विषय प्रवेश
नेपाली बालसाहित्य जगतका एक उज्ज्वल नक्षत्रका रूपमा परिचित विजयराज आचार्य सामाजिक यथार्थमा आधारित बालकथा रच्नमा माहिर छन् । उनका कथा सरल, सुबोध र मीठा हुन्छन् । उनले हालसालै ‘स्वयम्भुका आँखाहरू (२०७८)’ नामक बालकथा सङ्ग्रह प्रकाशित गरेका छन् । यो उनको ९४ वौं कृति हो । उनले यस कृतिमा नेपालको इतिहास र मिथकलाई आधार मानेर नौ वटा कथा समावेश गरेका छन् । यिनै कथाहरूको बारेमा यहाँ सुक्ष्म रूपमा चर्चा गरिन्छ ।
‘स्वयम्भुका आँखाहरू’ मा समावेश बालकथाहरू
यस बालकथा सङ्ग्रहमा नौ वटा कथाहरू रहेका छन् । ती कथाहरूमा बुद्ध धर्मको महत्वपूर्णस्थल स्वयम्भुमा रहेका बौद्ध स्तुप, विहार, मठ, मन्दिर तथा विभिन्न संरचनाहरूको स्थापना एवं महत्वका बारेमा आम मानिसमा रहेको मिथकीय अवधारणालाई आधार मानेर आख्यानीकरण गरिएको छ । काठमाडौं उपत्यकाको उत्पत्ति बारे अहिलेसम्म रहेको अवधारणा तथा स्वयंभुमा पाइने ऐतिहासिक तथ्य एवं नेवारी संस्कृतिलाई कथावस्तु बनाइएको हुनाले यी कथाहरूमा नेपालको इतिहास पनि पाउन सकिन्छ । यस दृष्टिले हेर्दा यो कृतिलाई ऐतिहासिक बालकथा सङ्ग्रह पनि भन्न सकिन्छ । यस बालकथा सङ्ग्रहमा पाइने विषयवस्तुलाई तल उल्लेख गरिन्छ ।
यस बालकथा सङ्ग्रहको पहिलो कथाको शीर्षक छ–‘उत्पत्ति’ । यस कथामा स्वयंभुको उत्पत्ति कसरी भयो भन्ने कुरा बताइएको छ । यो कथा काठमाडौं उपत्यकाको उत्पत्तिसम्बन्धी ऐतिहासिक मान्यताको रूपमा रहेको जनश्रुतिमा आधारित छ । जनश्रुति अनुसार प्राग्ऐतिहासिककालमा काठमाडौं उपत्यका जलमग्न थियो जसलाई नागदह भनिन्थ्यो । त्यसको बीचमा विपश्वी बुद्धले कमलको फूल रोपेका थिए । मञ्जुश्रीले आफ्नो खड्गले चोभारको डाँडो काटेर पानी बग्ने निकाश बनाएपछि नागदहको पानी सुक्दै गयो र बस्ती बस्न योग्य भयो । साथै कमलको फूल पनि ओइलाउन थाल्यो । यही ऐतिहासिक विषयवस्तुलाई लिएर गुणाकर र शान्तिकराचार्य नामक पात्रको संवादको रूपमा यो कथा तयार गरिएको छ । यो कथाले पाठकहरूलाई स्वयंभुको अर्थ बोध गर्न तथा काठमाडौं उपत्यकाको उत्पत्ति सम्बन्धी ज्ञानार्जन गर्न सजिलो बनाएको छ ।
