सुलसुलेको शब्दकोशीय अर्थ हुन्छ, हाँस-कुखुरा, परेवा, वानर आदिका जिउमा लाग्ने मसिनो र ज्यादा टोक्ने किरो । पशु-प्राणीको जिउमा लाग्ने यो सुलसुले शब्दलाई हिजो आज मानवीकरण गरी मान्छेको ‘सुलसुले स्वभाव’ भन्ने अर्थमा पनि प्रयोग गरिएको पाइन्छ ।
आमाले कुखुरा पाल्न साह्रै रुचाउँथिन् । घरभरि कुखुराहरू पालिएका थिए हाम्रो घरमा । कुखुराको खोर अलग्गै भए पनि ओथरा खोज्ने पोथीहरूमध्ये कसैलाई पलङमुन्तिर, कसैलाई बेञ्चीमुन्तिर, ओथराको ठाउँ बनाइदिन्थिन् आमाले । “ओथरा नछुनू है केटकेटी हो !, थरामा हात नहाल्नू”, “ओथरा बिग्रिन्छ अऩि ओथरा छुँदा जिउभरि सुलसुले चढ़्छ” भनी आमाले हर-हमेशा लाखेस् गरिरहन्थिन् ।
कलिलो उमेरमा ठुलाबड़ाले नछुनू, नचलाउनू भन्दा अझ धेर चलाउनु र छुन मन लाग्थ्यो । केटकेटीको जात । आमा व्यस्त भएकी वा छर-छिमेकतिर गफिन गएकी बेला ओथरामा हात हाल्थेँ । एक मिलिकमै हातभरि बुरुरुरु…सुलसुले चढ्थ्यो । खबरकागत ओछ्याई हत्तपत्त दुवै हात दलदाल पारी सुलसुलेलाई खबरकागतमा टकटकाएर जुम्रो मारेजस्तै नङ्ले पिटिपिटि मार्ने काम गर्थेँ । कम्ति मज्जा आउँदैनथ्यो ऊ बेला ।
अचेल घरमा हाँस-कुखुरा पाल्ने चलन छैन । आमा छैनन्….कुखुराहरू पनि छैनन्…ओथरा पनि छैन अचेल । ओथरा नै नभएपछि कुन ओथरा हात हालेर हातभरि सुलसुले चढ़ाउनू ! हिजोआज सुलसुलेको निम्ति ओथरामा हात हालिरहने त्यत्रो आवश्यकता नै छैन ।
तपाई-हामी जुन ठाउँमा काम गर्छौं त्यहीँ नै दुइखुट्टे सुलसुले जत्ति पाइन्छ । त्यो सुलसुलेसित तपाई हात मिलाउनु सक्नुहुन्छ, उनको कोमल हात ढुक्कैले स्पर्श समेत गर्न सक्नुहुन्छ । गफ-ठट्टा पनि ढुक्कैले गर्न सक्नुहुन्छ । कुखुराको ओथराको सुलसुले जस्तो यी दुइखुट्टे सुलसुले तपाईको जिउमा चढ़ी तपाईलाई टोक्छ भन्ने कुरो दश मनमा एक मन नसोंचे पनि हुन्छ । किनभने दुइखुट्टे सुलसुले जत्ति पाइन्छ । त्यो सुलसुलेसित तपाई हात मिलाउनु सक्नुहुन्छ, उनको कोमल हात ढुक्कैले स्पर्श गर्न सक्नुहुन्छ । गफ-ठट्टा पनि ढुक्कैले गर्न सक्नुहुन्छ । तपाईको जिउमा चढ़ेर तपाईलाई टोक्दैन ती सुलसुलेले । किनभने दुइखुट्टे सुलसुले तपाईका सहकर्मी हुन्, तपाईका अन्तरङ्ग बन्धु ।
तपाईले ती दुइखुट्टे सुलसुलेलाई जत्ति नै घोँचेर भन्नोस्, कटाक्ष गर्नुहोस् सुलसुलेले हाँसेरै एक कानले सुन्छ अनिर अर्को काऩले उड़ाइदिन्छ । तपाईले जे जतित नै घोंचेर भन्नुहोस्, कटाक्ष गर्नुहोस् सुलसुलेले हाँसेरै एक कानले सुन्छ अनि अर्को कानले उड़ाइदिन्छ । बरु तपाईको कटाक्ष र घोंचाइँबाट फुत्किनु वा पन्छिनुलाई तपाईसित चेप्रे परेर बोलिदिन्छ । ढुङ्गा बोल्ला तर सुलसुलेले तपाईलाई एक वचन केही भने लु मरिजाउँ ।
हेर्दा सुठी नै सोझो देखिने तपाईका सुलुसुले बन्धु हाकिमकै निम्ति कार्याल्यमा ओथरा बसेको हुन्छ अदृश्य रुपमा । कुखुराको ओथरा बसाइमा र दुइखुट्टै सुलसुलेको ओथरा बसाइमा धेर भिन्नता र फरक पाइन्छ । कुखुरा अण्डामाथि ओथर बस्छे भने दुई खुट्टे सुलसुले फ्लाइङ् ओथरा ।
