केही थान,
युद्धका कविता बोकेर
रात छिप्पिसकेपछि
मेरो घरमा आएको थियो ऊ ।
धेरै समय बितेको छैन
क्रान्तिको गीत बोकेर
बेसीबाट उकालो चढी
मेरो घरमा आएको थियो ऊ।
कति न समय बितेको छ र ?
झुपडीका कथाहरू बोकेर
भञ्ज्याङ छिचोल्दै
मेरो घरमा आएको थियो ऊ।
आज पनि सम्झन्छु
हाम्रो गाउँका
प्रधान र मुखियाको घर छलेर
दिन ढल्केपछि
मेरो घरमा आएको थियो ऊ ।
मेरो घरमा
आवतजावत गर्दै गर्दा
एकदिन उसले भन्यो
यो राज्य ब्यबस्था फेर्न
बन्दुक बोक्नुपर्छ
र
सर्वहारा बर्गको निम्ति
यो देशमा आँधी ल्याउनु पर्छ ।
उसको प्रत्येक
शब्द-शब्दमा डुब्दै जाँदा
उसको अनुहारमा
सत्यता झल्किएको देखेर
एक साँझ म ऊसँग
संसार बदल्न मेरो घरबाट
बन्दुक बोक्न निस्किएँ ।
करिब डेढ दशकपछि
लड्दा-लड्दै
एकदिन बन्दुक बिसाएँ
किनकि,
उसले भन्यो
क्रान्तिको आबश्यकता यही हो ।
खासै समय नै
बितेको के छ र ?
करिब दुई दशक भन्दा
अलिकति पर पुगेको त हो
अस्ति उसले भन्दै थियो
क्रान्ति जारी छ ।
युग बदल्छु भन्दै
निस्किएको म
आजसम्म पनि
घर फर्किएको छैन
किनकि
क्रान्ति जारी छ ।
(घोराही, दाङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।