काठमाडौं ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि ‘क्रिसमस डे’ मनाइँदै छ । येशु ख्रीष्टको जन्म आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भएकी कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसी दिएको थिए भन्छन् क्रिश्चियनहरु । ती खुसीमा मुक्ति, प्रेम र शान्ति हुन् । क्रिश्चियन समुदायले आजको दिनलाई यी तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गर्न आएकोले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकोले शान्ति दिवस र मुक्ति दिन आएकोले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको हो । विश्वमा परापूर्वकालदेखि नै यो पर्व मनाउने गरिएको भएपनि नेपालमा भने विसं २०६३ पछि महोत्सवका रूपमा मनाउन थालिएको हो ।
हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको नेपाल ख्रिष्टियन महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव, २०७८ आयोजना गरिएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि तथा मानव अधिकारवादीलगायतको उपस्थिति रहने महासङ्घका अध्यक्ष गहतराजले बताए ।
पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । गत वर्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो । यस वर्ष भने पर्यटक आउने क्रम शुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।