उहिले, उहिले भीष्म पितामहले पाएको जस्तो इच्छा मृत्युको बरदान नपाए पनि निश्चित आयुसम्म बाँच्ने बरदान त जो कोइलाई पनि तागेरा निङ्ग्वाफ़ू माङ्ग्ले दिएको छ । अब, उही माङ्गले दिएको जीवन बाँकी रहुन्जेल के के, के केहरू सँग जुध्दै जुध्दै भए पनि फ़क्ताङ्गलुङ्ग जस्तो हावा हुरीले पनि नडगमगाउने अटल पहाड भै, समय सीमाभित्र लुकेर बसेका हजारौं हजार अदृश्य बिकृति र विसंगतिहरू सँग लड्न सक्ने अजङ्गको थेगू बन्न मन लाग्छ मलाई अचेल । आज अभावको हुरीले उडाइल्याएको पतझर जस्तो जिन्दगीले आफ्नै समस्याहरूको महायुद्धको मैदानमा उभिएर बर्बरीकले महाभारत नियालेझैं पर...पर... छाडिएका अतीतका धुमिल छायाहरू नियालिरहेको छ । उहिलेदेखि अहिलेसम्म लड्दा लड्दा पनि बन्न सकिएन कर्ण जस्तो अंगराज न बन्न सकियो समयको चक्रव्यूह तोड्ने अर्जुन जस्तो पराक्रमी बरु, जिन्दगीको चक्रव्यूह तोडेर बाहिर निस्कन नसक्ने अभिमन्यु जस्तो पो भएर फस्सेको फस्सेकै भैयो समयको चक्रव्यूहमा । बन्न त चाहेकै हो समयको छाती चिरेर रगत पिउने भिम जस्तो वीर पुरुष अथवा दु:खको तलवार छेक्ने कृष्णको जस्तो बिराट रुप । तर, विदुर जस्तो दु:ख सहने एउटा कोमल हृदय बोकेर आफ्नै जिन्दगीको कठिन अनि कठोर युद्ध मैदानमा हजारौं हजार मामा सकुनीहरूको माँझ राजा धृतरास्ट्र जस्तै अन्धो पो बन्न परिरहेको छ । भलै नहोलान् यहाँ दुर्योधन जस्ता वस्त्र हरण गर्ने भान्जा अनि दाउपेच सिकाउने मामा सकुनी तर, कर्मले दाउमा थापेको द्रौपदीको जस्तो जिन्दगी त घिसार्दै बाँच्नु परेको नै छ । गांधारीले झैं आँखामा पट्टी बाँधेर जीवन बलिदान दिन सक्ने हिम्मत कसको पो छ र यो कलियुगमा ? बरु स्वार्थ पूर्तिको लागि गुरु द्रोणाचार्यले जस्तो गुरू दक्षिनामा औंला मागेर अलिपर..... गई ....टाढैबाट संजय जस्तो दिब्य दृष्टी लाएर युद्ध हेर्नेहरूको लर्को छ यहाँ । त्यसैले अब म पवन पुत्र, रुद्र रुप बाल हनुमानझैं जिन्दगीको बाँकी युद्ध जित्न सुनामी बनेर उडाई लैजान्छु सारा समयलाई ब्रमाण्डमा अड्याउन । जहाँ बसेर लेखुन् मेरा प्रिय कविहरूले युद्ध बिहीन सुन्दर स्वर्ग जस्तो संसारको कविता ......... (ताप्लेजुङ हाल बेलायत)