दिसम्बरको महिना पुषे जाडोले आफ्नो सामराज्य जमाएको थियो। तीमाथि जैसलमेरको मरूभूमि, मरूभूमिमा जाडो र गरमी दुवै तीव्र पर्दछ । यहाँ पर्ने कठ्याङ्ग्रिने चिसोको अनुमान उतिकै तातो जुलाईलाई सोचेर लगाउन सकिन्छ। बेलुकी पहरको पाँच बजेको थियो। गर्मीको मौसममा पाँच बजेलाई बेलुकी भन्नेलाई दिउसै ट्वाक्क लगाएछ भन्लान् तर अहिलेको कुरा सरदकालको छ ।
धेरै दिनपश्चात आइतबार मेरो सन्डेमा परिणत भएको थियो। जेट्ठी छोरीले कतिका दिन अघिदेखि चिर्लेन्ड पार्क जान बनाएको योजना आज पाँच चोटि फेल भएको देखेर नराम्रो लाग्दै थियो। कारण छर – छिमेकमा बाई बाई डे मनाउने ठुलठुला योजना बनिँदै रहेछन्। तिनै योजनाहरु देखेर श्रीमतीले पनि मलाई तीन चार पटक “के गर्ने ? कसो गर्ने?” भनिरहेकी थिइन्। मलाई एक चोटि त वैशाख पर्ख्यौ भन्न मन लाग्यो तर आफ्नो भावनालाई रोकेर खिस्स हाँसेजस्तो गरेँ। बल्ल बल्ल आइतबारदेखि परिणत भएको सन्डे र अंग्रेजहरूको अन्तिम दिन बिग्रिने डर थियो मलाई।
” जैसा देश वैसा भेष” भन्ने हिन्दीको भनाई भन्नेले भनेर गए यो भनाइको सन्दर्भको चेपारोमा चाहिँ म जस्ता कति हो कति बलि हुँदै छैन। “Survival of the fittest” डार्विनको यो सिद्धान्तले त गर्नु सम्म गर्यो । बाई बाई डे मनाउँदिन भनेर हठ गरी बैशाख पर्खिने त डाइनेसोर सरी लुप्त हुन्छन्। संसारलाई मेरा प्रजातीको पनि खाचो छ । होसियारीले काम गर्नु पर्यो ,नत्र 4G देखि 5G मा हाम्फाल्न अटेको यो जिन्दगीको स्पीड डाइरेक्ट G मा परिणत भयो भने आछु आछु।
हामी संसारका प्राणीहरुमा डार्विनको सिद्धान्त पनि एकदम सटिक बस्छ । आफु प्राणीमा मान्छे पर्यो । सर्वश्रेष्ठ भएरपनि मान्छेको दु:ख देखेर जनावर रमाउँछन्, उनिहरु जनावर भएकोमा। कुरा रमाउनको छ। रमाउन, खुशी हुन मान्छे कहाँ कहाँ पुगेनन् होला ? म पनि पुगेको छु घर आफन्त र आफ्नो गाउँदेखि धेरै टाँढा। टाँढा प्रदेशमा आफ्नै भाषी नभएपनि एउटै राज्यको दुई प्रणीको मिलन पर्यो भने परिवारकै जस्तै हुन्छ । आखिर दुवैलाई त्यहीँ राज्यकी आमाले आफ्नो काखमा हुर्काएकी जो हुन्। यहीँ परिवारका नाताले हामी मणिपुर राज्यका अन्य दई परिवार सङ्ग मिलेर बाई बाई डे मनाउने योजना श्रीमती र उनकी सङ्गीनीले बितेका दिनदेखि बनाएका रहेछन्।
आफ्नै गाउँ घरतिर त पश्चिममे टाई शुट लाएर मादलको धिङ्ताङमा कम्मर भाँच्ने साथीहरू समूहको सानो छैन । यहाँ त घरदेखि हजारौं माइल टाढा। न ती टाई शुट लाउने साथी न मादलको धिङ्ताङ। हिन्दी गानामा नाच्नु पर्यो नि कम्मर भाँची भाँची। न चाडपर्व आफ्नो न गीत संगीत आफ्नो। बैशाखमा नयाँ साल मनाउने, आफ्नो सांस्कृति बचाउने। यी सबै कुराहरूले मेरा मनमा द्वन्द्व चाहिँ कम गरेका होइनन् त्यो बखत।
