असारे काव्य संसारे कविरेव प्रजापति, यथास्मै रोचते विश्वं तथेदं परिवर्तते । अर्थात संसारमा कविहरु प्रजापति हुन् । उनीहरुले संसारलाई जसरी रच्छन् त्यसरी नै परिवर्तन हुन्छ ।कविलाई परिवर्तनका संवाहक मानिन्छ । त्यसैले कवि कर्म महत्वपूर्ण हो भन्ने कुरा पुराणकालदेखि नै मान्दै आइएको छ ।
कविता त्यसै लेखिदैन । त्यसमा प्रतिभा, व्युत्पत्ति र अभ्यासको आवश्यक छ । कविता सफल हुन अलङ्कार, वक्रोक्ति, औचित्य,ध्वनि,रीति, रसादि चाहिन्छ । विभिन्न प्रतीक र बिम्बहरुले सिंगारपटार गरी पढ्न रुचिकर बनाउनु अलङ्कारहो । कुरा घुमाएर प्रतिकात्मक रुपमा प्रस्तुत गर्नु वक्रोक्ति हो । साहित्यमा उल्लेख भएका कुराहरु व्यवहारिक र सत्य हुनु पर्छ भन्ने औचित्य हो । उद्देश्य, प्रसङ्ग र परिवेशका आधारमा अर्थ निश्चय गरी लेख्नु ध्वनि हो । आकर्षक शैलीमा लेख्नु रीति हो । त्यसरी नै साहित्यमा रस भएन भने पनि त्यो साहित्य बन्न सक्दैन । यी पूर्वीय साहित्याचार्यहरुका भनाईहरु हुन् ।
आज म कपिलवस्तु जिल्लाको बाणगङ्गा कोइली वनगाई निवासी आदरणीय साहित्यकार नित्यानन्द पाण्डेको ‘गन्तव्य विन्दु’ कविता संग्रहको विषयमा चर्चा गर्छु । नित्यानन्द पाण्डेको जन्मथलो गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका सोता हो ।उनी २०१० सालमा आमा मतिकला पण्डेको कोखबाट जन्मेका हुन् । उनको पिताको नाम स्वर्गीय गंगाराम पाण्डे हो । उनका ३ वटा कृतिहरु प्रकाशित छन् ।पहिलो कृति‘मर्म पुराण’ खण्डकाव्य (२०३५) हो भने दोस्रो कृति ‘देखाजायगा’हास्यव्यंग्य (२०३६) हो । तेस्रो कृति ‘गन्तव्य विन्दु’कविता संग्रह (२०६६) हो । उनी साहित्यकार मात्र हैनन् साहित्यिक प्रवद्र्धनको लागि अभियन्ता पनि हुन् । उनी विभिन्न साहित्यिक संस्थाहरुमा संबद्ध छन् । उनी हाल बाणगंगा साहित्य प्रतिष्ठान मोतीपुरका अध्यक्ष हुन् । त्यसरी नै उनी कपिल स्वास्थ्य सेवा केन्द्रका संस्थापक सदस्य, जनज्योति माध्यमिक विद्यालय कपिलवस्तुका अध्यक्ष हुन् । यी लगायत अन्य विभिन्न संस्थाहरुमा सहभागी छन् ।
कविले यो कृति माता र पितालाई समर्पण गरेका छन् । उनले लामो समयदेखिका अन्तःकरणमा उत्पन्न भएका भावोच्छलनहरुको संग्रह हो भनेका छन् । यसमा उनले करिव दुई दर्जन ज्यादाकविताहरु रचेका छन् । यसमा गद्य र पद्य दुबै लयको प्रयोग भएको छ । नेपालीय साहित्यमा अहिले पद्य साहित्यको राम्रो विकास हुन थालेको छ । शास्त्रीय छन्द साहित्यमा पुनः जागरण नै आएको छ । सयौं साधकहरु पद्य साहित्यतिर लहसिएका छन् । उनी गद्यमा भन्दा पद्य कवितामा ज्यादा सफल देखिएकाछन् । विचारलाई छन्दशास्त्रको कठघरामा राखेर