एकदिन रत्नपार्कको पुरानो बसपार्कमा केही मानिसहरु भेला भए । उनीहरुले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडि पछाडि दुवैतिर र टोपीमा सरसफाई अभियान लेखिएको थियो ।
“आफ्नो टोल, नगर सफा राखौं” भनेर लेखिएको प्लेकार्ड पनि बोकेका थिए । उनीहरुको उद्देश्य भनेको धुमपान, मद्यपानलाइ निरुत्साहित गर्नु, सरसफाइको महत्वलाइ जनस्तरमा पुर्याएर जनचेतना जगाउनु हो भनेर बताइएको थियो ।
उनीहरु पुरानो बसपार्क, रत्नपार्क, जमल हुँदै त्रिचन्द्र कलेज पुगेर अभियान समापन गर्ने सल्लाह गरी सडक छेउका फोहरमैला टिप्दै, प्लेकार्ड देखाउंदै, फोटो खिच्दै हिंडिरहेका थिए । टोली त्रिचन्द्र कलेज अगाडि पुगेर अडियो ।
हात हातमा बोकेका प्लेकार्ड भुईंमा राखेर उनीहरुले बोतलको पानीले हात धोए । कसैले चुरोट सल्काए । कसैले बिस्कुटका प्याकेट झिके । कसैले चाउचाउ निकाले । अनि कसैले बिदेशी मदिरा गिलासमा खन्याएर, कसैले बोतलबाटै पिउन थाले ।
हल्का बिश्रामपछि उनीहरु अगाडि बढे ।
उनीहरुले खाएर फालेका बिस्कुट, चाउचाउका खोल, पानी र मदिराका खाली बोतलहरु भने सडकभरि जताततै छरिएका थिए ।
(बागमती, कर्मैया, सर्लाही)