काठमाडौं ।
किारत समुदायले आफ्नो ठूलो पर्व उधौली आज धुमधामसँग मनाउँदै छन् । प्रकृतिपूजक मानिने आदिवासी किराँत समुदायले हर्षाेल्लासका हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन यो पर्व मनाउँछन् ।
किराती मान्यता अनुसार आजदेखि हिउँद शुरु भयो । हिउँद शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुङ्गी बेँसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा यो पर्वलाई लिइन्छ । त्यसैले यो पर्व मौसमी सूचना दिने सूचक पर्व पनि हो । साथै अन्नबाली भित्र्र्याइएको खुशीयालीमा पनि यो पर्व मनाइन्छ ।
वर्षभरि दुःख गरी उब्जाएको अन्नवाली इष्टदेवलाई चढाएर खुशीयालीपूर्वक यो पर्व मनाउने परम्परा रहेको छ । आदिवासी किरात समुदायभित्र पर्ने मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा लगायतका जातिले आ–आफ्नै संस्कार अनुसार यो पर्व मनाउँछन् ।
यो पर्वलाई खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) र नाग देवतालाई धन्यवाद दिने पर्वका रुपमा पनि लिइने गरिन्छ । साथै पितृ र प्रकृतिलाई सम्मान गर्ने पर्वका रूपमा पनि यो पर्व मनाइन्छ ।
लिम्बू समुदायले भने यो पर्वलाई चासोक तङ्नामका रुपमा मनाउने गर्छन् । चासोकको अवसरमा लिम्बू समुदायका युवायुवतीहरु च्याबरुङ बजाएर पालाम गाउदै धान नाच्ने गर्दछन् ।
यो पर्व १५ दिनसम्म मनाउने गरिन्छ । यो समयमा विभिन्न गाउँका गाउँलेहरु मिलेर ढोलझ्याम्टा बजाउँदै साकेला नाच नाच्दै रमाइलोसँग यो चाड मान्ने गर्दछन् । यस नाचलाई चण्डी नाच पनि भन्ने गरिएको छ ।
काठमाडौंमा आजकै दिन टुडिखेलमा जम्मा भएर किरात समुदायले हर्षोल्सासका साथ यो पर्व मनाउँछन् ।