म अचेलभरि ताजा विचारको खोजीमा छु । ताजा विचारले मलाई हमेशा तरुनो बनाउँछ र यसले अङ्ग–अङ्गमा स्फूर्ति उमार्छ । बजार नियाल्छु; कोही ताजा सागसाब्जीको खोजीमा छन् । कोही ताजा फलफूलको खोजीमा छन् । कोही ताजा समोसा र जेरीपुरीको खोजीमा छन् । कोही ताजा दूध खोज्दै डेरीतिर लागिरहेका छन् । कोही ताजा माछाको खोजीमा माछा–बजार चहारिरहेछन् ।
शरीरको लागि खाने, पिउने र सेवन गर्ने ताजा चिजविज खोजी चलिरहेको बेलामा दिमागमा चाहिँ ताजा सोच, ताजा विचार र ताजा चिन्तनको आवश्यकता होला कि नहोला ? मनमनै गम खान्छु । ताजा–ताजा उपभोग्य पदार्थको लागि बजार चहारिरहेका अनगिन्ति मानिसहरुको हुलमा ताजा विचारको खोजमा तड्पिएका मानिस कति होलान ? कि मानिसलाई ताजा सागसब्जी, दूध, माछामासु र ताजा खाद्य पदार्थ भएपुग्छ ? विचारचाहिँ जति नै पुरानो सडेगलेको बासी भएपनि काम चल्छ ? एक हिसावले विचार गर्दा बासी विचार बोकेरपनि मान्छे मजाले जिवितै रहन सक्दोरहेछ । त्यसैले त शरीरमा नयाँ नयाँ लुगाकपडाको परिधान पहिरेर पनि मगजमा बासी विचार राखेर जीवनको रथ गुडाइरहेको हुन्छ मानिस ।
खाने, लाउने र पिउने चिजमा जसरी मानिस ताजा चिजको खोजी गर्छ, त्यसरी नै जीवनको लागि ताजा विचार र ताजा भाव–तंरगको आवश्यकता हुन्छ भन्ने कुरा कमै मानिसले महसुस गर्दछन् । त्यसैले धेरै मानिस ताजा विचारको खोजीमा छैनन् । ताजा भाव–तरंग हृदयमा जड्नु छ भन्ने कुरा अलिकतिपनि महसुस गर्दैनन् । आखिर मास्तिष्कमा गन्धे विचार बोकेर पनि मानिसले सास फेरिरहेको हुन्छ, दुईखुट्टा टेकेर ठमठम्ती हिँडिरहेको हुन्छ । पुङमाङ पत्रु विचार बोकेरपनि मुटुको ढुकढुकी चलिरहेको छ । धमनीहरुमा रक्तसंचार उसैगरी बगिरहेको छ । अनि किन आवश्यक छ उसलाई ताजा विचार ग्रहण गर्न ।
मेरो विचारमा बासी खान र बासी विचारका वीच केही समानता छन् । ती समान विशेषताको कारणले पनि म बासी विचारप्रति नफरत हुने गर्छु । बासी खानामा व्याक्टेरियाको व्याप्ती हुन्छ । जसले खानालाई सडाउँदै लान्छ । कुहाउँदै लान्छ र बासी खाना ठुँस्स गनाउँछ । बासी विचार बोक्ने मानिसपनि बासी खानाझैँ ठुँस्स गनाउँछ । बासी विचारमा पनि पुरातन जीवाणु र विषाणुको प्रकोपले मानिसलाई ठुँस्स गनाउने बनाएको हुन्छ । उसको आचारविचार, सोँच, चिन्तन र व्यवहारमा बासी विचार गनाउँने गर्छ ।
समाजको सतत परिवर्तन नयाँ विचारले पुरानोलाई विस्थापित गरेर भैआएको छ । संकीर्ण विचार र सोचलाई फराकिलो विचारले संकीर्ण जतेपछि समाजको दृष्टिकोणपनि फराकिलो बन्दै जान्छ । क्षुद्र सोचलाई विराट सोचले विस्थापन गरेपछि समाजको संकीर्णता हट्तै जान्छ । पुरातन चिन्तन माथि आधुनिक चिन्तनको विजय भएपछि देश अधुनातन बाटोमा अग्रसर बन्दै जान्छ ।
