आफ्नै बाल्यकालीन घटना सम्झिन्छु । एकजना साथी कक्षाभरिमै अति जिज्ञासु थिए । अहिले सम्झिन्छु, उनको जिज्ञासाको कुनै अन्त थिएन । एकपछि अर्को रहस्य जान्न उनी अति उत्सुक रहन्थे । मलाई याद छ, एकदिन सामाजिक विषय पढाउने गुरु कक्षाकोठामा हुनुहुन्थ्यो । उहाँ हाम्रा छिमेकी मुलुकहरु भन्ने पाठलाई वर्णन गरिरहनु भएको थियो ।
उहाँले भन्नुभयो– “नानीहरु हाम्रो देशको उत्तरतिर अग्लो हिमालय पर्वत शृङ्खला छ । त्यस उता चीन देश छ । चीन र नेपालको सिमाना त्यही हिमालले छुट्याएको छ । चीन हाम्रो असल छिमेकी देश हो ।”
त्यो साथीले चट्ट उठेर गुरुलाई सोध्यो– “हिमाल पारी चीन रहेछ, चीन पारी चैँ कुन देश छ सर ?”
गुरुले जवाफ दिए–“चीन देखि उत्तरमा मंगोलिया भन्ने देश छ ।”
फेरि साथीले सोध्यो –“मंगोलिया पारी चैँ कुन देश छ सर ?”
गुरुले फेरि जवाफ दिए– “त्यस उता रुस (तत्कालीन सोभियत संघ) छ नानी ?”
उसको जिज्ञासा अझै थामिएन फेरि सोध्यो– “रुस उता कुन देश छ सर ?”
गुरु अकमक्क परे । सायद गुरुलाई पनि थाहा थिएन । नजिक बोलाएर चड्याम्म गाला पड्काए । साथी पनि रनभुल्ल पर्यो । हामी पनि डरायौँ, गुरुको चड्कन खाइने डरले । हामी त मनमा कौतुहल पैदा भएपनि प्रश्न सोध्न डराउँथ्यौ । त्यो समयको शिक्षण परिपाटी नै त्यस्तै खालको थियो । तर, त्यो साथी निडर खालको थियो । कुटाइ खाएरपनि प्रश्न सोध्न छाड्दैनथ्यो । अर्को एकचोटिको घटनापछि मलाई याद छ ।
त्यतिखेर पनि तिनै गुरुको हातबाट चड्कन च्यूरा भेटेको थियो । त्यतिखेर गुरु “नदीहरु” शीर्षकको पाठ पढाउँदै हुनुहुन्थ्यो । गुरुले हामी भुराहरुलाई स्कुल बाहिर वरको गाछीमुनि चौरीमा राखेर पढाइ रहनुभएको थियो ।
स्कुलबाट पारिपट्टि पाखामा सिस्नेरी खोलो बगेको दृश्य देखिन्थ्यो । उसले उठेर गुरुलाई प्रश्न गर्यो । गुरुले उत्तरदिँदै गए–
“ऊ त्यो सिस्नेरी खोला चाहिँ बग्दै कहाँ जान्छ सर ?”
“त्यो खोला तल मार्से खोलामा मिल्छ ।”
“मार्से खोलो चाहिँ बग्दै कहाँ जान्छ सर ?”
“मार्से खोलो तल सुनकोशी नदीमा मिल्छ ।”
“सुनकोशी चाहिँ कहाँ जान्छ सर ?”
“त्यो सप्तकोशीमा मिल्छ ।”
“सप्तकोशी चाहिँ बग्दै कहाँ पुग्छ सर ?”
“त्यो बग्दै गएर गंगामा मिल्छ ।”
“गंगाचाहिँ बग्दै कहाँ जान्छ सर ?”
“त्यो बग्दै गएर सागरमा मिल्छ ।”
“सागर चाहिँ कहाँ जान्छ सर ?”
“सागर महासागरमा मिल्छ ।”
“महासागर चाहिँ कहाँ जान्छ सर ?”
