दाङ, २१ पुस ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले हरेक वर्ष प्रदान गर्दै आइरहेको यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार यस वर्ष २०७७ र २०७८ को पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार तथा पुरस्कार छनौट समितिका संयोजक डा.लोकराज पराजुलीको अध्यक्षतामा मिति २०७८ पुस १९ गते घोराहीमा बसेको पुरस्कार छनौट समितिको बैठकबाट २०७७ का लागि डा.गोबिन्द आचार्य र २०७८ का लागि अर्जुन मिलन (डा.भीमार्जुन आचार्य) लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कृत प्रतिभा छनौट समितिका सदस्यहरूमा सोही पुरस्कारबाट सम्मानित भई सक्नु भएका विश्व कीर्तीमानी संङ्गीतकार सन्तोष श्रेष्ठ र परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्मा सदस्य रहेको तीन सदस्यीय प्रतिभा छनौट समिति रहेको थियो ।
सो पुरस्कार समाजसेवी मनोज बुढाथोकीले आफ्नो बुवा स्व.यज्ञबहादुर बुढाथोकीको स्मृतिमा स्थापना गर्नु भएको हो । यस अगाडि यो पुरस्कार बाट विश्व कीर्तीमानी संङ्गीतकार सन्तोष श्रेष्ठ, गायिका चन्द्रकला शाह, महाकाव्यकार बुनु लामिछाने, गीतकार प्रकाश केसी सम्मानित एवं पुरस्कृत भइसक्नु भएको छ ।
पुरस्कार राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको बार्षिक उत्सवकाे अवसरमा कार्यक्रम आयोजना गरी प्रदान गरिने राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरले जानकारी दिनु भएको छ ।