भुलहरू पनि विचित्रकै हुन्छ्न्
चप्लेटी ढुङ्गामा बिसाउन नसक्ने
परालको गुन्द्रीमा सुकाउन नसक्ने
तीघ्राको पिलो निचोरेझैँ निचोरेर
आँखो निकाल्न सक्ने हुँदैनन् भुलहरू ।
भुलहरू भुलजस्तै हुन्छ्न्
अरू केही जस्ता हुँदैनन् ।
भुलहरूको प्रजनन क्षमता हुन्छ
एउटा भुलले कति कति भुल जन्माउँछ
माकुराको जालोले बेरेझैं भुलले मानिसलाई बेर्छ
ऐँठन हुनेगरी निचोरेर वाँइ वाँइ पार्छ
भुलले मानिसलाई ।
भुलहरू पहिले अनाकार हुन्छ्न्
जब साकार बन्छ्न्
पछार्नै नसक्ने उसको आकार बनिसकेको हुन्छ ।
भुलहरू जातीय हुन्छन्
वर्गीय पनि हुने गर्छन्
भुलहरू वंशानुक्रमिक हुन्छ्न्
पिता-पुर्खाले गरेको भुलले
सात पुस्ता पीर्छ
भुलहरूलाई चिन्नु
भुलको अन्सार काट्नु
बडा जोखिमको काम हो
कुन भुल के हो नचिने
भुलमाथि भुल थपिन्छ ।
भुल अन्जानमा मात्र हुँदैन
जब आवेगले मथिङ्गलमा जालो लगाइदिन्छ
मानिसले जानी जानी भुल गर्छ
अन्जानको भुलभन्दा जानी जानी गरेको भुल
हदै खतरनाक हुन्छ ।
भुलका आँखा पछिल्तिर हुँदा हुन्
त्यसैले होला
मानिसले आफ्नो भुल कहिल्यै देख्तैन
आफ्नो भुलका सपक्षमा कडा तर्क गरेर
अर्को ठुलो भुल गर्छ।
(कामरूप,असम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।