केही थान, युद्धका कविता बोकेर रात छिप्पिसकेपछि मेरो घरमा आएको थियो ऊ । धेरै समय बितेको छैन क्रान्तिको गीत बोकेर बेसीबाट उकालो चढी मेरो घरमा आएको थियो ऊ। कति न समय बितेको छ र ? झुपडीका कथाहरू बोकेर भञ्ज्याङ छिचोल्दै मेरो घरमा आएको थियो ऊ। आज पनि सम्झन्छु हाम्रो गाउँका प्रधान र मुखियाको घर छलेर दिन ढल्केपछि मेरो घरमा आएको थियो ऊ । मेरो घरमा आवतजावत गर्दै गर्दा एकदिन उसले भन्यो यो राज्य ब्यबस्था फेर्न बन्दुक बोक्नुपर्छ र सर्वहारा बर्गको निम्ति यो देशमा आँधी ल्याउनु पर्छ । उसको प्रत्येक शब्द-शब्दमा डुब्दै जाँदा उसको अनुहारमा सत्यता झल्किएको देखेर एक साँझ म ऊसँग संसार बदल्न मेरो घरबाट बन्दुक बोक्न निस्किएँ । करिब डेढ दशकपछि लड्दा-लड्दै एकदिन बन्दुक बिसाएँ किनकि, उसले भन्यो क्रान्तिको आबश्यकता यही हो । खासै समय नै बितेको के छ र ? करिब दुई दशक भन्दा अलिकति पर पुगेको त हो अस्ति उसले भन्दै थियो क्रान्ति जारी छ । युग बदल्छु भन्दै निस्किएको म आजसम्म पनि घर फर्किएको छैन किनकि क्रान्ति जारी छ । (घोराही, दाङ)