करिब तीन दशक अनवरत रूपमा शिक्षण पेसामा संलग्न शम्भु सर लामो समयदेखि आफू कार्यरत विद्यालयको प्रधानाध्यापक र सो क्षेत्रका गाउँलेका नजरमा आदरणीय तथा उदाहरणीय थिए। हरेक साँझ मदिरापान नगरी नहुने भएकाले लोकल रक्सी जर्किनमा ल्याएर घरमै राखेर साँझ परेपछि खाएर निदाउने उनको बानीले उनलाई विगत डेढ दशकदेखि पछ्याइरहेको थियो। शम्भु सर मासुका पनि सौखिन थिए।
एक दिन पुसको पन्ध्र आसपास- “विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले वनभोज आयोजना गरौँ न त” भन्ने शम्भु सरको प्रस्तावमा सबैले सहमति जनाए। महिला सहकर्मी र मदिरा नचल्नेले भेज वनभोज गरौँ भन्ने प्रस्ताव राखे पनि शम्भु सरले मासु र मदिरा नखानेका लागि जुस र फलफूलको व्यवस्था हुन्छ भनेपछि सबै जना सहमत भए। खानेकुरा, फलफूल, तरकारी, सलाद, मदिराको कुन ब्रान्ड लैजाने, खसी कत्रो लैजाने, भाँडाकुँडा कहाँबाट क-कसले लैजाने तय गरियो । अरूमा सर्वसम्मत भए पनि शम्भु सरको जर्किनमा लोकल रक्सी लैजाने भन्ने कुरामा नयाँ आएका युवा शिक्षकले असहमति जनाए र शम्भु सरलाई जाडोमा खुकुरी रम भए ठिक हुने प्रस्ताव गरे। शम्भु सरले नाइँ नास्ति नगरी कति पैसा पर्छ लैजानुहोस् र ल्याएर राखिहाल्नोस् भनेर पैसा दिनुभयो। भोलि हुने वनभोजका लागि सरसामानको सबै तयारी सकियो।
भोलिपल्ट बिहानै निर्दिष्ट ठाउँमा पुग्न शिक्षक कर्मचारीहरू बाटामा हिँड्दा खसी डोर्याउने विद्यालयकै सहयोगीले भने -“यसपालि पनि ह्याकुलो हराउने त होला ?” पुराना जानेका सहकर्मी हाँसे तर नयाँलाई त्यो सन्दर्भबारे अलि चासो भयो। वनभोज स्थलमा पुगेपछि नास्ता तयार हुँदै गर्दा शम्भु सरले अण्डासित नै एक पेग लगाए। खसी काटियो र मासु बनाउने काम पनि भयो। खसी काट्ने काम सकियो । सबैले खाना खाए, नृत्य गरे र रमाइलो गरेर दिन बिताए। बाटामा फर्किँदा यसपालि पनि ह्याकुलो हराएको कुरो चल्यो। तर धेरैले उति चासो राखेनन्। सबै आआफ्ना घरमा गए। साँझपख सन्तोष सर हेड सर बस्ने कोठामा पुग्दा भान्सामा खसीको ह्याकालाकै मासु टुक्र्याइँदै थियो। सन्तोष सर चिया खाएर फर्के तर उनले ह्याकुलो हराउनुको कारण त थाहा पाए तर हराएको ह्यकुलाका बारेमा कसैलाई केही पनि भनेनन् किनकि उनी सो विद्यालयमा अनुदान कोटामा भरखरै नियुक्त भएर आएका थिए।
(पाटन नपा-२, बैतडी)