अनि गुरु अकमक्क पर्छन् । नजिकै बोलाएर “यी यहाँ जान्छ !” भन्दै कान समातेर गाला चड्काउँछन् । आज भन्दा चालीस वर्ष अगाडि हामीलाई प्राथमिक कक्षामा पढाउने गुरुहरुको तरिका कहँदैछु । नानीहरुका अथाह जिज्ञासा फुकाउने सामथ्र्य नभएपछि बच्चाहरुलाई चड्कन हानेर, कलिला हातमा सिर्कनो बजारेर चुप राख्न काविल हुन्थे । यस घटनाको चालीस वर्षपछि म तिनै गुरु जस्तै बच्चालाई पढाउने ठाउँमा आइपुगेको छु । अहिले आएर सोच्ता त्यतिखेर मेरो साथीले राखेको जिज्ञासा अनुचितपनि थिएन । अप्रासाङ्गिकपनि थिएन । गुरुले आफ्नो अज्ञानता लुकाउन चड्कन हानेका रहेछन् । आफ्नो असक्षमतालाई ढाकछोप गर्न सिर्कनो हानेर कलिला बच्चालाई चुप राखेका रहेछन् ।
उनले पृथ्वीको भूगोल राम्ररी जानेका भए बच्चाले कुटाइ खानै पर्दैनथ्यो । पृथ्वीको गोलो चित्र कोरेर रुस देखि माथि अर्को मुलुक छैन । पृथ्वीको उत्तरी गोलाद्र्धसम्मै छ रुस । त्यस उता अर्को देश छैन भन्न सक्थे । तर गुरु स्वयम्लाई यो ज्ञान नभएकोले बच्चाको जिज्ञासापनि काँचै रह्यो । उल्टै प्रश्न सोधेकै कारणले पिटाइ खानुपर्यो ।
अर्को प्रश्नमा पनि महासागरको अर्को जाने वा बग्ने ठाउँ छैन । नदीको आखिरी गन्तव्य महासागर हो । त्यसपछि भने यो गर्मी सिजनमा तातिएर वाफ बन्छ । बादल बन्छ । त्यही बादल आकाशमार्गबाट उड्दै उड्दै हाम्रो गाउँघरमा आइपुग्छ र बर्षात् हुन्छ । त्यही वर्षात् फेरि सिस्नेरी खोलाहरु हुँदै बगेर महासागरमा पुग्छ भन्ने जलचक्रको शृङ्खला बताइदिएको भए बच्चाले चड्कन खानुपर्ने थिएन । मलाई लाग्छ गुरुलाई जलचक्रको ज्ञान थिएन । यसको शृङ्खलाबद्ध जानकारी थिएन । गुरु स्वयम्मा अध्ययनको कमी थियो । त्यही कमजोरी ढाक्न उनले चड्कन हाने । आफूलाई थाहा नभएको कुरा सहज रुपमा मलाई अहिले थाहा भएन नानी हो, भोलि म हेरेर सोधेर तिमीहरुलाई बताउँछु है भनेको भएपनि हुने थियो । बच्चासामु आफ्नो आफ्नो अनभिज्ञता जाहेर गर्दा अज्ञानी हुइँने डर थियो । फेरि त्यतिखेरका गुरुहरुमा सर्वज्ञताको भूत चढेको हुन्थ्यो । विद्यार्थी सामु कुनै हालतमा पनि अज्ञानी देखिनु हुँदैन भन्ने मान्यताले घर गरेको थियो ।
अहिलेको भर्चुअल समय र आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा थिएनन् गुरुहरु । अहिले भए त हातमा रहेको मोवाइलमा गुगल सर्च गरेर तुरुन्ताको तुरुन्त बच्चाको जिज्ञासा शान्त गरिदिन्थे होला । अल्प अध्ययनका शिक्षकबाट बच्चालाई पूर्ण ज्ञानको कचौरा पिलाउन सक्ने कुरा पनि भएन । गुरुहरुका अल्पज्ञानको कारण कलिला नानीहरु कठोर दण्डको शिकार हुनुपर्थ्यो । अहिले चालिस वर्षपछि पनि यसखालको दण्ड–विधान, यसखालको अल्पज्ञान हरेक पाठशालामा छल्किरहेको पाउँछु । ज्ञानविज्ञान र सूचना प्रविधिले द्रुत गतिमा फड्को हानीसक्यो । हामी गुरुवर्ग भने अहिले पनि अँध्यारै युगमा छामछाम छुमछुम गरी घस्रिरहेका छौँ ।
