ए हजुर आयो आयो आयो
आजै खरिद गर्नु होला
साह्रै राम्रो मीठो कविको पीडा पोखिएको
हजार थान गद्य कविता बजारमा आएको छ ।
कवितासङग्रह देखाउँदै हकर फलाक्दै थियो
मैले पनि केही थान कविता कनि कुथी
लेखेका कारण नव कविको कविताको पुस्तक
खरिद गरेर अध्ययन गरेँ ।
आद्योपान्त पढे लेखिएको थियो
म कवि रे दुनियाँले भनेको
तर मेरो कविता बिक्री नहुँदा
घरमा बा आमाको उपचार गर्न पाएको छैन
सुत्केरी हुन लागेकी श्रीमतीलाई प्रसुती गृह
लैजान नपाउँदा मन खिन्न भएको छ ।
साँझ बिहानको छाक टार्न नदिने यो कविता
मेरा लागि बाँदरको पुच्छर लौरो न हतियार भएको छ
श्रम खर्च गरेर कलमको टुँडो खियाएर लेखेको कविता
घरमा मुसाको गुँडमा परिणत भएको छ ।
कविताको पुस्तक हातमा लिएर बिक्रीका लागि
धेरै ठाउँ भौतारिएँ म पैताला खियाएर
धेरै सडक गल्लीहरू नापेँ, सरकारी अड्डा धाएँ
प्रज्ञा धाएँ, साझा धाएँ, साहित्यका मठ मन्दिरहरू धाएँ
तर मेरो कविता कविहरूकै बजारमा बिक्री भएन ।
उधारो माग्नेहरू धेरै थिए तर मैले भनेँ–
‘म कुकुरलाई मासु पैँचो दिन्नँ
बरु मेरा बिरामी बा आमा र श्रीमती उपचार बिना नै
शरीरमा रोग पालेर भोकै बस्दा हुन्छ भनेँ
म आफ्नो श्रम तिमीलाई उधारो दिन्न ।’
मेरो छुसी जवाफले अनुमानित ग्राहकहरुले
हातमा लिएको कविताको पुस्तक फ्यात्त मिल्काए
र भन्न थाले कविले कविताको व्यापार गर्ने होइन
सबैलाई पढन दिनुपर्छ अनि कविता लेख्ने कवि बन्छ ।
एक ब्यापारीलाई मैले जवाफ दिएँ–
‘तिम्रो पसलको सामान मलाई निःशुल्क देऊ
अनि तिमी असली व्यापारी बन्छौ ।’
ऊ चुइँक्क बोलेन मैले किलकिले समातेपछि
तर म भने बा आमा र श्रीमतीको
उपचार खर्च जो हो गर्न अनि भविष्यका
कर्णधारहरूको भविष्य कोर्न अझै कविता लेखेर
बजारमा बिक्री गरी त्यसबाट भएको आर्जनले
उचार खर्च धान्ने काँचो सपना बोकेर
आफैलाई हाँसोको पात्र बनाएर गिज्याइरहेको छु ।
धन्य म नेपाली कवि न घरको नघाटको ।
(उदयपुर, गाईघाट)