ताजा विचारले मलाई हमेशा तरोताज बनाउने भएकाले पनि म ताजा विचारको पक्षपाती हुँ । ताजा विचारको अनुयायी हुँ । ताजा विचारको समर्थक हुँ । शितका थोपा मलाई औधी मनपर्छ यसर्थ कि यसमा ताजापन छ । यति ताजा र क्षणभङ्गुर छन् कि केही मिनेटको घामको तापले यी थोपाहरु वाष्पिभूत भई उड्नेछन् । र, पनि म यी शितका थोपाप्रति सम्मोहित छु किनकि यी थोपा ताजा छन् । भलै हावाको सानो कम्पनले यिनको आयूरेखा पातबाट चुँडिन सक्तछ । तर पनि यिनको आतिशय आकर्षणबाट म विरत हुन सक्तिनँ ।
फुचुमुने कलिला नानीहरुमा पनि ताजगीको एक आभा देख्छु । बच्चामा व्यष्टित ताजापनले मेरो हृदय विमोहित बन्ने गर्छ । जसै मान्छेले मृदुल बालापन गुमाउँछ तव उसको हृदयबाट, उसको आँखाबाट ताजापन ओइलाई झर्छ । साजीरुपको बालक प्रौढताको सिँढी उक्ँिलदा नउक्ँिलदै बासी मानिसमा अनुदित भैसक्छ ।
एक नयाँ विचारका पक्षधर अगुवाले भर्खरै गीता पुजे । बाबुले पुजेको हो, बाजेले पुजेको हो, तीनपुस्ता अघिदेखि आफ्ना पितृले धानी आएको विरासत जोगाउने संकल्प गरे । फलस्वरुप विहान विहान गिताको पोस्तकको पूजाआजा गरी ठाडो चन्दन लाएरमात्र खाना खान थाले । वकालत त उनी ताजा विचारको गरिआएका हुन् । तर, पूर्वजको अनुदान स्वरुप आएको बासी विचारले उनलाई वशिभूत गरिदियो । गीता पढ्नु त्यसको भाव र अर्थ ग्रहण गर्नु नराम्रो कुरा होइन । गीतादर्शनको गुदी कुरा थाहा पाउनु नजाति कुरा होइन । तर, गीताको सारभूत कुरा नसमाती बाउबाजेले पूजन गरेका थिए भनेर धुप, दीप, चाँदन, अक्षता, फूल, प्रसाद र जल आचमन गरी पोस्तक पुज्नु भन्दा ठूलो विडम्वना के हुन सक्ला ? यस भन्दा ठूलो परम्पराको भद्दा नक्कल के होला र ? त्योपनि कथित नयाँ विचारका अगुवा अभियन्ताबाट ।
नयाँ र ताजा विचारको पक्षपाती मनुवापनि गुमसुम गुमसुम कसरी बासी विचारको प्रकोपमा बेरिँदोरहेछ, नजरअन्दाज लगाउँछु । मानौँ पाँच हजार वर्ष अगाडि कसैले पोस्तक पूजनको परम्परा थालनी ग¥यो अरे । अहिले आएर त्यसकै सिको गरी बासी विचारको दास बन्नु शोभनीय चिज लगेन मलाई । गीतापूजनको बास्तविक अर्थ त यसको भावलाई आत्मसात गर्नुमा होला । त्यसको सार–शिक्षालाई जीवनमा, व्यवहारमा उतार्नुमा होला । पुज्नु त पुज्नु साँच्चै चाँदन फूलले पुज्न थाल्यो त्यसको मर्म ग्रहण गर्ने कुरा भने वीस हात परै छोडियो ।
आफूलाई अति आधुनिक भन्ने, आफूलाई गतिशील प्रगतिशील ठान्ने मानिसपनि तरह तरहका बासी विचारको दलदलमा फँसेको दृश्यले हृदयमा करुणा होइन दयाको भाव जागेर आउँछ । आफ्नो जीवनका समस्याहरुको हल गर्न जव अरुले बनाइदिएका सूत्रहरुमा फँसिन्छ र त्यसै सूत्रको कैदी बनिन्छ । तब मान्छे बासी मान्छे हुन थाल्दछ ।
