पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन् वा बोलाउँछन्।
दार्जीलिङ निवासी नेपाली मुलका हिन्दीमा नाम भएका “हम जाएगा” ले अंग्रेजी बोल्दा “द कार इज खम्र्यांग खुम्रुङ्ग इन द बासघारी” भन्थे रे। कम्तीमा तीन तीनवटा भाषाका ज्ञान भएका हम जाएगा जस्तै प्रतिभावान ब्यक्ति हुन् मन लागेर पस्पते अचेल निकै वटा भाषाका शब्दहरु प्रयोग गर्न थालेको छ।
बिहानै बुझी नबुझी संस्कृतको श्लोकबाट दिनचर्या सुरु गर्छ। सुन्दर केटीलाई प्रोपोज गर्दा अंग्रेजीमा गर्छ भने त्यही प्रेममा धोका पाएपछि भने उर्दूको सहारा लिन्छ। कसैलाई धक्कु लगाउनु पर्यो भने हिन्दीमा बोल्छ। सपनामा चाहिँ बिपनामा भन्दा बढी के के भाषा बोल्छ बोल्छ। बेलुका भट्टीमा एक दुई ट्वाक लगाई सकेपछि अंग्रेजी बाहेक अरु केही बोल्दैन। गाली गलोज गर्ने बेलामा भने ऊ नेपालीमा नै गर्न रुचाउँछ।
सुन्तलीसँग ‘लव” पर्यो। “म तिमीलाई माया गर्छु” भन्दा अचेल कोही केटीले पनि गम्भिर रुपमा लिदैनन् अर्थात् सही अर्थ बुझ्दैनन्। चलन चल्तीको र आजकालका केटीहरुले बुझ्ने भाषामा “आई लब यु” भनिदियो। सुन्तलीले “आई लब यु टु” भनेर जवाफ दिई। दुई चार महिना मायाको चक्कर चल्दै थियो, सुन्तलीको अर्कै केटासँग बिहे हुने निधो भएछ। सुन्तलीको बिहेको कार्ड हातमा लिएर ऊ एक्लै बन्द कोठामा रोयो। बच्चा हुँदा रुनु पनि भाषा थियो, रोएपछि खानेकुरा वा चाहेको कुरा मिल्थ्यो। अबत रुनु उस्को लागि भाषानै रहेन। मायामा धोका खाएपछि अब ऊ उर्दूको सहारा लिन थाल्यो, “जो दुआ से निकल गया हो। उसे बदुआ मे क्या रखना”।
दिउसो काममा धक्कु लगाउनु पर्यो भने ऊ हिन्दीको इस्तमाल गर्दछ। “धत् बुडबक, हम तो किङ्गमेकर है” ।
त्यही दिन बेलुका अरु दुई जना साथीसँग जांडपानी खान भट्टीतिर लाग्यो। गफ गाफ सुरु भयो नेपालीमा, खुब हसिमजाक भयो। हाँस्नु चाही उसले अन्तरास्ट्रिय भाषा हो भन्ठानेको छ। दुई चार ट्वाक लाएपछि अंग्रेजी फुर्न थाल्यो पस्पतेलाई। साथीहरु पनि टुटे फुटेको अंग्रेजीमा नै कुरा गर्न थाले। सबै नेपालीहरुलाई अलि अलि पिएपछि अंग्रेजी बोल्नु पर्छ भन्ने कुरा सही रहेछ। भट्टीको बाहिर निस्कनासाथ पस्पते एउटा साथीलाई अँगालो हालेर अंग्रेजी छोडेर हिन्दीमा “ए दोस्ती हम नहीं तोड़ेंगे” भन्ने गीत गुन्गुनाउन थाल्यो।
घर पुग्दा फेरी नेपालीमा फर्किनु पर्यो, ढिलो भएकोमा बाउको लाठी खानबाट बच्नुपर्ने भयो। जुक्ति लगाएर “पिउँदिन भन्दा भन्दाभन्दै पिलायो साथीले” भन्ने नेपाली गीत गुन्गुनाउदै घरभित्र गयो। बाउले नेपालीमा गाली गर्न सुरु गरे ‘त बकम्फुसे फेरी पनि त्यही कुकुरको मुत धोकेर आइस, तँलाई कालले लान नसकेको” । यो त साह्रै नराम्रै गाली भयो, अंग्रेजी, हिन्दी अथवा उर्दूमा गाली गरेको भए अलिक राम्रो सुनिन्थ्योकि भनेर मनमनै सोच्यो। आखिर बेस्सरी गाली गर्न त् नेपालीमै ठिक हुने रहेछ, उसले स्वीकार्यो।
आफ्नो कोठामा गएर सुत्यो। सपनामा ‘नि हाउ” भनेर एउटा चाइनिज साथीलाई अभिबादन गर्दै रहेछ। खै किन हो निन्द्रा पनि जुनसुकै भाषामा देखिने रहेछ, ऊ तिन छक पर्यो। हिजो एउटा चाइनिज डबिंग गरेको सिनेमा हेरेर होला।
भोलिपल्ट बिहानै उठेर संस्कृतमा गायत्री मन्त्र जप्न थाल्यो।
ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॥
पुजा सकेर उस्का कान नसुन्ने हजुरबाले फुल र मिठाई दिंदा “सांकेतिक भाषा” प्रयोग गर्यो।
यसरी एकै दिनमा यति धेरैवटा भाषा बोलेको देखेर आफै दङ्ग छ पस्पते। अनि ऊ मनमनै सोच्दछ।
- बेस्सरी गाली गर्न त् नेपलिमानै मज्जा हुँदो रहेछ।
- मायामा अंग्रेजी भाषा अनि धोका खाएपछि उर्दू भाषाको प्रयोग हुने रहेछ।
- रक्सीले टन्न भए पछि फटट अंग्रेजी बोल्ने हिम्मत आँउदो रहेछ।
- बिपनामा भन्दा सपनामा बढी भाषा बोलिन्छ र?
- धाक दिँदा हिन्दी ठिक लाग्ने रहेछ।
- रुनु र हास्नु अन्तरास्ट्रिय भाषा रहेछ।
- सांकेतिक भाषा र यसको महत्व प्रति अगाढ प्रेम हुनुपर्ने रहेछ।
- बुझे पनि नबुझे पनि भजन कृतन त संस्कृतमा नै राम्रो सुनिने रहेछ।
(नर्थ क्यारोलिना, अमेरिका)