वि. सं २०३७ पौष १३ गते नेपालको सुदुर पहाडी जिल्ला बैतडी , पाटनमा जन्मनुभएका साहित्यकार, काव्यरसका प्रखर लेखक मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापन सेवामा सम्बद्ध वासुदेव पाण्डेय नेपाली विषयमा स्नातकोत्तर हुनुहुन्छ ।
साहित्यकार वासुदेव पाण्डेयको प्रकृतिपरक कवितासङ्ग्रह ‘दुलही’ एक दिनको बसामा तीन दिन लगाएर दुई दुई पटक पढेँ । पढेँ मात्र होइन, कविसँगै गुन्गुनाएँ पनि । उही ‘दुलही’ माथि पाठकीय जिम्मेवारी प्रस्तुत गरेको छु ।
एकासी पृष्ठको कवितासङ्ग्रहमा समावेश चौसठ्ठी ओटा कविताहरू पाठ गर्न शुरू गरेपछि पाठक आत्मविभोर हुन्छ, आनन्दको अनुभूति गर्छ । कविताको पत्रपत्रमा डुब्छ । अक्षर अक्षरमा खेल्छ । शब्दहरू टपक्क टिपेर ज्ञान भण्डार सजाउँछ । कविसँगै प्रकृतिका अनुपम छटाको, यथार्थ वर्णन रसोस्वादन गर्छ । प्रकृतिको विशाल सागरमा डुबुल्की मार्छ ।
यथार्थ बिम्बात्मक कल्पनाको प्राकृत वर्णन, एउटा उत्कृष्ट कलाकारले चित्रकारिताको अनुपम काखमा बसेर रसरस खोतल्दै सजीव चित्र उतारेझैँ स्तुत्य छ दुलही कवितासङ्ग्रह । उच्च साहित्यिक, गहन तर बोधगम्य सरल शब्दहरूको प्रयोगले पुस्तकमा समावेश कविताहरू जो कोहीको लागि पनि पठनीय छन्
गहन छन् तर सरल छन्, अर्थपूर्ण छन् ।
नेपाली काव्यविधामा गद्य शैलीको अधिक प्रयोग बढ्दै गइरहेको र छन्दमा कविता रचना गर्ने लेखकहररू दुब्लाउँदै गएको परिवेशमा वासुदेव पाण्डेयले ‘दुलही’ बजारमा ल्याएर काव्यविधामा एक उचाइ स्थापित गरेका छन् र नेपाली साहित्यलाई गुन लगाएका छन् । कवि वासुदेव पाण्डेयप्रति साधुवाद छ ।
अब केही बेर दुलही कवितासङ्ग्रह भित्र प्रवेश गरौँ । पृष्ठ एकमा ‘प्रकृति दुलही’ मार्फत उठेको रचनाकारको कलम यसरी वर्णन गर्दछ ।
तेजस्वी छन् वर सगरका धीर उदात्त वीर उस्तै राम्री प्रकृतितनया लोभलाग्दो शरीर । टाढा बस्दछन् तर वर वधु गर्दछन् देखभेट हेरी सारा ग्रहगति चिना लग्न तोक्दछन् पुरेत ।।
प्रकृति वधूझैँ सजिएकी छन् , वररूपी सगर विशाल तेजले युक्त मनोरम छन् । यिनै प्रकृति दुलहीको घुम्टो खोल्छन् रचनाकार पुस्तकभरि । यहाँ मलाई रचनाकारको विहङ्गम सृजनाको व्याख्या गर्नु छैन । केवल रसास्वादन गर्नु छ ।
अगाडि हेरौँ, – चैतस्पर्श
नवीन वृक्षका लुगा भए सबै परीसरि सुवास फैलियो मीठो फुलेर आम्रमञ्जरी । भिरेर पातका लुगा सलज्ज चैत पाहुना सजाइए, सिँगारिए समस्त कन्दरा कुना ।।
शिशिरको उराठलाग्दो एकान्तपन बितेर कोइलीको कुहुँ कुहूँसँगै वसन्त ऋतु आगमनको सजीव चित्रण छ ‘ चैतस्पर्श ‘मा ।
सधैँ पानी पार्ने नृपति नभका ' इन्द्र ' हुनु भो झुकेको देख्नाले धनुषसरिको नाम 'धन' भो ।- ' इन्द्रधनुष '
आए चाड दशैँ तिहार छठ जो उत्साह ल्याईकन सारा देश उमङ्गयुक्त हँसिलो बत्ती जलाईकन । _ शरद
शरद्सँगै उज्यालिने /खुल्ने आकाशको मुहार , मौसमको निखार, संस्कृति चाडपर्वको प्रेमभाव नेपालीपनको रौनक प्रफुल्ल हुन्छ मन् ‘शरद ‘ कविता पढ्दा । त्यतै शरद र वसन्त, प्रकृति र जीवको माधुर्य वर्णन छ ‘ समन्वय’ र ‘प्रकृतिको लीला ‘ शीर्षकमा ।
जहाँ रारा फेवा सगर छुन खोज्ने शिखर छ त्यही मेरो प्यारो मुलुक, रहने एक घर छ ।
जहाँ फुल्छन् राता कुसुम तरु पाखा जमिनमा जहाँ बन्छन् चाँदी शिखर सुनका एकछिनमा । आहा ---
वसन्त ऋतुमाथिको अतृप्त , उच्चतम बिम्ब प्रयोग गरिएको कविता हो ‘वसन्त महिमा’