बच्चाका अनन्त जिज्ञासाहरुलाई उकेरा लाउने त कुरै छाडौँ; उनीहरुको सहज प्रतिभालाई कुण्ठित गर्ने र उनीहरुका स्वभाविक खुल्दुलीहरु मारिदिने काममा हामी त्यस खालका अल्पज्ञानी गुरु उद्दत छौँ ।
पढाउने शिक्षक स्वयम् असीम ज्ञानको आलोकबाट आपूरित छैन भने नानीहरुका कौतुहलको कहिरन हाल्न सक्तैन । त्यस्तो शिक्षकले न गहन ज्ञान दिनसक्छ, न कलिलो दिमागमा बोध र बुद्धि रोप्न सक्छ । न समझ र विवेक जगाउन सक्छ । पुण्य कार्की उसले त बच्चालाई दिनदिनै शुष्क बनाउँछ । बञ्झर तुल्याउँछ । नानीहरुलाई भय र आतंकको नर्ककुण्डमा फँसाएर कायर बनाउँछ । बच्चाको हृदयमा साहस भर्नुपर्ने हो । निर्भयता रोप्नुपर्ने हो । तर, खालखालका सजाय र कुटाइबाट ऊ भय– भावमा बाँच्ने प्राणी बन्दछ ।
एउटा पाठशालामा घटेको सानो घटना बताउँछु म । घटना सानो छ । तर, यसले सम्प्रेषण गर्ने अर्थ गहिरो छ । गुरुले बच्चाहरुलाई सोधिरहेका थिए–“तिमीहरु मध्ये को को स्वर्ग जान चाहन्छौ हात उठाओ त ।”
सायद गुरुले बच्चाहरुलाई स्वर्ग र नर्कको विषयमा काफी ज्ञान पस्किसकेका थिए । बच्चाको मनास्थितिमा स्वर्ग भनेको कल्पवृक्ष रुख भएको ठाउँ हो । कामधेनु गाईपनि छ स्वर्गमा । उड्ने अप्सराहरुपनि छन् त्यहाँ । जे भन्यो त्यही सुख बर्सिने थलो हो स्वर्ग । नर्क चाहिँ पापी अधर्मी अपराथी जाने ठाउँ हो । यो ठाउँ दुर्गन्ध र दुःखले ढाकिएको हुन्छ । नर्क जाँदा असाध्यै दुःख पाइन्छ । स्वर्ग जाँदा चाहिँ सुख र आनन्द पाइन्छ ।
गुरुको प्रश्नमा एउटा वाहेक सबै बच्चाहरुले हात उठाए । किनभने सबैलाई स्वर्गै जाने चाहना थियो । नर्कमा पाइने कष्टको बारेमा गुरुबाट नानीहरुले भलिभाँती थाहा पाइसकेका थिए । एउटा बच्चाले हातै उठाउन मानेन । गुरु पनि छक्क परे ।
गुरुले अब प्रश्नको चाल बदले र फेरि सोधे–“अब तिमीहरु को को नर्क जान चाहन्छौ ? हात उठाओ ।” यो पाली कुनै बच्चाले पनि हात उठाएन । गुरुलाई लागेको थियो, अगाडि त्यो नानीले हात नउठाएको हुँदा योपालि चाहिँ उठाउँछ होला । आश्चर्य यो पटकपनि उसले हात उठाएन ।
गुरु अव ऊतिर केन्द्रित भए, प्रश्न सोधे– “तेरो चाहना के हो त ? तँैले त स्वर्ग जानेमा पनि हात उठाइनस्, नर्क जानेमा पनि हात उठाइनस् आखिर तँ कहाँ जान चाहन्छस् ।”
बच्चा गुरु सामुन्ने डराइ डराइ बोल्यो– “मेरो मजबुरी छ सर । मेरो बाध्यता छ सर । मेरी आमाले घरबाट हिँड्ने वेलामा भन्नु भएको छ; छुट्टी हुने वित्तिकै सरासरी घर आउनू । दायाँ वायाँ लाग्ने होइन । घरमा काम छ । खेलेर नभुलिनू । सरासरी घर आइनस् भने सिर्कनो भेट्लास् ।”
बच्चाको यस खालको मजबुरी हुन्छ । त्यो मजबुरी बुझ्न गुरुहरु असक्षम छन् । बच्चा कुन समस्यामा तड्पिरहेको हुन्छ ? उसले कुन मनोदशा झेलिरहेको छ । त्यसको एकिन खोजीपनि छैन । बच्चाको समस्या उपर चासोपनि छैन । कुन विवशताले उसलाई गाँजेको छ । कुनै हिसावकिताबै हुन्न ।
