सकुन्तलाको बिहे गरेको चार, पाँच वर्ष भएको थियो । उनका हालसम्म सन्तान भएका थिएनन् । दुई वर्षसम्म त कसैले खासै चासो दिएनन् । तेस्रो वर्ष नबित्तै– “लाला, बाला खेलाउन दिन्नौ” भन्दै आफन्तले सोधिरहन्थे । वरिपरिका अरुहरुले पनि खोजी नीति गरिरहन्थे ।
सकुन्तला खासै केहि जवाफ नदिई मौन रहन्थिन् । उनका श्रीमान् बाहिर जिल्लातिर जागिर खान गएका थिए । तीन, चार महिना बिराएर मात्र घरमा आउने जाने गर्थे । सासु ससुरा बुढ्यौलीमा लागिसकेका कारण उनले घर छोड्न पनि पाएकी थिइनन् । उनको समय स्याहार सुसारमै बित्ने गथ्र्यो ।
दमका रोगी भएकाले एक दिन विहानै ससुरा बेलैमा खाइवरी बिहानीको घाम ताप्न पिँढीमा बसिरहेका थिए । पुुुस महिना भएकोले खासै खेतीपातीको काम पनि थिएन । प्राय गाउँका मानिसहरु फुर्सदमै थिए । आसामबाट फुपु पनि आएकी हुँदा सबैले चाँडै काम सकेर गफ गर्दै थिए ।
“ओहो आज त कान्छी काकीका बेलैमा भान्छा सकिए जस्तो छ नि ।” माथ्लाघरे दिदी फुरफुर गर्दै पिढीमा आइपुगिन् । सवै जना गफमा मस्त देखेर तल्ला घरे दिदी पनि चाडो चाडो काम सकेर गफमा सरिक हुन पुगिन् । सबै जना आ–आफ्ना कथा, व्यथा सुनाउँदै गफमा तल्लिन भए । सकुन्तलातिर हेर्दै गर्दा विहे गरेको वर्षको हिसाब, बच्चा बच्ची किन नभाको होला भन्दै व्याख्या समेत गर्न भ्याए ।
“हेर्नुन, एउटै त्यही चिन्ता छ । बुहारी पनि यति सुकुमारी देखिन्छिन् । खासै कमजोरी त देखिदैन हेर्दा । के भा होला ?” सासुले अरुतिर फर्केर सोधिन् । “बरु एउटा छोरी नै भए पनि हुने नि ।” तल्ला घरे दिदीले प्वाक्क उत्तर दिइन् । अन्य सबैले हो मा हो गर्दै “त्यै त नि ।” भन्न भ्याए ।
उनीहरुका कुरा सुनेर सकुन्तलाले मन मनै सोचिन्– छोरीचैँ त्यतिकै बर्सिन्छन् !!!