‘श्री जलेश्वरी निम्न माध्यमिक विद्यालय’ नाउ सामान्य हो तर यो नाउँ सुन्दा र कसैले उच्चारण गरिदिदा हार्दिक स्रद्धाले विभोर हुन्छु मानौँ मेरी आमाको नाउँ सुनिरहेको छु । उनी ५० वर्ष बुढी भइछिन् । स्वर्ण जयन्तीको तैयारी भइरहेको खबर जेठा दाजुबाट थाहा पाएँ । मलाई हर्ष र विस्मात दुबै लाग्यो । त्यही विद्यालयको औला समाएर आज तन्देरी भएको छु । हर्षित यसर्थ छु कि आज म जे लेखिरहेको छु जसरी लेखिरहेको छु र लेख्न सामाथ्र्य भएको छु त्यो त्यही विद्यालयको देन हो । दुःख यस अर्थमा लागेको छ कि विद्यालयलाई मैले सट्टामा केही दिन, केही गर्न सकेको छैन । मन् छ, योजनाहरू छन् तर अनुकुलता मेरो पक्षमा आज पर्यन्त पर्न सकेन । खेद छ मलाई ।
आज म गाउँका अन्य शिक्षित तथा अग्रजहरूको स्मरण गरिरहेको छु । गोवर्धन सर, मलाई लाग्छ त्यस विद्यालयको पर्याय हुनुहुन्छ । विद्यालयको स्थापनार्थ र स्थापनाकालको पुवार्धमा उहाँले पुर्याउनुभएको योगदानको गाउलेहरूले मुक्त कण्ठले प्रसंसा गरेको सुन्छु । त्यसो त उहाँले महेन्द्रोदय माध्यमिक विद्यालयको स्थापनार्थ गर्नुभएको सङघर्ष र भोगाईहरू चाहे प्रसासनिक झमेलाहरू होउन् या यात्राको क्रममा वर्खामासको वाढीमा मोल्नुपरेको जोखिम; उहाँको मुखार्विन्दबाट सुनेको छु । उहाँ प्रत्येक पल्ट यी भोगाइहरूमा भाबुकीनुहुन्छ । जलेश्वरी विद्यालयको हकमा राई जेठा मामाको भूमि दानको कुरालाई पनि गाउलेहरूले भारि गुन मानेका छन् । त्यसो त तमाम गाउँलेहरूको श्रमदान र समर्थन्लाई पनि बिर्स्यैं भने पाप लाग्छ बाबै । हामी मानिसहरूको सम्झना भन्ने कुराहरू नै यिनै त रहेछन् । आज राई जेठा मामा हुनुहुन्न यद्यपि हामी उहालाई सम्झिरहेको छौँ । भोलि गोवर्धन सर नहुँदा पनि उहाँको सम्झना रहने छ । त्यस्तो स्मरण योज्ञ योगदान म लगायत पछिल्लो पिँढीमा खड्किएको प्रष्ट छ ।
पोहोर साल म गाउँ गएको थिएँ । साथमा किशोर भदै पनि हुनुहुन्थ्यो । कविब ११ वर्ष पछाडिको मेरो गाउँको केही दिनको वसाई मिश्रित रह्यो । मेरी भान्जी वुद्धीकुमारीको खोज तलासकै निम्ति समेत समय पह्र्याप्त रहेन यद्यपि तिहारको रमझम्, सयपत्री र मखमली फूलको वहार, माहिला सोल्टीकहाँ छोरी र वल्लो घर ईश्वरी बहिनीको मायै माया सरीको गलाभरिको भाइटिकाको माला, चान्के चुन्के आएका देउसे भुराभुरीहरूका झुन्डहरू, दोदी साँस्कृतिक समुहको आकर्षक साङ्गीतिक प्रस्तुति, जिमी समाजको देउसी आदि रमाइला पक्षहरूको एक हिस्सा हुन हामी चुकेनौँ ।
यतिका वर्ष पछाडि गाउँ जानुको बहुपक्षिय उद्धेश्यहरू थिए । पहिलो त बुद्धिकुमारी भान्जीको बेपत्तामा विह्वल सर्वदा दिदीलाई केही सान्त्वना दिनुनै थियो । हुन पनि पूरै जीवन नै सालाखाला आँसुमा अनुवाद भइसकेकी ती दुखिया दिदीको दुइ आँखाले हेर्नु नै त बुद्धीकुमारी भान्जीबाहेक के नै थिए र ? ती भान्जी नै नभएपछि दिदी हजार मृत्यू मरेर बाँच्नुभएको छ । म घरमा पुग्दा ‘आइ पुगिस् भाइ’ भन्दै पिँडीमा निस्केर स्वागत गर्ने हुतीसम्म गुमाइसक्नुभएको थियो । माथिल्लो गाउँ घर्तिनी भाउजुहरू, वल्लोघर पल्लोघरका बुहारी र वहिनीहरूको सहयोगमा जसोतसो घिस्रीनसम्मको तागत बँचेको रहेछ । बुद्धीकुमारी भान्जीको आज पर्यन्त खबर छैन । यसै भयो भनेर चित्त बुझाउने ठाउँ नभएपछि सर्वदा दिदीलाई प्रत्येक क्षणले झस्काउँछ । हरेक पलले तर्साउँछ । न त गयो भनेर ढोका वन्द गर्नु नत आउँछे भनेर ढोका खुल्ला राख्नु ! कति नजाती पीडामा गुज्रनु भएको छ दिदी । म कल्पनासम्म पति गर्न सक्तिनँ । दुखाइ हामीलाई पनि छ तर दिदीको अगाडि सागरमा थोपा मात्र ।