सबैलाई पश्चिमको घाम मन परेको छ । पूर्वको घाम तापेर पनि। पश्चिमको अस्ताउँदो घाम देख्दा दुखी हुने मेरो ह्रदयले पनि कति Orthodox हुन्छस् भन्न थाल्यो। दुखी हुने सहस्र कारण हुन्छन् । खुशी हुने एक कारण पनि नछोड्नु अरे। अनि कसैलाई खुशी बनाउनु पनि मानव सांस्कृति हो । आजको यो बाई बाई डे मा मैले खुशी खुशी भाग लिनु तीन परिवारले खुशी हुनु थियो। यहीँ कुरालाई ध्येय बनाए अनि जेठी छोरीलाई आउँदो साता पार्क घुमाउन लाने वाचा गरी श्रीमतिसँग बाई बाई डे मनाउने सर्जाम जुटाउन निस्के त्यो जाडोमा।
क्वाटरदेखि हामी बाहिरियौँ । बाहिर ढुस्सेले विजिविलेटी रेंज १०० मिटरको पारेको थियो। कान्छी छोरी र श्रीमतीलाई न्यास्रो अनुहारले बाई गर्दै जेठी छोरी भित्र पसिन् पाँच वर्षे शिथिल काँधमा घर रूङ्गने भार लिएर। भित्री मनमा असहजताको गाठो भएपनि, फुर्ती देखाउँदै गएर मैले दुई चक्के स्टार्ट गरे। सधैं एकै किक्मा स्टार्ट हुने एक्टिवाले आज न्यूँ खोज्यो । सेल्फ स्टार्टै भएन। ताकतसंग पाँच किक्मा मात्र मान्यो अनि लाग्यौँ हामी बाई बाई डे मनाउने सर्जाम किन्न। चिसो हावाले उसको क्रुर हातले मेरो छाती र गालामा सुस्तरी सुस्तरी कुट्दा कम मुटु कामेको थिएन मेरो। ‘गीत गाता चल ओ साथी ,गुन गुनाता चल ‘ स्वत जाडोले मेरा ओठमा गाना चलाई दियो। नया मान्छे पुरानो गीतको धुन।तर धुन मिठो। फेरी धुनको के कुनै युग ? कति बेला हाम्रो गेट बाहिरिए बाहिरिए थाहै भएन। “ट्राफिक र भिडमा गाडी आरामले कुदाउनु है ” भनेर पछाडि बाट श्रीमतिको आवाज आउदा मात्र मेरो गीतको धुन टुट्यो।
त्यति ठिही लाग्दो मौसममा पनि मान्छेको घुइँचो सधैं भन्दा बढी लाग्यो मलाई। क्याम्पभित्र मात्र होकि भनेको यहाँकलाई पनि बाई बाई डेले आफ्नो पंजामा ठूलो असर पारेको रहेछ । धेरै जसो पसलमा खरिदारहरूको भीडले पसलवालाहरू सास फेर्ने समयसम्म पाएका थिएनन् जस्तो लाग्दै थियो। यही भीड देखेर श्रीमतीको कम भीड भएको पसलमा गाडी रोक्ने आदेश आयो । मेलै असल श्रीमानको कर्तव्य पुरा गर्न त्यस्तै पसलको अघाडि लगेर दुई चक्के पार्क गरेँ।
