चिसो ह्वात्तै बढेको थियो । सुकुम्बासी बस्तीमा अग्निज्वाला दन्केको आभास हुन्थ्यो । यता सम्भ्रान्त बस्तीमा उच्च स्थानको छनोटका शब्द गुञ्जिँदै थिए ।
पुतली मुखको श्वासले हात फुक्दै सुकुम्वासी बस्तीबाट हर्कबहादुरकहाँ पुगी । घरभित्र खुबै खैलाबैला थियो । केहीबेर त कोही बाहिर निस्कन्छन् कि भनेर उसले कुरी तर कोही ननिस्केपछि घण्टी बजाई । घण्टीपछि झ्यालमा एक अनुहार देखा प¥यो ।
“ए तँ ! एकाबिहानै कठ्याङ्ग्रिदो चिसोमा किन आएकी ? हामी हुँदैनौँ भनेको होइन ?” ऊ फतफताउँदै तल झरी ।
“नमस्कार हजुर, हेर्नु न आज बिहानै आउनु प¥यो ?” उसले हात फुक्दै भनी ।
“के भयो त्यस्तो । यहाँ हिउँ खेल्न जाने भनेर सबै हतार गर्दै छन् । अहिले जा भोलि भन्लिस् ।” मालिक्नी ढोका ढप्क्याउन लागी ।
“त्यसो नगर्नुस् न मालिक्नी साब, मेरो कालुको त जाडो छेक्ने कपडै भएन । बरु मेरो पारिश्रमिक पाउँ न ? उसलाई एउटा कपडा किनिदिन्छु । छोरो काँपेको देखेर मेरो मनले मानेन हजुर ।”
“छोरालाई हिउँ खेल्नै जान परेन नि !” व्यङ्ग्य गर्दै एक सय निकालेर दिई ।
जबरजस्त थमाइदिएको एक सय पुतलीले कच्याकुचुक पारी । उसको मनले बक्यो, “जाबो सय रुपियाँ लिन यो चिसोमा किन आउँथेँ ? बरु आगोमा सेकाउँथेँ नि । तिम्रा छोराछोरीलाई ताता ताता कपडा लगाएर हिउँ खेल्न जान हुने मेरो छोराले एक धरो तातो कपडा लगाउन श्रमको मूल्य चाहियोभन्दा पनि यो अपमान !” उसले त्यो पैसा ढोकैमा फ्याँकेर फर्की ।
पुतलीको मनमा आँधी चल्यो । ऊ कहिले छोराको अनुहार त कहिले कुच्चिएको सय रुपियाँ हेर्थी । कहिले भोट माग्दाको तस्बिर झलझली सम्झन्थी । यत्तिकैमा अट्टहाससँगै भित्रबाट एक जमात निस्कियो ।
ढोका छेउमा हिउँ पुतली बनेर बसेकी उसले कम्पित छोराको अनुहार सम्झी ।
“पुतली भोलि बिहानै आउन भने नभुलेस् है ।” पाषाण हृदय कुर्लियो ।
अवाक भई, हात फुक्नसमेत छाडेकी हिउँ पुतलीे ती सुटेटबुटेट चर्तिकलाप्रति कटाक्ष गर्दै थुइक्क मात्रै गरी तर शब्दोच्चारण गर्न सकिन ।