स्कुलमा मात्र होइन घरमा पनि बच्चाका कुरा बुझ्ने बाउआमाको अभाव छ । उनीहरुको मनोभाव पढ्ने अभिभावक सीमित संख्यामा छन् । त्यसैले नानीहरु घरमा पनि दण्ड र हिंसाको सिकार बनिरहेका छन् ।
मेरा एकजना साथीले सुनाएको घटना याद आउँछ । एउटा कर्मचारीको घरमा सानो फुचुमुने नानी छ । ऊ उसको सानो छोरो हो । ऊ आरीका स्याउ टोक्तै थालमा थुपार्दै जाँदोछ । उसको बाउ अफिसबाट भोकाएर आइपुग्यो । छोराको पारा देखेर उसका कन्सिरीका रौँ ताते । के सोमत बिनाको नानी रहेछ । विनासित्ती स्याउ जुठो पारेर बिगार गरेको देखेपछि कतै नभाको रिस उठ्यो । उसलाई झम्टेर कुट्न खोज्दा बच्चाले भन्यो–“ बाबा ! बाबा ! हजुरलाई मैले गुलियो गुलियो स्याउ छानेर राखिदिएको छु । अरु स्याउ त खानै नहुने खल्ला छन् । यी स्याउ लिनुस् धेरै मिठा छन् । हजुरलाई खुब भोक लागेको होला खानुस् ।” उसले थालमा छानेर राखेका स्याउ बाबुको हातमा दियो ।
छोराले ठूलै खन्दार गर्यो, यसलाई झापड लाउनु पर्यो भनी उठाएको हातपनि खत्रक्क भुइँमा झार्यो । बच्चाको निर्मल चित्तलाई कति गलत अर्थ लाएछ उसले । बच्चाका कुराले उसको हृदय द्रवित बन्यो । गहभरि आँशु भरिए । बच्चाको निष्कलङ्क मन अलिकतिपनि पढ्न सकेको रहेनछ उसले । बाबुलाई कति ठूलो प्रेम गर्दोरहेछ बच्चाले । हामी बच्चाका सुकोमल भावनालाई गलत किसिमले नजर अन्दाज गर्छौँ । गल्ती नै त्यहीँ भैराखेको छ ।
एकचोटि गाउँमा शिक्षक हुँदाको घटना याद छ, म जुन घरमा बच्चा पढाउन बसेको थिएँ । त्यसदेखि पल्लोघरमा सोनु नामकी चार वर्षकी फुच्चीलाई तिनकी आमाले खुव पिटिन् । बिहान बिहानको समय थियो । घाम झुल्केको पनि थिएन । नानी त्यो दिन अलिक अवेरसम्म सुतिरहेकी थिइन् । चार वर्षको अवोध नानी विहानीको समयमा सपनामा शयर गरिरहेकी थिइन् । सपनामा उनको हातमा एक रंगिन खेलौना थियो । त्यो देखेर एउटा बद्मास केटो खेद्दै आयो । उनको हातबाट त्यो खेलौना छिनी लग्यो । त्यसपछि उनी ठूलो चित्कार गर्दै रुन कराउन थालिन् ।
ओछ्यानबाट त्यसरी रुँदै उठेकोमा घर लिप्तै गरेकी आमालाई खपिनसक्नु रिस उठ्यो ।
“यो अलच्छिनी ! विहानविहानै रुन्छे, न यसलाई कसैले कुटेको छ । न कसैले केही भनेको छ ! पातर्नी !” भन्दै भकाभक थप्पड हान्न थालिन् । बच्ची झन्झन् कहाल्ली कहाल्ली रुन थालिन् । पछि बाउ आएर फुल्याए । र रुनुको कारण सोद्धा त सपनामा कुनै वदमास केटाले उनको खेलौना खोसिदिएर रोएको भेद खुल्यो ।
यसरी बच्चालाई आमाबाबुले पनि अनाहकमा पिटिरहेका छन् । बच्चाका कुरा बुझ्ने मन छैन हामीसित । बच्चाका भावना, इच्छा र सपना पर्गेल्ने बुद्धि छैन हामीसित । बच्चाका कलिला भावलाई हाम्रो बूढो दिमागले हमेसा हातपात गर्दै आएको छ । हामी हमेशा उनीहरु माथि ज्यादति गर्न उद्धत छौं । हाम्रो पाठशाला र हाम्रो सिकाइ शैलीले कतै उनीहरुलाई रुढ, रुक्षता र रकमी शैलीतिर घिसारिरहेको त छैन ? यस प्रश्नले हर्दम डङ्क मारिरहन्छ ।
(उदयपुर)