कसैको सूत्रमा बाँधिएर जीवनको पूर्ण समाधान किमार्थ मिल्दैन भन्ने मेरो विश्वास हो । अरुले निर्माण गारिदिएका सूत्रले हमेशा बासी विचारको उल्झनमा खसाउने गर्दछ । कसैले कुनै जमानामा, कुनै खास सन्दर्भमा मनन गरेको सत्य, अनुभूत गरेको यथार्थ चीरकालसम्म उहीका उही रुपमा रहिरहन्छ भन्नु एक किसिमको अन्धविश्वासै हो । एक किसिमको रुढिवादै हो ।
कुनै खास समय सन्दर्भमा बनेको सूत्र र सिद्धान्तले सधैँभरि सान्दर्भिक रहिरहन्छ भन्ने ठान्नु घोर कुपमण्डूकता ठानेको छु ।
मानिस थुनामा परेर मात्रै कैदी हुँदैन । बासी सडेगलेका विचारले पनि मान्छेलाई बन्दी बनाइ राखेको हुन्छ । पुरातन संस्कार संस्कृतिको घोर नारकीय पक्षको कैदखानामा फँसेको हुन्छ । कसैलाई बासी विचारले कैदी बनाएको छ । कसैलाई विदु्रप बासनाले कैदी बनाएको छ । कोही आदतका कैदी छन् । कोही मादकका कैदी छन् ।
कुपमण्डूक चेतनाले चित्तमा बासी विचार भर्दछ । यसले मस्तिष्कमा ताजा विचारको सञ्चरण हुन दिन्न । बासी विचारले सदैव साजी विचारलाई जरैबाट निषेध गर्दछ । यसले जीवनलाई गतिशील तत्वको रुपमा बुझ्न इन्कार गर्दछ । बासी विचार र सोचले जीवनलाई जड बनाउँछ । जडतामा फँसेको व्यक्तिले जीवन र जगत्लाई गतिशील आयामबाट हेर्न सक्तैन । ऊ एक रुढताको रुमलोमा बेरिन थाल्दछ ।
उसका निम्ति बासी विचार पूर्वजहरुको पैतृक अनुदान बन्दछ । ऊ बासी विचारकै विरासत थाम्नु परम् कर्तव्य ठान्दछ । बासी विचार रुपमा अप्रगतिशीलपनि हुनसक्छ । प्रगतिशील पनि हुनसक्छ ।
प्रगतिशीलताको आवरणमा बासी विचार बोकी हिँड्नेको जमातपनि देख्छु म । घरमा बाजेले गीताको पुस्तक पुजेझैँ आफ्नो विचार–प्रणेताको पुस्तकका लाइनवाई लाइन कण्ठ गरेर त्यस भन्दा अलिकति पनि यताउती गर्न नमान्ने जडसूत्रीहरु पनि बासी विचारका वाहक ठानेको छु ।
समयको रफ्तार कहाँदेखि कहाँ पुगिसक्यो । त्यसको प्रवाहलाई स्पर्श गर्न नसक्ने पुरानै पुस्तकको पन्तुरो खोलेर अहिलेको समस्या हल गर्न खोज्नेको चिन्तन बासी विचारकै परिपाकमा टाँसिइबसेको हुन्छ ।
चाहे कृष्णको गीता पुजोस्, चाहे कार्लमाक्र्सको पुस्तक पुजोस्, त्यसमा कुनै भिन्नता हुन्न । विचारहरु समयको गतिशील प्रवाहमा परिमार्जित हुँदै जान्छन् । विचारहरु समय सन्दर्भ अनुसार सापेक्षित तवरबाट विकसित बनेका हुन्छन् ।
विचारहरु समयको आवश्यकताले परिष्कृत र उन्नत बन्दै जान्छन् । बासी विचारका बाहक मनुष्य गण परिष्कृतिलाई स्वीकृति दिन्नन् । मानौँ विचारको परिमार्जन र समृद्धि उनीको रुचिको विषय नै होइन । सूत्रमा सोच्ने, सूत्रमा बोल्ने र सूत्रमा हिँड्नेले नयाँ विचारको नयाँ गोरेटो कोर्नै सक्तैन ।
