अजय कार्कीले जम्मा सत्र हजार एकसय तिस रुपैयाँ तलब बुझेको थियो । उसले तलब बापत बुझेकोे नगद हातमा लियो र कम्पनीको भुक्तानी रजिष्टरमा सही गरिदियो । अलिक परतिरको एउटा कुर्सीमा बसी ऊ एक एक गर्दै नोटहरु गन्न थाल्यो, एक दुई तीन….. सत्र हजार अनि सयको एउटा हरियो नोट र दसका तीनवटा नोटहरु । यस अघि यति ठुलो रकम एकैचोटी उसले कहिल्यै बुझेको थिएन । ऊ मनमनै हर्षित भयो र आफ्ना सपनाका अनेकौँ आवश्यकताहरु पूरा गर्न उसलाई हतार भएझैँ भयो । पैसा बोकेर हतार हतार ऊ घर पुग्यो । आफ्नो कोठामा पुगेर तकियामुनि पैसा थान्को लगायो र ढुक्क भएर कोठा बाहिर निस्क्यो । उसले दशैँ अगाडि जागिर शुरु गरेको थियो । यो आफूले जागिर खाएको उसको पहिलो महिनाको तलब थियो । यो पैसा कसरी खर्च गर्ने भन्नेबारे ऊ सोचमग्न थियो ।
वृद्ध हजुरबा, आमा, बाबु, श्रीमती र एउटा छोरो सहित अजयको छजनाको परिवार थियो । उसकी एउटी बहिनी थिई, उसको बिहे भइसकेको थियो । दशैँ नजिकिँदै आएको हुँदा उसले होसियारीपूर्वक रकम खर्च गर्नुपर्ने थियो । चामल, खसीको मासु, तेल, मरमसाला, परिवारका सबै सदस्यहरुलाई नयाँ कपडा र छोरालाई जुत्ता अनि टिकाको दक्षिणाको निम्ति पनि रकम छुट््याउनुपर्ने थियो । दूध, चिनी, चियापत्ती, नुहाउने, लुगाधुने सावुन, सागसब्जी आदिको नियमित खर्च पनि पर सार्नु पर्ने थियो । त्यस बाहेक बहिनी र ज्वाईं पनि दशैँमा टिका थाप्न आउने निश्चित थियो । ससुराली घरको पहिलो दशैँ भएकोले बहिनी र ज्वाईँलाई दक्षिणा र उपहारको व्यवस्था पनि गर्नुथियो । उसलाई खर्चको रकम बाँडफाँड गर्न गाह्रो परिरहेको थियो ।
अजयले आफूलाई एउटा सर्ट मात्र किन्ने विचार ग¥यो । दशैँ नजिक आइसकेको थियो । छोराको मनोविज्ञानलाई बुझी आमाले “मलाई तिजमा दाजुले दिएको नयाँ सारी छ, सारी किन्नु पर्दैन, एउटा चोलो मात्र किन्नु” भनेपछि उसलाई केही सहज भयो । कार्की परिवारको एक कट्ठा जमिन र त्यसमा चर्चेको जस्तापाताले छाएको भुइँघर थियो । घडेरीमा मौसमी सागपात थिए । त्यस परिवारले एउटा भैँसी पालेको थियो । लामिछाने थरको एउटा छिमेकी, परिवार सहित अमेरिका पलायन भएपछि उसको एक बिघा खेत बाँझो बसेको थियो । अजयका बाले लामिछानेसँग फोनमा कुरा गरी त्यो जमिन जोत्ने गरेका थिए । उनी खेतीपाती गर्थे, भैँसी र गोरुको देखरेख गर्थे । अजयको आँगनमा एउटा सानो मकैको थाङ्ग्रो थियो ।