म र मेरी कान्छी छोरी नुरबी दुवै पसलको पेटीमा उभियौँ । कमाउनेवाला भएपनि दाल चिनीको भाउ न जान्ने मान्छे म अरे, मेरी श्रीमतीको भनाइ । बाउले यही कुरा भन्दा अर्कै मतलब हुने, तर यहाँ भिन्नै कथा छ। मलाई पसलवालाले ठग्छन अरे, उनिकै भनाइ। जति दाम भनो उति नै दिन्छु अरे। त्यसैले किन्ने कार्य मलाई वर्जित छ । होम मिनिष्टरको आदेश मान्नु पर्यो। यही कारणले मेरो भार ढेड वर्षे कान्छी छोरीलाई म सँग भुल्याएर नरूवाई राख्ने थियो। हामी उभिएको ठाउँदेखि यहाँका राजा महाराजको ढुङ्गाले बनाएको महल यानी किला त्यस्तो मौसम पनि देखिदै थियो।किलाका गुम्बज यानी डोम पनि राम्रो संग देखिन्थ्यो । म त्यहीँ डोम अनि किलाको बुट्टै बुट्टाले भरिएको प्रवेश द्वार नूरबीलाई परै बाट देखाउने प्रयासमा थिएँ। यति अबोध शिशुलाई सात-आठ सय वर्ष पुराना बेरङ्ग महल टाढाबाट देखाई भुल्याउने मेरो प्रयासलाई कसैले देख्थ्यें भने कम अनाडी सोच्ने थिएनन् होला मलाई। शीघ्र आफ्नो अनाडीपनको आभाष पाएर म नूरबीलाई सडकमा चल्दै गरेका कार देखाउन थाले।नानीहरूको रंगमा आकर्षण हुने चरित्रले होला नुरबी पनि रातो, पहेलो नीलो र सेतो रंगको कार देखेर अलि अलि हात हल्लाउँदै हास्न थालिन।
म पनि उनिको हासोमा हाँसे । चिसो हावाको वेग अझ बढ्दै थियो नूरबीले मलाई कस्सिएर समाइन ,उनिले चाहेको न्यानो सुरक्षालाई दुबै अङ्गालोले मैले स्वागत गरे ।उनलाई खुशी र न्यानोपन दिन सफल भएकोमा संसारमा सबैभन्दा रमाइलो महसुस हुदै थियो मलाई।
नूरबीलाई गाडी देखाउँदा देखाँउदै अचानक सडकको पल्लो किनारमा मैंले केही देखें। त्यो किनारमा नूरबीकै समान उमेर बुझिने अर्धनग्न शिशु रूदै थियो। उसलाई कमरदेखि माथि मैलो कालो ज्याकेट लगाइदिएको थियो। खाली खुट्टा ताति सम्म मजाले गर्न न सक्ने त्यो बालक रूदै आफ्नी आमाको मजेत्रो समाएर लरबराँउदै हिँड्दै थियो। भरखरै छोरी भुल्याउन सफल भएकोमा खुशी मेरो मन बाहिरको कठ्याङ्ग्रिने जाडोभन्दा बढी चिसो भएर दुखी भयो। त्यतिकैमा चिसो हावाले सुटुक्क मेरा कन्सेरी छोए। नूरबी अझ टाँसिन पुगिन्। मैंले हातपंजा,पम्प ज्याकेट र जुत्ता लाएको थिए जाडोलाई मात दिन । मैले के मात दिदै थिए होला र जाडोलाई त्यो शिशुको अघि ।
नबुझिने गरि रसाएका मेरा आँखा नानीले समाएको मजेत्रो लाउने अभिभावक सम्म पुगेर ठम्मे। नानीको अभिभावक एउटी २४-२५ वर्षकी कालो कालो वर्णकी महिला रहिछ। उसले जाडोदेखि बच्ने सबै कार्य पूर्ण गरेकी थिई । रङ उडेको पहेंलो उनीको गन्जिले आफ्नो पातलो शरीर ढाकेको बुझिन्थ्यो। उसले एकदमै मैलो हरियो कुर्ता र नयाँ नधोएका चप्पल लाएकी थिई।