बौद्ध धर्ममा धार्मिक महत्वका कुनै वस्तु वा बौद्ध भिक्षुको महाप्रस्थानपश्चात निजको अस्तु जमिनमा गाडी त्यसमाथि स्मारक बनाउने चलन हुन्छ । त्यसरी निर्माण गरिने स्मारकको गर्भगृह गोलाकारमा बनाइएको छ भने त्यस्तो चैत्यलाई स्तुप र गर्भगृह चारपाटे आकारमा निर्माण गरी बनाइएको छ भने त्यस्तो चैत्यलाई छोरतेन भनिन्छ । स्तुप वा छोरतेन पञ्चतत्व अर्थात् पृथ्वी, पानी, अग्नी, वायु र आकाशको प्रतीकको रूपमा भुइँ, गर्भगृह, हर्मिका, भुवन र गजुर राखेर बनाइएको हुन्छ । स्तुप अर्थात् चैत्य निर्माण कला पनि थेरवादी र बज्रयानी परम्परा अनुसार फरकफरक किसिमको हुन्छ । बज्रयानी परम्परामा चैत्यको गर्भगृहमा चारैतिर गवाक्ष राखी ध्यानी बुद्ध, तारा र बोधीसत्वका मूर्ति राखिएको हुन्छ तर थेरवादी स्तुपमा कुनै पनि बुद्धका मूर्ति राखिएको हुँदैन ।
स्वयंभुमा रहेको चैत्य बज्रयानी परम्परा अनुसार बनाईएको हुनाले सो स्तुपको भुइँमा कमलको फूलमा रहेको पञ्चरङ्ग सुरक्षितसाथ राखी गर्भगृह बनाइएको छ जसको चारै दिशामा अमिताभ, अमोघसिद्धि, अक्षोभ्य, रत्नसंभव र वैरोचन नामक पञ्चबुद्ध, पञ्चतारा, बोधीसत्व र तिनका वाहनका मूर्ति राखिएको छ भन्ने कुरा यस सङ्ग्रहमा रहेको ‘स्तुप’ नामक कथामा उल्लेख छ । यस कथामा शान्तिकराचार्य, गुणाकर र मञ्जुश्री नामक पात्रले आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी यो कुरा बताएको गरेको देखाई कथानक संवाद शैलीमा प्रस्तुत गरिएको छ ।
अन्य स्थानमा निर्मित स्तुपभन्दा फरक स्वयंभुको चैत्यमा हर्मिकामा दुई आँखा र त्यसमुनि प्रश्नवाचक चिन्ह अङ्कित छ । बौद्ध दर्शनमा ती दुई आँखालाई प्रज्ञा र करुणा भनिएको छ । कथाकारले यस विषयलाई आधार बनाएर ‘पाउमा दुई आँखा’ नामक कथा लेखेका छन् । विक्रमशील महाविहारका धर्मश्री मित्र नामक भन्तेले आफ्ना चेलाहरूलाई बौद्ध दर्शन सम्बन्धी शिक्षा दिंदा उनलाई कैयौं कुराहरू अस्पष्ट लागेकोले उनले मञ्जुश्रीसँग गएर सो कुरा बारे ज्ञान हासिल गरेका थिए । आफूलाई ज्ञान दिए वापत गुरू भेटी दिन चाहेका धर्मश्री मित्रलाई मञ्जुश्रीले सो उपहार लिन आफै विक्रमशील महाविहारमा आउने वचन दिएको हुनाले केही समयपश्चात उनी सो ठाउँमा पुगेका थिए । तर मञ्जुश्रीलाई झुत्रेझाम्रे पोशाकमा देखेर धर्मश्री मित्रले आफ्ना चेलाहरूको सामने नचिने झैं गरेको र चेलाहरू लाखापाखा लागेपछि मात्र उनलाई ढोग्न लाग्दा धर्मश्रीका दुई आँखा मञ्जुश्रीको पाउमा खसेकोले तिनै आँखा नै स्वयंभुको स्तुपमा देखाइएको हो भन्ने कुरा यस कथामा उल्लेख गरिएको छ ।