गाउँ जानुको अर्को उद्धेश्य – मैले तिहार गाउँमा नमनाएको २० वर्षभन्दा वढी भएछ । यद्यपि त्यसवेलाको तिहारको धङधङी अझै ताजै छ ममा । पछिल्लो समयमा चौतारा यूवा क्लबको सकृयतामा केही आधुनिक तवरले तिहार मनाइएको थियो। गीटारको प्रयोगमा गाइएका गीतहरू देखि एकाङकी नाटक मन्चन्सम्मको सास्कृतिक परिवर्तन केही सह्राहनीय भए पनि निरन्तरताको अभावमा ओइलाएको खबर पछि सुन्दा नमिठो लाग्यो । त्यस्ता कार्यक्रमहरू भन्दा पनि आलो भएर बसेका तिहारहरू त ती हुन् जुन मेरो पिताजी, फ्यान्टे मामा, रामे घर्ति काका, आदिले पालै पालो गर्दै भट्याएको, हामीले कराई कराई मुक्त कण्ठले देउसीरे भनेको, दुबै हात फैल्याउँदा पनि हातले नभ्याउदै मादल बजाएको, दानको नाङलोमा केही रोटी, मकै कोदो र चामल ती फूलहरू, दियो बत्ति अनि नोटहरू, दान निस्केपछि त झन मच्ची मच्ची देउसीरे चिच्याएको, राती अँध्यारोमा छामछाम छुमछुम गर्दै एक घरबाट अर्को घरमा गएको, अन्तमा देउसी खेले वापत केही पैसा भाग लगाएर वाँडेको, आहा क्या मजा ! त्यस्तै खाले तिहारको हरहरी तिर्खा थियो मलाई । त्यसैले पनि स–परिवार काठमाडौं हुँदाहुँदै पनि म गाउँ गएँ ।
किशोर भदै र म खाल्पा गौतम सरकहाँ वास वसेर विहान गाउँ पुग्दा तिहार गाउँभरि छाइसकेको सङकेत मिल्थ्यो । छातिभरि तिहारको उत्सुकता भए पनि मनभरि बुद्धी भान्जीको पीर र त्यो भन्दा बढि दिदीको हालत कस्तो होला भन्ने पीरले पीडित थिएँ म ।
घर पुग्दा प्रथमतः आमालाई सम्झेँ । त्यही दलिन् र त्यही आँगनबाट विदा भएर परदेश हिँडेपछि हाम्रो भेट भएन । त्यसैमाथि पनि दिदीको त्यो अवस्था । घर भरि सयपत्री फूलहरू फुलेका थिए । तर ती फूलहरूमा चन्चलता थिएन । उमङग थिएन । फूलमा सुगन्ध हरायो कि म हराएँ । म पत्येक क्षण मैले बिस वर्ष अगाडि छोडेको तिहार खोजिरहेको थिएँ । तर ऊ त्यहाँ थिएन । निरस् र वेरङ भएर झोक्राइरहेको थियो त्यो तिहार जस्लाई मैले भेटेँ ।
भोलिपल्ट लक्ष्मी पूजाको वेलुकी दिदी र मैले लक्ष्मी पूजा गर्यौं। ईश्वरा वहिनीले रोटी ल्याएर दिइन् । भोलिपल्ट पुन्डरे भाउजु र छोरीहरूको सहयोग लिएर दिदी आफैँले पनि रोटि पकाउनुभयो । औसीको अँध्यारोमा म वीस वर्ष अगाडि जस्तै मादल र बासुरीको आवाज खोजिरहेको थिएँ । मारुनी र सोरठीको भाका खोजिरहेको थिएँ । टाढाबाट पिताजी, फ्यान्टे मामा वा रामेघर्ति काकाले भट्याएको स्वर खोजिरहेको थिएँ तर गाउँ थियो सुनसान प्रायः । आवाज थियो त अत्याधुनिक युगले निम्त्याएका उपकरणहरू फ्लास ड्राइभ र आइपडबाट कुर्लिएका केही पप र हिन्दी गीतहरू बजिरहेका थिए । राती फाट्ट फुट्ट आएका भुराहरूको आधुनिक र ब्रेक स्टायलको नाचले पनि मलाई उत्तिकै बुढो महशुस गराइरहेको थियो । म लगभग असमन्जस भएँ । नयाँ युगले निम्त्याएको विकास हो कि आदिम युगमा अल्मलिएको मेरो मन् । म खासै बुढो पनि आखिर हैन !
