“भोट क्यौन ? रुखौन । भोट क्यौन?आँसी हतौडाउन।” दलीय गठबन्धनपछिको चुनावमा यस्तै नाराबाजीले गुन्जायमान जुलुस गाउँ प्रवेश गर्दा माओवादीको भागमा परेको झन्झटपुर गाउँपालिकाको अध्यक्षको उम्मेदवार जयन्तलाई चुनाव जित्नेमा शङ्कै थिएन। गठबन्धन गरेकाले काँग्रेसजनको सबै भोट आउनेमा ऊ ढुक्क थियो। पार्टी प्रवेशको लहर,बढ्दो ध्रुवीकरण, गठबन्धनपछिको जनउत्साहलाई नजरअन्दाज गर्दै जयन्त बहुसङ्ख्यक काङ्ग्रेसी मतदाताको मत पाई जित्नेमा ढुक्क थियो ।भेट हुँदा पनि “हामीले जित्ने पक्का छ । विपक्षीलाई त हामी धुलो चटाउँछौँ” भन्ने गर्थ्यो ।
गाउँघरमा ‘दिउँसो सूर्य आउँछ र राति तारा’ भन्ने हल्ला चल्यो ।राजनीतिक दलले नतिजा आफ्नो पक्षमा पार्न साम, दाम,दण्ड र भेद सबै अस्त्र प्रयोग गरे । चुनावको लागि जयन्त तन,मन,धन,वचन र खटन सबै कोणबाट सरिक भयो। गुट र फुटको प्रत्यक्ष असर देखियो। बाहिर गठबन्धन भनिए पनि ‘मुख नहेर्नू तर रुख हेर्नू’ बाट प्रशिक्षित चारतारे पक्षले मुख देखेन। चुनाव सम्पन्न भई नतिजा पनि आयो ।जयन्तले भनेजझैँ नभई विपक्षी उम्मेदवार ‘सूर्यप्रसाद’ भारी मतले विजयी भए।
त्यसपछि जयन्तको फूर्ति सेलायो। चुनाव हार्नाको कारणबारे गठबन्धनभित्र व्यापक छलफल हुँदा अनेक सम्भावनाहरू निस्के ।धेरैले ‘धाँदली’, ‘धोका र ‘राजनीतिक बेइमानी” लाई पराजयको कारण ठहराए तर जयन्त भने मौन रूपमा बसिरह्यो ।साँझपख दु:ख भुल्न गरिएको सुरापान कार्यक्रमा पनि चुनावी समीक्षा हुँदा सबै रङमङाई रहेका जस्ता देखेपछि उसको मुखबाट अचानक ‘अन्तर्घात’भन्ने शब्द निस्क्यो जुन उसका विचारमा पराजयको कारण थियो ।