भुलहरू पनि विचित्रकै हुन्छ्न् चप्लेटी ढुङ्गामा बिसाउन नसक्ने परालको गुन्द्रीमा सुकाउन नसक्ने तीघ्राको पिलो निचोरेझैँ निचोरेर आँखो निकाल्न सक्ने हुँदैनन् भुलहरू । भुलहरू भुलजस्तै हुन्छ्न् अरू केही जस्ता हुँदैनन् । भुलहरूको प्रजनन क्षमता हुन्छ एउटा भुलले कति कति भुल जन्माउँछ माकुराको जालोले बेरेझैं भुलले मानिसलाई बेर्छ ऐँठन हुनेगरी निचोरेर वाँइ वाँइ पार्छ भुलले मानिसलाई । भुलहरू पहिले अनाकार हुन्छ्न् जब साकार बन्छ्न् पछार्नै नसक्ने उसको आकार बनिसकेको हुन्छ । भुलहरू जातीय हुन्छन् वर्गीय पनि हुने गर्छन् भुलहरू वंशानुक्रमिक हुन्छ्न् पिता-पुर्खाले गरेको भुलले सात पुस्ता पीर्छ भुलहरूलाई चिन्नु भुलको अन्सार काट्नु बडा जोखिमको काम हो कुन भुल के हो नचिने भुलमाथि भुल थपिन्छ । भुल अन्जानमा मात्र हुँदैन जब आवेगले मथिङ्गलमा जालो लगाइदिन्छ मानिसले जानी जानी भुल गर्छ अन्जानको भुलभन्दा जानी जानी गरेको भुल हदै खतरनाक हुन्छ । भुलका आँखा पछिल्तिर हुँदा हुन् त्यसैले होला मानिसले आफ्नो भुल कहिल्यै देख्तैन आफ्नो भुलका सपक्षमा कडा तर्क गरेर अर्को ठुलो भुल गर्छ। (कामरूप,असम)