तिहारको दोश्रो दिन जिमी राईले आयोजना गरेको देउसी एकै ठाउँमा केन्द्रीत भएर खेल्ने योजना मुताविक पूर्ण सोल्टीकहाँ जम्मा भयौँ । दुई जना सोल्टीहरू लगायत जयकुमार दाइ, पाखाली भेना, सिङगदाई र सोल्टिनी, वीर वहादुर भान्जा, जितबहादुर भाउजू, टिकाआमो भान्जी, माइतीवीर दाइको छोरा, गणेस दाइको छोरा, केराबारी तुलवीर दाइ, अमालसिङ भाउजु लगायतका केही गाउलेहरू उपस्थित भए । सिङग दाइले भट्याउनु भयो । हामीले देउसिरे भन्यौँ। पुरानै भाका, पारा र सैलीमा त्यहाँ तिहार मनाउन पाउँदा मलाई आनन्द भयो । कम्तीमा तिहारको तिर्सना मेट्न पाएँ त्यसदिन । गणेश दाइको छोराले मादल बजाउदा, माइतिवीर दाइको छोराले कानमा फूल स्यूरेर देउसीरे वोल्दा मलाई गणेसदाइको वासुरीको सुरिलो भाका र माइतिवीर दाइको ठट्यौलीको वेसरी सम्झना आयो । पुकुनी सोल्टिनी र अमाल्सिङ भाउजू नाचेको खुब रमाइलो लाग्यो । जयकुमार दाइ र पाखाली भेनालाई तिहार विर्सनेगरी नै तिहार लागेको पनि रमाइलो थियो ।
आसिस दिइसकेपछि मैले जिमी राईको नाउँमा सानो रकम छुट्याउको घोषणा गरेँ र गाउँमा मैले पाएको परिवर्तन, विकास र चेतनाको केही उल्लेख गरेँ । मैले खास गरी शिक्षालाई केन्द्रित गर्न खोजेको थिएँ । गाउँमा आएको लगभग आमुल परिवर्तनको वावजुद पनि शिक्षा क्षेत्रले प्रचुर गति लिन नसकेको मलाई कता कता महशुस भइरहेको थियो । हुन त जलेश्वरी विद्यालय भवन् नयाँ बनेको छ । प्राथमिक बाट निम्न माध्यमिक तहसम्मको भएको छ । विद्यार्थी संख्या पनि पढेको होला । तर त्यसै विद्यालयमा पढ्ने केही साना विद्यार्थीहरूसँग कुरा गरेँ केही अविभावकहरूसँग कुरा गरेँ । शैक्षिक स्तरले अपेक्षित फड्को मार्न नसकेको प्रस्ट थियो । विद्यालयलाई खासगरी शैक्षिक गुणस्तरिय फाँटमा के गर्न सकिन्छ भन्ने कुराले मलाई वेला वखत झकझक्याउँछ । विद्यालयको शैक्षिक विकास र गाउँका प्रतिभाहरूको उत्खनन् गर्न साँस्कृतिक अभियानको विषयमा पूर्ण सोल्ठी र मैले नेचा आउदा बाटोभरि निक्कै लम्बे छलफल गर्यौं । त्यसो त विद्यालयलाई भौतिक रुपमा सबल बनाउन पनि उत्तिकै आवश्यकता छ यतिबेला । जसको निम्ती गाउँले के पहल गर्न सक्छ र गाउँका उत्पादनहरू जो विदेशमा र खासगरी लाहुरेहरू छन् उनीहरूले के गर्न सक्छन् भन्ने कुराको पनि लामो छलफल भयो सोल्ठीसँग । पूराना लाहुरेहरूमा यसबहादुर सोल्ठी सम्झन्छु । उहाँले केही समय स्वयंसेवकको रुपमा त्यस विद्यालयमा अध्यापन गरेको समेत पनि याद छ मलाई । मैले सुरूमा भने जस्तै मेरो हृदयमा जलेश्वरी विद्यालय आमा जस्तै भएर बसेको छ तथापि सन्तानको रुपमा उत्तरदायी भएर उत्रिन नसकेकोमा खेद छ यद्यपि गाउँ र परदेशको तार्तम्यबाटमात्र विद्यालयको चौतर्फी विकास सम्भव हुने भएकाले खोट दुवै पक्षमा खोट छ कि जस्तो लाग्छ मलाई ।
अन्तमा, गतसाल म गाउँ गएको वेला भेटेका सम्पूर्ण चौताराबासीहरू खासगरी ती स–साना नानीहरू प्रमिला, मेनुका, अप्रिल, इलेक्सन्, रीना, रमिला, करण, नवराज आदि सबैसबै मेरो बसाइभरि मेरो वरिपरि भइदिदा म हरदम सोचिरन्थेँ यी सानासाना टाउका, शरीर आँखा र हातहरू भोलिको देशको कर्णधार हुनमा जलेश्वरी विद्यालयको ठूलो हात छ । आज जलेश्वरी निम्नमाध्यमिक विद्यालयको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा पनि त्यही कुरा सोचिरहेको छु ।
(बेलायत)