दशैँ आउन केही दिन मात्र बाँकी थियो । आज छोरालाई लिएर किनमेल गर्न अजयको बजार जाने कुरा थियो । बिहानैदेखि हजुरबालाई सञ्च भएन । हजुरबा दुब्ला, पातला असी काटेका बृद्ध थिए । आज अचानक उनको पिसाव बन्द भएकोले छटपटाउन थाले । उनलाई हत्तपत्त ट्याक्सीमा राखेर अस्पताल लगियो । इमर्जेन्सीमा उनको स्वास्थ्य परीक्षण भयो । दुबै गोडाको पैतालामा सेतो लौरो जस्तो धातुको कुनै यन्त्रले हिर्काएर पहिले उनको चेतनाको अवस्था कस्तो छ भनीे डाक्टरले परीक्षण गरे । अनि त्यसपछि छात्ती, स्वास–प्रश्वासको परीक्षण गरियो । एकघण्टा जति इमर्जेन्सीमा उपचार भएपछि हजुरबा अस्पतालमा भर्ना हुनुभयो । शरीरमा सलाइन पानी चढाइयो, पाइपबाट पिसाब गराउने प्रयास भयो, नर्सले दुई पोका रगत खोज्नु भने पछि बुवालाई अस्पतालमा रुँगालो राखेर रगत खोज्न अजय निस्क्यो ।
त्यस कोठामा एउटा खुट्टा भाँचिएको बिमारी थियो । बिहानै मेडिकलका विद्यार्थीहरु जम्मा हुन्थे र बिमारीसँग नानाभाँतीको प्रश्नहरु सोधी आफ्नो नोटबुकमा टिप्थे । एकछिनपछि सिनियर डाक्टर आउँथे र बिमारीको छेउमा उभिएका मेडिकलका विद्यार्थीहरुलाई रोगबारे अनेक कुरा बताउँथे । अर्को बेडमा घाँटीमा क्यान्सर भएको बिभत्स बिमारी थियो । उसको घाँटीमा प्वाल पारेर पाइप कोचिएको थियो र त्यस पाइपबाट अनेकौँ तरल पदार्थ शरीरमा पु¥याउने प्रयास भैरहेको थियो । बिमारीको पीडा स्पष्ट देखिन्थ्यो, कुनै कुराको उसलाई अनुभव हुन सकेको थिएन । रात दिन उसलाई घाँटीमा असह्य पीडा मात्र हुन्थ्यो । उसका आँखाबाट आँसु तरर्र बगेको देखिन्थ्यो । ऊ रुन र कराउन सक्ने अवस्थामा समेत थिएन । बिमारी हेर्न आउने र जाने मानिसहरुको भीडभाड भैरहन्थ्यो ।
हजुरबाको बेडको एकाछेउमा झुण्डिएको एउटा प्लाष्टिकको थैलामा रातभरमा पाइपबाट केही पिसाब जम्मा भएको थियो । उहाँको शरीरमा रगत पनि दिइएको थियो । हजुरबालाई केही राहत भएको अनुभव भएको थियो, छट्पटी गर्न कम भएको थियो । बिहान डाक्टर आउँथे र नानाथरी औषधी लेखेर जान्थे । अजय औषधी किनेर ल्याउँथ्यो । हजुरबाको छेउमा औषधीका बट्टाहरु थुप्रिएका थिए ।
छेउको एउटा बेड खालि थियो । त्यसमा पनि आज एउटा अल्सरको बिमारी भर्ना भयो । बेडमा राख्ने बित्तिकै उसले ह्वाल्ल रगत छाद्यो । नर्स र डाक्टरको कुदाकुद भयो । हत्तपत्त रगतले भिजेका कपडाहरु फेरियो । बिमारी सिरियस थियो । त्यसलाई पनि सेलाइन पानी चढाइएको थियो, नर्सले के के औषधी खुवाएको देखिन्थ्यो । त्यसैबेला हजुरबालाई भेट्न ठुली फुपू दमकबाट अस्पताल आइपुग्नु भएको थियो । त्यसको भोलिपल्ट कान्छा काका र पर्सिपल्ट अजयका ससुराबा हजुरबालाई हेर्न फलफूलको जुस र बिस्कुट बोकेर अस्पताल आइपुगे । छरछिमेकका इष्टमित्रहरुको हजुरबालाई हेर्न आउने क्रम पनि बढ्दै गएको थियो ।
