पैसा न सैसा टिकि ट्याँसट्याँस भन्ने त गर्थे तर दुख जेलोले सदरमुकाममा घडेरी किनेर घर बनाउन भने हम्मेहम्मे पर्ने रहेछ । बैंकले पनि सजिलै नपत्याई दिने, सरकारले सर्टिफिकेट राखेर ऋण दिने त भन्थ्यो तर ए मेरी बास्सै यो चाहिँ खास्सै भेट्टाउनु त चन्द्रमामा मानिसले बायुयान उडाए जस्तो पो रहेछ । त्यसैले घर बनाउन भनेर मिटर ब्याजका साहुसँगको भर पर्ने भैयो ।
पुलिस थाहा नपाउने गरी गरेको कागज नै हाम्रो लागि आस्थाको केन्द्र थियो । मिटर ब्याजका साहुले जुँगामा ताउ लगाउँदै व्याजको भाउ मलाई सुनाए । आखिर साथीभाइलाई सरसापट दिएको रकम फिर्ता भैजाला र मिटर व्याजको पैसालाई प्याजझैं सानो बनाएर तिरुँला भन्ने मनसाय थियो । तर कुकुरलाई हड्डी पैचो दिनु र साथीभाइलाई पैसो दिनु उस्तै रहेछ बाबै । पहिले चाहिन्जेल पाउ मोल्न आउनेहरु आजकाल पैसा पाएपछि तिर्नु पर्ने हुन्छ भनेर होला ढाड फर्काएर पो हिँड्छन् बा … !
एक, दुई, तीन हुँदै छ, छ महिना बितिसक्यो, आफन्तले पैसा फिर्ता नै गर्दैनन त ! आफूलाई रिसको ज्वरोले टाइफाइड नै बनाइसकेको थियो, सायद रिसको ज्वरो नाप्ने हो भने मेरो रिसले दुर्वासा ऋषिलाई नै चुनौती दिने हुन्थ्यो होला । उता मिटर ब्याजका साहुले घर नै धाउन थाले । ओहो …. उनका आउरे बाउरे धुपाउरेले पनि निकै पो दिन थाले पो त । दिन्का दिन फोन नै आउन थाल्यो । एक दिन हैन, दुई दिन हैन दिन्का दिन फोन आउन थालेपछि मेरो स्वाभिमानले माटो खाइसकेको थियो । आफन्त भनेका पनि मरेका स्यालझैं भै दिँदा आफू निरीह बनिने रहेछ । अब घरखेत नै मिटर ब्याजका साहुलाई कौडीको भाउमा दाउ लगाउन पर्नेबाहेक अरु बिकल्प नै रहेन । मिटर व्याजको पैसा तिर्न हम्मेहम्मे परेको बेला मिटर व्याज दिने धम्मे साहुले घरैमा गुण्डा पठाए पछि मेरो घर मेरो रहेन ।
मिटर व्याजका साहुले लुटेपछि आखिर करोडबाट रोडपतिमा झर्ने म नै थिएँ, उनी भने जुँगामा ताउ लगाएर छाती फर्काएर हिँड्थे बजारभरि । एक दिन उनको पेट्रोलपम्प नजिक गएको बेला यौटा रातो कार पनि रोकियो, कसैले मलाई भन्यो— देख्नु भो, मिटर व्याजको कारण अत्यन्त सस्तो मूल्यमा त्यो रातो कार हाम्रा हाकिमले उछिट्याए नि । मिटर ब्याज पनि निकै फाइदा बनेर आयो हाम्रो साहुबालाई ….।
घरखेत साहुलाई बुझाएपछि जीवन शर्माले गीत गाएझैं …. पहाडको बुकुरो, छेउमा मेरो घर, त्यै नि साहुले लग्दियो, छैन मलाई अब केही को डर …. । गीत र जीवन फरक थियो । मानिस हुनुको नाताले दुखिया कर्म लिएर नै बाँच्नु थियो । बिस्तारै बजारको खोला नजिक मैले छाप्रो हालेँ, अरु हरु पनि थपिदैँ गए । एक बर्षमा चालिस पचास जना मानिसको झुप्राहरु त्यो टोलमा बन्न पुगे । अनि हाम्रो गाउँलाई अरुले सुकुम्बासी बस्ती भनेर भन्दा हाम्रो स्वाभिमानलाई धक्का लागेको महसुस भयो, त्यसैले तिनै चालिस पचास घरको संयुक्त भेला बसियो । सबैको पीडा उही नै थियो । तिनै हुने खाने धनाड्यले हामीलाई सडक छापे बनाएका थिए । उक्त भेलाले उक्त बस्तीको नाम सुकुम्बासी बस्ती नभै— मिटर व्याजी बस्ती राखियो ।
सुन्नुस् त, के यो नाम सुहाउँदो छ ? तपाईको गाउँठाउँमा यस्ता बस्ती बस्ने सम्भावना भए हाम्रो बस्तीमा नै पठाइदिनुस् ल किनकि संख्या बढाएर संगठन दरिलो पार्नु छ मिटर व्याजी बस्तीमा । तारेमाम् !
(लमजुङ)