सुनिताले घरमै मसाल जुलुल निकाली, आन्दोलन गरी र प्रकाशलाई झुक्न बाध्य पारी । तैपनि प्रकाश गलेन ।
“हाकिमकी श्रीमतीले लगाइन् भन्दैमा तिमीले पनि त्यस्तै हार लगाउँछु भन्न मिल्छ ? त्यत्रो लाख रुपियाँ कहाँबाट जुटाउनु मैले ?” प्रकाशले सम्झाउन खोज्यो ।
“जीवनमा मैले अरु के मागेकी छु र ?जावो एउटा हार ।” ऊ रुन थाली ।
त्यसपछि घरबन्दको कार्यक्रम सुरु हुन थाल्यो । भान्सा बन्द, सरसफाई बन्द, बोलचाल बन्द । यो वाहेक माइत जाने धम्की पनि थपियो ।
अन्त्यमा प्रकाश गल्यो । उसले सहकारीबाट ऋण निकाल्यो । सुनिताले पुराना गहना बेची । सहकारीको सेवाशुल्क तिर्दा र पसलेले जर्ती र रसान कटाउँदा प्रकाशको मुटु चसक्क घोच्यो । तैपनि ऊ केही बोलेन ।
ललिताले भनेको गहना पसलमा पुगेपछि मोवाइलमा रहेको फोटो देखाउँदै सुनिताले भनी, “साहुजी यस्तै हार देखाउनु त ।”
बट्टाको हार हेर्दै सुनिताले भनी, “आहा ! ठ्याक्कै यही हो प्रकाश ।”
ऊ खुसी भई, प्रकाश केही बोलेन ।
उसैले सोधी, “साहुजी यसको मूल्य कति हो ?”
बट्टामा लेखिएको सङ्केत पढ्दै साहुले बिस्तारै भन्यो, “सात हजार रुपियाँ । दुई वर्ष ग्यारेन्टी ।”
(गुल्मी)