आजका समस्याको हल गर्न आजकै ताजा विचार चाहिन्छ । आजकै ताजा चिन्तन र ताजा सोच चाहिन्छ । यसका लागि साजी अनुहारका अभियन्ताहरुको दरकार छ । तर, नेपाली राजनीतिमा हेर्छु, यहाँ त सदावहार उनै बासी अनुहारको परिव्याप्ती छ । यी बासी अनुहारले मान्छेको मनलाई ऐँठन गर्छ । छयालीस सत्चालिस सालतिर म अठार वीस वर्षको लक्का नौजवान थिएँ । त्यतिखेर रेडियोमा सुनेका नेताका आवाजै अहिलेपनि अडियो मिडियाहरुमा सुनिरहेको छु । त्यतिखेर टेलिभिजनमा देखिएका नेताहरु नै अहिलेपनि काँचका पर्दामा प्रवचन छाँटिरहेछन् । तीस वर्षदेखि लगातार यिनै बासी अनुहारलाई राष्ट्रले व्यहोरिहेको छ । त्यतिखेरको बीस वर्षको म आफैँ पचास वर्षको भैसकेँ । सो समयमा जुँघाका रेखीमात्र कोरिएका थिए मेरा ओठमाथि । तिनै जुँघा अहिले तीलचामले भएर फुली सके ।
देशलाई सचेत नजरले हेरेको तीसवर्ष नाघिसक्यो । समाजको दुरावस्था यथावत छ । तीसवर्षको समय छोटो समय होइन, निकै लामो समय हो । कुनैपनि क्षेत्रले किन फड्को हानेर समृद्धिमा जान सकेन ? घोत्लिँदा उनै बासी अनुहारकै रजगज चलिरहेको छ निरन्तर ।
बनमा बूढा पुराना गाछी ढलेर त्यो ठाउँमा नयाँ बोट विरुवाले आकार ग्रहण गरिसक्यो । तर, नेपाली राजनीतिको अरण्य सागरमा बूढाहरु विस्थापन हुने कुनै छेकछन्द छैन । टि.भि.मा ती बूढा नेतागणको कुरा सुन्छु तीसवर्ष अघि कै बासी कुराको रटान छ मुखमा । समय र समाजको चक्र कहाँदेखि कहाँ पुगिसक्यो ? बासी नेताहरु बासी विचारकै ट्याउँ ट्याउँ फलाको हालिरहेका छन् । के नयाँ विचारका पक्षपाति उनौ अव्वल तन्नेरीहरुको कुनै गुन्जाइस छैन यस देशमा ? अदम्य युवा जोशले परिवर्तनको रथ हाँक्न पाउन्नन् तिनले ? रुपरेखा हेर्दा राम्रो छाँटकाँट देखिन्न ।
हरेक पार्टीमा हेर्छु घाट जान हिर्किटी बनेका बृद्धहरुले देशका शासन, आशन, भाषण छोडेका छैनन् । बरु मृत्यु स्वीकार छ, पदत्याग गर्न तयार छैनन् । मानाँै पद र कुर्सी उनीहरुको निम्ति संजिवनी बुटी हो, यो वेगर त उनीहरुको सासै पो गैहाल्छ कि ? साजी विचारका नौजवान तन्नेरीलाई माथि जान निषेध गरिएको छ । बासी विचारका बूढाखाडाको नजरमा साजी विचार बोक्ने युवाहरु आँखाका कसिंगर तुल्य बनेका छन् । ताजा विचारका तरुणी तन्नेरीहरुलाई हमेशा निषेध गरिएको दृश्य देख्ता बूढो गोरुले गाई ओगटेको कथा स्मरण हुन्छ ।
कुनै नेता पार्टीको आजीवन अध्यक्ष बनेको छ । कुनै आजीवन महासचिव र महामन्त्री हुने धुनमा दौडेको छ । कुनै वीस वर्षदेखि, कुनै पच्चीस बर्षदेखि, कुनै तीस वर्षदेखि निरन्तर पार्टी सत्ताको हाइकमाण्डमा छ । ऊ उमेर र स्वास्थ्यले गलित भैसकेको छ । चिन्तन र चेतना नव नव ज्ञानले सन्दर्भहीन भैसकेको छ । इतिहासको कुनै कालखण्डमा ऊ उपयुक्त पात्र थियो होला । हिजोको खास सन्दर्भमा ऊ आवश्यक व्यक्ति थियो होला । अतीतमा उसको औचित्य ठीक हुनसक्तछ । हिजो उचित देखिएको मान्छे सदाकाल उचित हुन्छ भन्नु गलत हो । अतीतमा सान्दर्भिक भएको व्यक्ति जीवनपर्यन्त सान्दर्भिक हुन्छ भन्ने चिन्तन नै बासी चिन्तन हो । यो विचार नै बासी विचार हो । एकचोटिको योग्य पात्र सदावहार योग्य हुन्छ भन्ने सोच नै जडवादी सोच हो ।
