माघ १९, काठमाडौं ।
आज तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाउँदै छन् ।
माघ शुक्ल प्रतिपदाका दिन सम्पन्न हुने यस पर्वलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँछन् । केही वर्ष अघिदेखि देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले टुडिखेलमा सांस्कृतिक झाँकी प्रदर्शनसहित् कार्यक्रम गर्ने गरेको भएता पनि कोरोना महामारीका कारण यसपल्ट पनि घरघरमै बसेर ल्होसार भनाइँदै छ ।
मञ्जुश्री पात्रो अनुसार आजबाट गाई वर्ष सकिएर बाघ वर्ष सुरु भएको छ । तामाङ क्यालेन्डरे अनुसार आजैबाट २८५८ औँ वर्ष सुरु भएको छ । यस पात्रो अनुसार मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर,चरा, कुकुर र सुँगुर गरी १२ किसिमका वर्ष हुन्छन् । तामाङ भाषामा ल्हो भनेको वर्ष र सार भनेको फेरिनु हो ।
२८५८ वर्ष पहिले आजैको दिन मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मादेशना गरेकोले आजैका दिनदेखि मञ्जुश्री संवत सुरु भएको मानिन्छ ।
पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन।
समितिका कार्यकारी निर्देशक वसन्त लामा यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य, सल्लाहकार मात्र बसेर पूजापाठ गरी ल्होसार मनाउन लागिएको बताउँछन्।
विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको र्याली निकालिने गरिएको थियो।
यसपल्ट पनि सोनाम ल्होसार पर्वको अवसरमा नेपाल सरकारले देशैभरि सार्वजनिक विदा दिएको छ ।