कलात्मक रुपमा विचार पस्कन गाह्रो मान्नेहरु रबर छन्दतिर लहसिए पनि पद्य कवितामा जस्तो गद्य कवितामा रसमाधुर्य भर्न सकेको देखिदैन । पद्य कवितामा जुन छटा देखिन्छ, त्यो गद्य कवितामा देखिदैन । गद्य कवितामा विचारहरु ज्यादा सघन रुपमा प्रस्तुत गर्न सकिन्छ भने पद्य कविताका विचार भन्दा सौन्दर्य भर्न सकिन्छ । तर यसको लागि कवि ज्यादै धेरै लाग्नु पर्छ । यो साधनामा भर पर्ने विषय हो ।
कवि नित्यानन्द पाण्डेका ‘गन्तव्य विन्दु’ कृतिमा २७ वटा कविताहरु संग्रहित छन् । पहिलो कविता नेपाल आमाको सन्देश हो । त्यसरी नै उनले प्रतियोगिता, ऐजेरुको लहरो, मेरो पेट छ, नेपाल र नेपालीको गरिमा, टाउको, को हौ तिमी ? नेपाल आमाको चाहना र हाम्रो कर्तव्य, कलमको आत्म कथा, कलमको पुकार, ए कवि हो ! नेपाली जनताको गीत, विद्यार्थी, आतङक, हाम्रा बाबु, तौलिहवा र बुद्ध, अमुक जनमत, चित्तशुद्धि उत्कृष्ट बुद्धि, प्रकृति, पर्यावरण र जीवन, लक्षभेदी हुँदै जाऊ, जुवाको मौसम, गन्तव्य विन्दु, शान्ति मन्त्र, मेरो राष्ट्र र म, अगुल्टोको आत्म कथा, पोके, गौरवशाली नेपाली आदि हुन् । उनका कविताहरु लामा छैनन् । सबै कविताहरु मध्यमकायका छन् । केही केही छोटा पनि छन् ।
उनका कविताहरुले मूलतः मानवतावादको शंखनाद गरेका छन् । प्राकृतिक सौन्दर्य, सामाजिक विषमता, शोषण,अन्याय, जनजागरण, विविधताको पहिचान, राष्ट्रिय एकता, विभेद आदि विषयमा कविताहरुलेखिएका छन् । यसमा विशेषतः आत्मशुद्धिको विषयलाई महत्व दिइएको छ । मानिस आवेगले चल्ने हैन, धीर प्रशान्त बन्नु पर्छ भनिएको छ । यस कृतिमा कविले पतीत व्यक्तिको पावनको लागि भागवतीय सन्देश दिएका छन् । कविताहरुकलात्मक छन् । आवश्यक अनुसार विभिन्न अलङकार, प्रतीक र बिम्बहरुको प्रयोग भएका छ । कतिपय कविताहरु ध्वन्यात्मक र रसात्मक छन् । यदाकदा रमरम व्यङ्ग्यार्थ चेत पनि भेटिन्छ ।
उनको पहिलो कविता नेपाल आमाको सन्देश हो । यो शार्दूलविक्रीडित छन्दमा लेखिएको उत्कृष्ट कविता हो ।यसमा कर्तव्यप्रति सचेत हुँदै सबै जनताहरुले विधिको शासन र वैज्ञानिक चेतनामा ध्यान दिनु पर्छ भनेका छन् । हिमालयको उच्चतासँगै आफ्नो शानको उच्चता बढाउन र मनलाई शैलजस्तो बलियो बनाउन भनिएको छ । यस कवितामा नेपालको महत्व दर्शाउँदै नेपालीहरुलाई असल बन्नका लागि सन्देश दिइएको छ । शास्त्रीय छन्दमा आधुनिक चेत भरिएको छ ।
कवि लेख्छन् —
मेरा सन्तति काखमा लरिवरी, खेल्दै रमाउन् सधै मेरो मूल चरित्र देखि सबले,शिक्षा बढाउन् सधै हेरुन् नेपाल्को उच्च हिमालको गतिविधि, के भन्छ त्यो शैलले त्यस्तै बन्नु बनाउनु हरवरी, त्यै भन्छ नेपालले ।