ऊ केही भकभकाउदै शिशुलाई हल्का घिसार्दै हामीतिर बढ्न लागी। मलाई लाग्यो उसको मानसिक सन्तुलन ठीक छैन। उसको व्यवहार समान्य थिएन। यो कुरा उसले आफ्नो शिशुलाई गरेको नराम्रो गालीले स्पष्ट बुझाउदै थियो। त्यसमा मलाई दुवै आमा छोराप्रति अथाह माया पलायो। छेउमा आएपछि केही रूपियाँ दिन्छु भनेर सोचेँपनि। तर एकै क्षणमा मेरो अवलोकन गलत ठहरियो । जब ऊ नजिक आइपुगी उसले निर्दयी भएर अझ त्यो असहाय शिशुलाई घिसार्दै नराम्रो गाली गरी । नानीको अनुहार जाडोले नीलो नीलो भएको थियो। त्यो आइमाईको ओठ सुकेका थिए, उसको नानीको ओठ सरह। तर ति ओठ नानीको सरी नीला चाहिँ थिएनन्। ऊ घरी घरी सेतो खकार आफ्नो सुकेको मूखबाट थुक्दै थिई। त्यो सेतो थुक अनि सडक पार गर्दाको उसको लरबाराईले मलाई थाहा भयोकि उ रक्सीले धुत भएकी छ। उसलाई देख्दा उ कुनै दिनहुँ पिउने जस्ती लाग्थिँ। न उसको व्यवहारमा नानीको लागि कतै प्रेम देखिन्थ्यो। न कुनै जिम्मेवारी। ऊ त अझ बढी धुत हुने माध्यम खोज्दै थिई होलि। फेरी उसलाई नानीको पर्वा कहाँ। सायद उसलाई पनी बाई बाई डे ले बिहानैदेखि भेटेको थियो। उसले ड्ङ डङ् रक्सी गनाउँदै पसलवालासंग बेसरम भइकन केही माँगी । सट्टामा पसलवालको हाँप्काई लिएर ऊ फेरि भकभकाउदै शिशुलाई नराम्रो गाली गर्दै घिसार्दै निस्की ।
त्यो सब देखेर मेरो मुटु र मस्तिष्क चाहिँ असन्तुलित भइसकेको थियो। हाम्रो देशमा नागरिक कल्याणका लागि कति हो कति योजना र सरकारी धाराहरू पास गरिन्छ । यसरी अधवैशे रक्सी पिएर धुत भई बच्चाको भविष्य नर्कमा हाल्ने अभिभावकलाई चाहिँ कुन धारामा लखेट्ने? यस्तै कुराले मनाम ठाउँ बनाउँदै थियो। किनकि म चाहेर पनि त्यो शिशुको मद्दत गर्न सक्दिनँ थिए। लाचार भएर म अन्योलमा डुबेछु। त्यतिकैमा श्रीमतीले “कहाँ टोलाउनु भएको यति गम्भीर र रून्चे अनुहार पारेर” भनि सोधिन् । मैले ऊ हेरेन त्यहाँ भनी हात उठाएर सडकतिर देखाएँ । त्यहाँ त्यो शिशु र उसको अभिभावक अहिले थिएनन् । मैले उनलाई अलिक पर निस्केर देखाउन चाहे। देखिएनन्। त्यहाँदेखि पनि उनिहरु ओझल भइसकेका थिए। नशामा धुत , लरबरिंदै हिँडेकी त्यो आइमाईले शिशुलाई रूवाउदै घिसर्दै घिसार्दै कता लगेर हराई पत्तै लागेन। पश्चिम दिशादेखि चिसो हावाले फेरि मुटु कमपन हुने गरी कुटो । नुरबीले, ती कलिला हातले पुनःकसेर समातिन् । मैले पनि मायाका साथ अझ मैतिर कसे। चिसो हावा झन भनो झन वेगिदै थियो। यस्तो लाग्दै थियो कि आज त हावाले कश्मिरको बर्फ ल्याएरै जैसलमेरमा फ्याँक्ने छ। दिनले बिदा लिई सकेको थियो । अँध्यारोले आफ्नो राज जमाउने तरखरमा थियो। मैले भारी-भारी मन बनाएर नुरबी श्रीमतीलाई सुम्पिएँ । मैले दुई आमा छोरालाई कतै देख्ने आशमा दुई चक्के त्यतैतिर बढाएँ जतातिर तिनहरू हराएका थिए। पर परसम्म मेरा चश्मा भित्रका आखाले सून्यता मात्र फेला पारे, उनीहरु कतै देखिएनन्।
(काङग्लातोम्बी, मणिपुर)