भइराखेको छ। कति दु:खहरु लुकाएर राखेको छु त्यो थाहा पाएर मेरी श्रीमती र छोराछोरी आफन् हरु दुखित हुने त् होइनन ?
मन पढ्ने मेसिन विकास गरूँ कि नगरुँ भनेर म धरमरमा नै थिएँ । तर्क बितर्क गरिरहेको थिएँ। “हैन के कुरामा घोरिइराखेको हो, बाख्राले बाली खाएर सखाप पारिसक्यो ?” सुन्तलीले सातो-पुत्लो लिने गरी चिच्याई। “केही होइन” भनेँ अनि लुरुलुरु बाख्रा चराउन थालेँ।
(नर्थ क्यारोलिना, अमेरिका)