उनको दोस्रो कविता प्रतियोगिता हो । उनले जीवन एउटा प्रतियोगिता हो । मानिसको आयु परीक्षाको समय हो र जीवनमा देखाउने हरेक प्रस्तुतिहरु परीक्षा हुन् भनेका छन् । यसमा कविको दार्शनिक चेत झल्कन्छ ।
कवि लेख्छन्—
जीवन एउटा प्रतियोगिता हो आयु परीक्षाको समय हो हरेक प्रस्तुति परीक्षा हो ।
उनको ऐजेरुको लहरो कवितामा ऐजेरुलाई शोषकको रुपमा प्रस्तुत गरिएको छ । ऐजेरुजस्ता परजीवी मानिसहरु हाम्रो समाजमा धेरै भेटिन्छन् । भीख, चन्दा र लेबीले जीवन चलाएकाहरु समाजका ऐजेरु हुन् जसले जिन्दगीभर काम गर्दैनन् ।श्रम नगरी अरुको भरमा पालिएका मानिसहरुलाई व्यङ्ग्य गरिएको छ ।
ऐँजेरु बाँच्छ परजीवी लता बनेर संचार नाडीहरुमा बलियो गडेर त्यो वृक्षको रस सबै उ चुसेर खान्छ मर्दा उ मर्छ तर जीवन तत्व लिन्छ ।
नेपाल र नेपालीको गरिमा कवितामा कविले नेपालको गौरव बढाउन नेपालीको शिर उठ्नुपर्छ । नेपालीको शिर उचो शान बनेर चम्कोस् । नेपाली वीर विरङ्गनाहरु एक पटक गोली खान पनि तयार हुनु पर्छ । क्रान्ति बिना शान्ति हुँदैन । हाम्रो अन्तिम उद्देश्य शान्ति नै हो भन्दै सद्भावका लागि लाग्न सबैलाई आव्हान गरेका छन् । उनले क्रान्तिपछि मुलुकको समृद्धिको लागि उठ्नु पर्छ भनेका छन् ।
कवि लेख्छन्—
लर्काई लटरम्म फल्फूलहरु, सम्पन्नता खातिर एकैचोटि जुरुक्क उठ्न जनता हौं देशमा तत्पर ।
‘नेपाल आमाको चाहना र हाम्रो कर्तव्य’ कवितामा कविले नेपालको प्राकृतिक छटाको राम्रो वर्णन गरेका छन् । उनले यस्तो स्वर्गजस्तो सुरम्य धर्ती नेपालीहरुको लागि गौरव हो भन्दै यसको सिर्जनामा सबै लाग्न आव्हान गरेका छन् । कविले क्रान्तिपछि शान्ति र शान्तिप्राप्तिपछि समृद्धिको बाटोमा लाग्न सल्लाह दिएका छन् । उनले आक्रोश भन्दा पनि शान्तिको सन्देश दिएका छन् ।
कवि भन्छन्—
उच्चो पर्वत श्रृङ्खला र छहरा, खोल्सा र डाँडाहरु अग्लो भीर पहाड शुद्ध झरना, पाखा पखेराहरु सेतो उत्तरमा हिमाल ताल झन् मैदान लम्तन्न छ भू श्रृङगार विभूषणादिहरुले, भूषित नेपाल छ ।
कलमको आत्म कथामा कवि उदात्त मानवतावादको पक्षमा छन् । उनको दिल चौडा हुँदै वैश्विक आयतनमा पुगेको छ । उनी निरपेक्ष रुपमा बोल्छन् —
हिन्दु पारसी इस्लाम, बौद्ध क्राइष्ट धर्मको, नगरी भेद लेख्दििन्छु, सारा मानव जातको ।
सोही कवितामा उनी विश्व मानवतावादको यसरी वर्णन गर्न पुगेका छन्—
विश्व हो बाटिका मेरो फूल वास्ना छरी रहून् विश्व वाग बनोस् राम्रो, सारा फूल फुलिरहून् ।