काठमाडौं उपत्यकामा खडेरी पर्दा स्वयंभुको शान्तिपुरमा गरिने ‘महामेघना पूजा’ बारे प्रताप मल्लको समयमा लेखिएको अभिलेखको आधारमा ‘शान्तिपुर’ नामक कथा लेखिएको छ । उक्त अभिलेखमा शान्तिकराचार्यले स्वयंभुमा स्तुप, हारतीमाँको मन्दिर र पञ्चपुर निर्माण गरेपछि शान्तिपुर निर्माण गरी आनन्दपूर्वक बस्न लागेका थिए । राजा गुणकामदेवको समयमा काठमाडौ. उपत्यकामा खडेरी परेकोले उनले शान्तिकराचार्यको सहायताले नागहरूलाई जम्मा गरेर ‘महामेघना पूजा’ गरेपछि पानी परेको थियो । त्यो कुरा थाहा पाएर प्रताप मल्लले आफ्नो शासनकालमा पनि खडेरी परेपछि शान्तिपुरभित्र प्रवेश गरी त्यहाँ रहेका ‘महामेघना सुत्र’ र ‘महामण्डल’ बाहिर ल्याएर घाममा देखाएपछि पानी परेको हुनाले त्यसको रहस्य सबै मानिसले थाहा पाउन भनी शिलापत्र कुँदाएर राखेका थिए ।
स्वयंभु र त्यहाँ निर्मित संरचनाहरूलाई घामपानी, आगो, हावाहुरी, चट्याङ र भूकम्पबाट जोगाउन पृथ्वी, वायु, अग्नी, पानी र आकाशको प्रतीकको रूपमा निर्माण गरिएका वसुपुर, वायुपुर, अग्नीपुर, नागपुर र शान्तिपुर मन्दिरका बारेमा ‘पञ्चपुर’ नामक कथामा वर्णन गरिएको छ ।
‘बुद्धको न्याय’ नामक कथामा हारती माँ कसरी बालबच्चाकी संरक्षिका भइन् भन्ने बारेमा जनमानसमा रहेको मिथकलाई आख्यानीकरण गरिएको छ । कथामा उल्लेख भए अनुसार गौतम बुद्ध श्रावस्तीको जितवन महाविहारमा बसेर धर्म प्रचार गरिरहेको बेलामा त्यस ठाउँका बच्चा एक यक्षणीले लैजाने गरेकोे कुरा थाहा पाएका थिए । त्यसकारण त्यस यक्षणीलाई त्यस्तो दुष्कार्य नगर्ने ज्ञान दिनका लागि गौतम बुद्धले उसको सबैभन्दा कान्छो बच्चालाई सुटुक्क विहारमा ल्याएर सुरक्षित पूर्वक राख्न लगाएका थिए । आफ्नो बच्चा हराएपछि त्यो यक्षणी अत्यन्त दुखित भएर बुद्धको शरणमा आएपछि उसले बुद्धको उपदेशबाट सबै प्राणीलाई आफ्ना बच्चाको माया लाग्ने कुराको ज्ञान प्राप्त भएपछि त्यो यक्षणी बच्चाहरूको संरक्षिका बनेर रहन थालेकी थिइ जसलाई हारती माँ भनिन्छ । स्वयंभुमा निर्मित हारती माँको मन्दिर त्यही अवधारणामा बनाइएको छ भन्ने यस कथाको सार रहेको छ ।
स्वयंभुमा रहेको अवलोकितेश्वरको उत्पत्ति सम्बन्धी मिथकलाई ‘हरिहरिहरिवाहन लोकेश्वर’ नामक कथाको विषयवस्तु बनाइएको छ । यस कथामा पात्रको रूपमा मञ्जुश्री, गुणाकर र शान्तिकराचार्यलाई प्रस्तुत गरेर कथाको ओज बढाइएको छ । कथा अनुसार गरुड र तक्षक नागबीच लडाइँ हुँदा गरुडले नारायणसँग तथा नागले अवलोकितेश्वरसँग गुहार मागेको अनि ती दुवैको उपस्थितिपछि नाग र गरुडबीच मित्रता कायम गराइएको कुरा उल्लेख गरिएको छ । त्यस कार्यलाई अवलोकितेश्वरको सुझबुझपूर्ण कार्य मानिएको हुनाले त्यसकै प्रतीक स्वरूप नागमाथि सिंह, सिंहमाथि गरुड, गरुडमाथि नारायण र सबैभन्दा माथि अवलोकितेश्वरलाई राखी चित्र बनाइएको हो भन्ने कुरा यस कथामा उल्लेख गरिएको छ ।