कतै छ नर्सतुल्य यो कतै छ मातृमाधुरी कतै छ ज्ञानदातृ यो कतै छ प्रेमिका सरी । - वसन्त महिमा
मान्छे भएर पनि पशुतुल्य व्यवहार गर्छ भनी केही दुःख भाव प्रकट गर्दछन् कवि ‘ जीवनको लय’ मार्फत ।
राष्ट्रप्रेम, देश वर्णनले ओतप्रोत कविताद्वारा पाठकलाई चुर्लुम्म डुबाउछन् कवि देशभक्तिमा ।
सीता गौतम बुद्धको घर तथा हो भूमि यो वीरको सानो, सुन्दर शान्त स्वर्गसरिको हो देश नेपाल यो । - ' बिम्बमा देश
त्यस्तै इलामेली परी, अन्नपूर्णा, भूस्वर्ग नेपाल , भू स्वर्गकी अप्सरा, जन्मभूमि , आत्मगौरव, राष्ट्र र राष्ट्रझण्डा, राष्ट्रध्वजा र सपना , विदीर्ण दशगजालगायतका कवितामा कवि मातृभूमिको सुन्दर वर्णनसँगै देशप्रतिको माया, चिन्ता , समर्पण , आत्मप्रेमालाप, भावुकता प्रकट गर्दछन्।
सच्चा गुरु र गुरु प्रकृति रचनामा प्रकृतिलाई गुरुको उपमाले यसरी सजाउछन् कवि आफ्ना रचनामा –
गीता हो झैँ महसुस हुने सृष्टिको बिन्दु जस्तो ज्ञाता दाता गुरु कवि तथा सृजना सिन्धु जस्तो । - गुरु प्रकृति
हेमन्तागमन पछि हैम सुषमामार्फत हेमन्तीय सुन्दरताले नेपालका प्राकृतिक निधि हिमशिखरमाथिको अतुल्य वर्णन छ दुलहीमा ।
गुराँसे डाडामा 'प्रकृति दुलही' झैँ विविधता छ नौनी डल्लाझैँ हिमशिखरको सुन्दर छटा ।- हैम सुषमा
प्रकृति आफ्नो अनेकौँ लीलाले, नदी , वनजङ्गल , हिमशिखर, लता पुष्पवाटिकाले , भिर कन्दराले , जीवजन्तुको उछलकुदले अनेकतामा एकताको सन्देश फैलाइरहेछ । कवि एकताको उदारहण प्रस्तुत गर्दछन् , ‘एकता ‘ शीर्षकमा ।
वर्षभरि सबै ऋतुको वर्णन गरेपछि अन्नदान दिने , सुख्खा घर्तीमा अमृत जल सिञ्चित गर्ने, जल थल हराभरा पार्ने असारले , वर्षा ऋतुले कवि मन द्रवित नहुनु असम्भव नै छ । कवि यसरी पोखिन्छन् , शीतल जल भएर –
थन्केको जल राशि आज जसरी वर्षी खडेरी हट्यो मानो रोप्न असारमा कृषकको सारा जहानै डट्यो ।- सम्झनामा असार
‘सन्तान सामीप्य, आमाको मन, सन्तति, आमाविनाको घर , मातृमहिमा, मातृत्व, बाबाको महिमा, धन्य जननी ‘ हरु दुलही भित्रका मातृस्नेह, बडाको आदर सम्मान र परिवारबोधका उम्दा कविता हुन् ।
छानो बा जगदेखि माथि जननी हो सृष्टि सम्मिश्रण मेरा लागि छ गेह मन्दिर बुबा हुन् देव नारायण । - बाबाको महिमा
आहा, मात्र भन्न सक्छु यी पङ्क्तिहरुमा । मन भावुक हुन्छ ।
कविले ‘दुलही ‘ मा प्रकृतिको अर्को एक सुन्दर फूल प्रेमिका, पत्नी स्वरूपको बखान गान नगरे कसरी दुलही सार्थक बन्ला । यसमा प्रेमरसधाराका कवि चुक्ने कुरै भएन । यो हेरौं,
कस्तो राम्रो तन वय सबै लाउँदा टम्म चोली साँच्चै तिम्रो सरस कति हो कोइलीतुल्य बोली । कोरी कालो कटितल पुगी केश चुल्ठो खसेको आँखा तिम्रा तर म छु त्यहाँ बिम्ब बन्दै बसेको ।। - प्रणय पथ
अन्त्यमा छ वटा साहित्यिक कृतिका रचनाकार नेपाल विद्याभूषण ‘ ख ‘ सहित दर्जनौँ पुरस्कार/ सम्मानका योग्य वासुदेव पाण्डेयको प्राकृतिक सुन्दरतामाथि तिलस्मी बिम्बहरुको प्रयोग गरी लेखिएको दुलही कवितासङ्ग्रह पुस्तकालय, विद्यालय, हरेक साहित्यिक मन र काव्यरसका प्रेमीहरुको लागि सङ्ग्रह गर्न योग्य पुस्तक बनेको छ । कविको विशाल ज्ञान र नेपाली भाषा शिक्षकको भाषिक विद्वता प्रतिबिम्बित दुलही लेखनाथ पौड्यालको ‘तरुण तपसी’ झैँ हो भन्दा अलि बढी नहोला ।
कविको उज्जल साहित्यिक भविष्यको शुभकामनासहित नेपाली साहित्यमा उत्कृष्ट पुस्तक ‘दुलही ‘ को लागि हार्दिक बधाई । ।
(धनगढी, कैलाली)