हजुरबालाई अस्पतालमा रोखेको सातौँ दिन बिहानीपख क्यान्सरको बिमारीले अस्पतालमा प्राणत्याग ग¥यो । नर्सहरुले हत्तपत्त उसको प्राणहीन शरीर कपडाले छोपे र वरिपरिबाट अरुले नदेख्ने गरी कपडाले बेरेको स्ट्याण्डले घेरे । नर्स र डाक्टरहरुको कुदाकुद भयो । उसका धेरै आफन्तहरु रहेछन्, अस्पतालमा आफन्तहरुको कोलाहल भयो । तुरुन्तै उसको मृत शरीर त्यहाँबाट बाहिर निकालियो ।
दिउँसो अजयका बा बिमारी कुर्न बस्थे भने राति चाहिँ ऊ आफैँ अस्पतालमा कुरुवा बस्ने गथ्र्यो । हजुरबालाई कुर्न अस्पताल लामो समय बस्नु पर्दा अजय पनि हैरान हुन थालेको थियो । हजुरबा अस्पताल बस्नु भएको आज नवौँ दिन थियो । अब उहाँको अवस्था राम्रो भैसकेको थियो । दशैँको नवमीका दिन बिहान हजुरबा अस्पतालबाट डिस्चार्ज हुने कुरा डाक्टरले सूचना गरेपछि अजय ढुक्क भएको थियो । दिउँसो साढे एघार बजे हजुरबाको उपचार बापतको बिल तिर्न अजय अस्पतालको प्रशासन फाँट पुग्यो । उसले प्रशासन फाँटबाट जम्मा बाह्रहजार पाँचसय रुपैयाँको हजुरबाको उपचार बापतको बिल हातमा लियो । करिब तीन हजार रुपैयाँको औषधी उसले अस्पताल बाहिरबाट किनेर ल्याएको थियो । उसको अरु केही रकम पनि खर्च भैसकेको थियो । बाँकी रकम उसले खल्तिमा बोकेको थियो । अस्पताललाई रकम बुझाएर ट्याक्सीमा हजुरबालाई राखी उ घरतर्फ लाग्यो ।
भोलिपल्ट दशैँको टिका थियो । अजयको घरमा दशैँको कुनै व्यवस्था हुन सकेको थिएन, अरु दिन जस्तै अवस्था थियो, तर हजुरबाको उपचार पछि उनी सामान्य अवस्थामा फर्केकोले परिवारका सदस्यहरुका बिचमा खुशी फर्केको थियो । बिमारी भेट्न आउँदा लालध्वन्द्राबाट कान्छा काकाले पाँच काइँया कटमिरा असली मालभोग केरा बोकेर आएका थिए । ती पहेँलपुर भएर पाकेका थिए । फुपूले झण्डै दुईपाथी आलु बोकेर ल्याउनु भएको थियो । घरमा दही, दूध थियो । आमा र फुपूले सेलरोटी पकाउनु भयो । तरकारी खानलाई सागपात, सिन्की, गुन्द्रुक र मस्यौरा पनि घरमै थिए । फुपू र काका हजुरबाको हातको टिका लगाएर मात्र घर फर्कने भनेर बस्नु भएको थियो । बहिनी र ज्वाइँ पनि महानवमीको दिन साँझमा आइपुग्नु भयो । बहिनीले दमकबाट मिठाई कोसेली ल्याएकी रहिछन् ।
भोलिपल्ट टिकाको दिन हजुरबाले हामी सबैलाई बडा दशैँको टिका लगाई आशिष दिनुभयो । उहाँले फुपू, ज्वाइँ र बहिनीलाई खाममा यथासक्य दक्षिणा राखेर दिनुभयो । गुन्द्री र त्यसमाथि राडी बिछ्याइएको थियो । आमाले सबैलाई बिछ्यौनामा बसाएर खिर, सेलरोटी, आलुको कवाव, अचार, दही, चिउरा, केरा भाग लगाउनुभयो । सबैले रमाएर गफ गर्दै खानेकुरा अघाउँजी खाए । हजुरबाले घर परिवारको खुशी जस्ताको तस्तै फर्काउनुभयो । टिकाको भोलिपल्ट पाहुनाहरु बिदा हुनुभयो । अजय कार्की पनि ससुरालीमा टिको थाप्न श्रीमती र छोरो सहित दमकतर्फ लाग्यो ।