स्वयंभुमा रहेका भुटानी गुम्बा, चैत्य पार्क, सूर्यघडी, अनन्तपुर, प्रतापपुर, बज्र, घण्ट, षट्कोण र आगं छेंका विषयमा ‘स्वयंभुको यात्रा’ नामक कथामा उल्लेख गरिएको छ । यस कथामा आधुनिक पात्रको प्रयोग गरिएको छ । विद्यालयमा अध्यापन गर्ने शिक्षिका प्रवृति र उनका विद्यार्थीहरू प्रिसा, श्रेया, सुयोग, सुलेखा र सिर्जन यस कथाका पात्रहरू हुन् । उनीहरूले स्वयंभुका माथि उल्लेखित स्थानहरूको भ्रमण गरी तिनीहरूको महत्वको बारेमा चर्चा गरेको कुरा यस कथामा पाइन्छ ।
‘पुरानो स्वयम्भु’ नामक कथामा मुख्य चैत्य रहेको स्वयंभुको डाँडाको वायाँपट्टिको अर्को डाँडामा रहेको ठाउँलाई पुरानो स्वयंभु भनिएको छ । त्यहाँ रहेका मञ्जुश्री चैत्य, आनन्दकुटी विहार, श्रीलङ्काराम चैत्य र विश्व शान्ति पोखरीका बारेमा यो कथामा उल्लेख गरिएको छ । यस कथामा पनि जिज्ञासु विद्यार्थीहरू पीयुष, जुलसा, सृष्टि, जेसु र विज्ञानले विभिन्न स्थानहरूको चर्चा गरेको र आनन्द विहारका बारेमा भन्तेसँग संवाद गरेको कुरा प्रतुत गरिएको छ ।
पात्रको प्रयोग
बालसाहित्यको मूख्य विशेषता कथावस्तुमा ज्यादै कम पात्रको प्रयोग गर्नु हो । यस बालकथा सङ्ग्रहमा त्यस कुरालाई राम्रोसँग ख्याल गरिएको छ । साथै मञ्जुश्री, गौतम बुद्ध, गुणाकर र शान्तिकराचार्य जस्ता ऐतिहासिक तथा मिथकीय आदर्श पात्रको चरित्र चित्रण गरिएको हुनाले यस कथा सङ्ग्रहका कथाहरूले बालबालिकामा सत्मार्गमा लाग्नु पर्दछ भन्ने सन्देश पनि प्रवाह गरेका छन् । साथै शिक्षक र विद्यार्थीलाई स्वयंभुको भ्रमण गरेको देखाइ त्यसको बारेमा चर्चा गराइएको हुनाले यस कथा सङ्ग्रहका कथाहरूमा विद्यार्थीहरूमा विद्यमान जिज्ञासु प्रवृत्ति र सिक्ने चाहनालाई उजागार पनि गरिएको छ ।
खड्किएका केही कुरा
बाल साहित्यका मूलतः तीनवटा उद्देश्यहरू रहेका हुन्छन्—पहिलो बालबालिकामा पठन संस्कृतिको विकास गराउने, दोस्रो उनीहरूको मनमा ज्ञानको ज्योति बाल्ने र तेस्रो उनीहरूमा सिर्जनात्मक क्षमताको विकास गराउने । त्यसका लागि साहित्यकारले स्वरकल्पना र यथार्थलाई मिसाएर आफ्नो सिर्जनालाई कौतुहलपूर्ण, मनोरञ्जनात्मक र मिठासपूर्ण बनाएका हुन्छन् । त्यसोगर्दा कतिपय ऐतिहासिक तथ्य बाङ्गिएर अर्थको अनर्थ लाग्ने पनि हुन सक्दछ । खास गरेर ऐतिहासिक विषयवस्तुमा आधारित साहित्यमा इतिहासको मर्म र तथ्य बिग्रनेगरी मिथकको प्रयोग गर्नु उचित हुँदैन । त्यसले बालबालिकाको मन–मस्तिष्कमा ज्ञानको ज्योति बाल्ने बालसाहित्यको उद्देश्यमा तुषारापात हुन जान्छ ।