विद्यार्थी कवितामा कविले विद्यार्थीको महत्व दर्शाएका छन् । नेपालमा राजनीतिक दलहरुले विद्यार्थीहरुको आत्म सम्मान र गौरवलाई नामेट पारेर युथ फोर्स, वइसियल, तरुणदल, अखिल फोर्स, आइ.टि आर्मी भन्दै सडकमा उतारेर आपसमा लडाउँदै छन् । विद्यार्थीहरुलाई सिर्जना शोध, र आविष्कारतिर लगाउँदै समृद्धिको ढोका खोल्ने काममा लगाउन पर्ने समयमा आपसमा लडाएर विद्यार्थीको बदनाम गराउन खोजिएको छ भन्ने आशयका साथ कविले विद्यार्थीको मेधा शक्तिको महिमा गाउँदै भन्छन्—
सिङगो प्रकृतिको पाना, पल्टाई पढ्न सक्दछ जानि नसक्नु क्यै छैन, ब्रम्हाण्ड जान्न सक्दछ ।
कवि नित्यानन्द पाण्डेले आतङ्क कवितामा त्यसरी नै परिपक्व बनेर प्रस्तुत भएका छन् । उनी कारण कार्य शृङखलाको नजिक पुगेर के कारणले क्रान्ति हुन्छ र कसरी शान्ति कायम गर्न सकिन्छ भन्दै विचार राख्छन् । उनी यस कवितामा परिपक्व खालका प्रगतिशील द्रष्टा बनेका छन् ।
कवि लेख्छन्—
अरु भोकै छन् आफू अघाएर बोल्छ शान्ति अरु रोइरहेका छन् आफू हाँसेर बोल्छ शान्ति मानिस आफ्नो पेट खोक्रिएर गर्छ क्रान्ति र आतङकको बीउ उब्जेर असमानताको दूरी भित्र फैलिदै जान्छ आतङ्ग ।
अमूक जनमत कविको अर्को उत्कृष्ट कविता हो । यो कविता गुल्मी जिल्लाको तम्घासमा किरण पुस्तकालयमा राष्ट्रिय प्रतियोगितामा प्रथम भएको कविताहो । यसमा भ्रष्टाचार सखाप पार्नु छ भनी बनाएका अड्डाहरु नै भ्रष्टाचारको आहालमा डुबेको यथार्थ बताइएको छ ।
भ्रष्टाचार सखाप पार्नुछ भनि, अड्डाहरु खुल्दछन् उल्टो घूस लिएर पेट उनका, किर्नासरी बन्दछन् जाउँ अन्त रुँदै तथापि उनकै, साँगाहरु मिल्दछन् त्यस्तो कानुनको प्रयोजन छ के, भाषा बनाउ तिमी ।
कविको अर्को कविता‘चित्तशुद्धि उत्कृष्ट बुद्धि’ हो । यस कवितामा उनले प्रवृत्ति र निवृत्तिको विषयमा बताएका छन् । यो उनको दार्शनिक कविता हो । उनले चित्तवृत्तिलाई काबुमा राख्न नसकेर पतीत भएका भ्रष्ट व्यक्तिहरुलाई भागवतीय आदर्श सिकाएर सत्मार्गमा लाग्न बताएका छन् ।
उनी लेख्छन्—
आफ्नो चित्त विकारलाई सबले धोइ पखाल्नु पर्यो आत्मा शुद्ध छ, शुद्ध नै हुन दिए आनन्द मिल्ने थियो हाम्रो चित्त अशुद्ध भै दुःख भयो यो शुद्ध राख्ने गर चोखो निर्मल भावले स्वमनको, मैलो पखाल्ने गर ।
कवि नित्यानन्द पाण्डेका कविताहरु बौद्धिक र दार्शनिक खालका छन् । तर पाठकलाई पढ्न त्यति असहज छैन । भाषा सरल र सहज छ । संस्कृत तत्सम शब्दहरुको बाहुल्य छ । मूलतः शिखरिणी छन्द र शार्दूलविक्रीडितछन्दमा उत्कृष्ट कविताहरु आएका छन् । उनले छन्द भङ्ग हुन नदिन प्रयाश गरेता पनि सिद्धहस्त शास्त्रीय कविको कोटीमा जानको लागि अझै अभ्यासको खाँचो छ । झण्डै सत्तरी वर्षीय आदरणीय उमेरमा उनको काव्यप्रतिको लगाव र निरन्तर साधनालाई हामीले धन्यवाद दिनु पर्छ । उनबाट अझै कलात्मक काव्य कृतिको आशा गर्दछौं ।
(रुपन्देही)