समयको गतिशील प्रवाहमा बस्तुगत परिवेश एउटै विन्दुमा अडिएर बस्तैन । यो नित्य निरन्तर बदलिरहन्छ । परिवेशमा फेरवदल आइरहन्छ । यसक्रममा पदार्थमात्र फेरिन्न, पात्रपनि फेरिन्छ । चरित्रपनि फेरिन्छ । पुरानो पात्रले विराम लिन्छ । बृद्ध व्यक्तिहरु विश्राम लिन्छन् । नयाँ युगको नेतृत्व हाँक्न नयाँ पुस्ता वलशाली भएर आइरहेको हुन्छ । अग्रगामी विचारका वाहकहरु वर्तमानको नेतृत्व समाल्न उत्सुक बनिरहेका हुन्छन् । तर, विडम्वना पुरानाले विराम लिने परिपाटी छैन यहाँ । अव पुग्यो हाम्रो पुस्तालाई, अव हामीले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने सहज ज्ञानको उदय पुरानो नेतृत्व गणमा आएको थाहा छैन ।
नेतृत्वको हस्तान्तरण नयाँ पुस्तालाई सुम्पिएर आफू सहज विश्रान्तिमा जाँदा आफू अझ बढी सम्मानित हुइन्छ भन्ने ज्ञानै आएको छैन । त्यो ज्ञान कसरी आउला, कहिले आउला ? त्यो ज्ञान नआउन्जेल बासी मान्छे कै गनगन गुनासो देशले सुनिरहनुपर्छ ।
परिवर्तनको निम्ति हिजो आफूले गरेको त्याग र वलिदानको मूल्य उठाउनसम्म उठाइसके । उनीहरुले अव देशबाट लिन केही वाँकी छैन । कथति त्याग र योगदानको व्याज पाई पाई हिसाव गरेर असुलिसकेका छन् । एउटै बासी अनुहार दुईचोटी तीन चोटी हुँदाहुँदा दश चोटिसम्म मन्त्री बनेको छ । खाएको छ, डकारेको छ । राष्ट्रै गनाउने गरी पादेको छ । छादेको छ । आलिशान महल मारुती के जोड्ने जोडिसकेको छ । सातपुस्ताले खाइ नसक्ने गरी थुपारेको छ । हिजो थोत्रे चट्टी टेक्नेको चर्तिकला देखेर दुनियाँ उदेक मान्छ ।
हिजो अर्काको जडौरी लाउने मान्छे आज अरबपति भएको देख्ता मान्छे पागल बन्छ । कहाँबाट आयो यो धनको अम्बार ? कहाँबाट ठडियो यो रातारात समृद्धिको यो धरोहर ? सोझो बाटोबाट रचिएको होइन यो सुखको स्वर्ग । वैध र इमानको बाटोबाट कोरिएको होइन यो विपुल ऐश्वर्यको स्ांसार । अवैध अनि चोर बाटोबाट स्वार्थको दरवार रचिरहेका छन् । वेइमान र भ्रष्ट्राचारबाट सुखसमृद्धिका मिनार उठाइरहेका छन् र पनि अघाएका छैनन् उनीहरु । उनीहरुलाई नै चाहिएको सत्ता । उनीहरुलाई चाहिएको कुर्सी ।
देश यस्तो बन्द कोठा भैसक्यो, जसमा साजी हावा छिर्ने झ्यालको त के कुरा, सानो प्वाल पनि छैन । भित्र बासी विचारका बासी मान्छेहरुकै रजाइँ चलिरहेको छ । साजी र ताजा विचारका अभियन्ताहरु कहाँ छौ ? बन्द झ्यालको पल्ला खोल्ने बेला भएन ? बन्द ढोकाको ताला खोल्ने बेला भएन ?
(उदयपुर)