दुई खुट्टे सुलसुले एक ठाउँमा ठ्याम्मै बस्दैन । सुलसुलेको स्वभाव नै सुलसुल् गर्ने हुन्छ । सुलसुल गरेरै सुलसुलेले तपाईबाट कुरा दुहुनुसम्म दुहुन्छ अऩि हाकिम अघि पुगेर तपाईबाट दुहेका कुरा ह्वालह्लाल् वमन गर्छ । आफ्नै सहकर्मीको कुरा दुहुनुलाई नै कार्यालयमा ओथरा बस्नु बाहेक सुलसुलेको अरु काम केही हुँदैन ।
सुलसुलेले खासमा, हाकिमको रबर स्ट्याम्प हो । उनले बोलेको नै हाकिमले बोलेका हुन्छ । उनले खोकेको हाकिमले खोकेका हुन्छ । सुलसुलेले हाकिमको आशीर्वाद पाएको हुन्छ । यसैले ता सुलसुलेको धाकै ठूलो हुन्छ फ्वाँकै ठूलो हुन्छ । हाकिम कार्यालयमा नभएका बेला भने चाहिँ मणि हराएको सर्प जस्तै हुन्छ मोरा । हाकिम कार्यालयमा अनुपस्थित भएका बेला सुलसुले कार्यालयबाट सखारै सुइँकुच्चा ठोकिहाल्छ । हाकिमको उपस्थितिमा निकै अबेरसम्म कार्यालयमा बसी हाकिमलाई आफ्नो चाकरीप्रति वफादकर देखाए पनि हाकिमको अनुपस्थितिमा अबेरसम्म कार्यालयमा केही स्पष्टवादी सहकर्मीहरूले किसिम कटाक्ष गरेर खिल्ली उड़ाउँछन् कि भन्ने डर र त्रासले यी सुलसुलेहरू सखारै टाप कस्छन् ।
साह्रै चतुर स्वभावका हुन्छन् यी सुलसुलेहरू । चलाक चतुर्याइ गर्नमा स्याललाई पनि उछिन्छन् । मुख चिप्लो उस्तै । सायद सुलसुले स्वभाव लिएर जन्मिएको दिनदेखि उनलाई टिनका टिन तेलले मालिस गरिदिएको हुनुपर्छ कि चाहिँ भात खुवाइकै दिनदेखि डबका-डबका घिउ मुखमा कोचारिदिएको हुनुपर्छ । चिप्लो लाएर बोल्नुमा यस्ता सुलसुले स्वभावका व्यक्तिलाई कसैले भेट्दैन । उनलाई उछिन्ने ता कुरै आएन । चिप्लो धस्नुमा एक नम्बर । सुलसुले हाकिमका नियरेष्ट र डियरेष्ट हुनुमा तिनका कार्यालयका सम्पूर्ण सहकर्मीहरूको तुलनामा उनको चिप्ले घसाइँकै परिणाम हो । हाकिमको मुटुकै सिरानमा बस्ने सुवर्ण मौका पाउऩे सुलसुलेले तिनका कार्यालयका सम्पूर्ण सहकर्मीको नजरबाट तल झरेको हुन्छ । आफ्नै सहकर्मीको खोइरो खन्ने सुलसुले सहकर्मीलाई कसले मनपराउँछ र ! हाकिमको रिमोट कण्ट्रोलमा कार्यालयमा चुरीफुरी गर्ने सुलसुलेको व्यक्तित्व बाँदरको पुच्छरै बराबर हुन्छ । तपाई कार्यालयमा धाक देखाएर शान र मानका साथ जानुहुन्छ, काम गर्नुहुन्छ । तर सँगैमा सुलसुले भने मरेको बिरालोले काखी च्यापे जस्तो भएर कार्यालयभित्र पस्छ । तपाई कर्मवीर ; कर्मयोद्धा । तर सुलसुले ? सुलसुले जिउँदो लास, फगत जिउँदो लास । ऊ दिनमा हजारौंपल्ट मरिरहेको हुन्छ । एउटा मरञ्च्याँसे बँचाइँ बाँचिरहेको हुन्छ । उनको प्राण ता छ नि ! हाकिमको पैतालामनि उनको प्राण वर्षौंदेखि थिचिरहेको हुन्छ । जिउँदो लास भएर बबुरो सुलसुले निस्सासिरहेको हुन्छ । तर एक रति आय्या…आत्था केही हुँदैन ।
तपाईका धेरै सहकर्मीहरूमध्ये एकजना न एकजना सुलसुले छैन भनेर तपाईले भन्न सक्नुहुन्न । नामर्द, कातर, डरछेरुवा र भनसुनमा नोकरी लागेकाहरूले नै कार्यालयमा सुलसुलेको पद सम्हाल्छ । तपाई हामी वीर पुरुषलाई कामसित मतलब छ, चामसित होइन ।
जिउँदो लास भएर मरञ्च्याँसे जीवन बिताउने सुलसुलेलाई धिक्कार छ । हाकिमको धुपौरे भएर सुलसुले हुनुभन्दा बरु एक डाड़ु पानीमा डुबेर मरेको नै बेस ।
हे भगवान् !सुलसुलेको बुद्धिको ढकनी झट्टै उघारिदेऊ…झट्टै ।
सिलिगुड़ी (भारत)