‘स्वयम्भुका आँखाहरू’ नामक बालकथा सङ्ग्रहमा समावेश गरिएको ‘पाउमा दुई आँखा’ भन्ने शीर्षकको कथामा बौद्ध धर्म र दर्शनको भनाइ एकातिर र कथाको सार अर्कैतिर गएको हो कि भन्ने भान परेको छ । किनकि बौद्ध धर्म र दर्शन अनुसार स्वयंभुका दुई आँखालाई प्रज्ञा र करुणाका प्रतीक मानिन्छ । तर यो कथामा धर्मश्री मित्रले गल्ती गरेको हुनाले सजाय स्वरूप उनका आँखा मञ्जुश्रीका पाउमा खसेको उल्लेख गरिएको छ । यस विषयमा विषयविज्ञसँग विमर्श गर्नुपर्ने हो कि भन्ने लागेको छ ।
यस सङ्ग्रहमा समावेश गरिएको ‘स्वयंभुको यात्रा’ भन्ने शीर्षकको कथामा विषयवस्तु अधिक भएको कारणले हुनसक्छ कथाकारलाई कथा भन्न हतार गर्नु परेको जस्तो देखिन्छ । यो कथालाई आधुनिक प्रविधिको प्रयोग गरी शिक्षकले कक्षा कोठामा स्वयंभुको सचित्र वर्णन गरेको देखाइएको भए बेश हुने थियो कि भन्ने लागेको छ ।
निष्कर्ष
विजयराज आचार्य मूलतः सामजिक यथार्थवादी धारामा कथा लेख्ने कथाकार हुन् । उनका कथाहरूमा सामाजिक विकृति र विसंगतिका विरूध्द जेहाद छेडिएको हुन्छ । उनका बालकथामा पनि त्यसकै प्रभाव रहेको पाइन्छ । वास्तवमा भन्ने हो भने उनी बालबालिकालाई सानै उमेरदेखि नै रुढीवादी र अन्धविश्वासी भावनामा बहकिन नदिएर चेतनशील र वैज्ञानिक विचारद्वारा दिक्षित गराउन चाहन्छन् । तर उनको ‘स्वयम्भुका आँखाहरू’ भन्ने बालकथा सङ्ग्रह भने उपर्युक्त विचारभन्दा केही फरक ढङ्गले मिथकलाई विषयवस्तु बनाएर लेखिएको छ तापनि यी कथाहरूमा हालसम्म नेपालको प्राग्–इतिहासका बारेमा रहेको अवधारणालाई आत्मसात गरिएको छ । यस सङ्ग्रहमा रहेका कथाहरूमा नेपालको राजधानी काठमाडौं उपत्यकामा अवस्थित स्वयंभुको उत्पत्ति, त्यहाँ निर्मित चैत्य, विहार र विभिन्न मन्दिरहरूको निर्माण सम्बन्धमा बौद्ध धर्म ग्रन्थ तथा ऐतिहासिक प्रमाणहरूको आधारमा लेखिएको इतिहास एवं बुद्ध धर्मावलम्बीहरूमा रहेको जनविश्वासलाई आधार बनाइएको छ । त्यसकारण यो बालकथा सङ्ग्रह मिथक र इतिहासको विषयवस्तुमा आधारित छ भन्नु अत्युक्ति नहोला ।
उनको बालसाहित्यप्रतिको लगाव अझै बढेर जाओस र भविष्यमा अझै उच्चकोटिका कृतिहरू प्रकाशित हुँदै जाउन भन्ने सदिच्छा अभिव्यक्त गर्दछु ।
(भरतपुर, चितवन)