हिँड्दा-हिँड्दैको यात्रा अचानक रोकेर मेरो छेउमा उभिएको छ एउटा मानिस । मैले, जिज्ञासाको नजर फाल्दै त्यस मानिसतर्फ हेर्न नभ्याउँदै उसले भन्यो सपनाहरू हराएका छन् म खोज्न हिँडिरहेको छु । उसको कुरा सुनेर आश्चर्यचकित हुँदै हेरिरहेँ एकनास तलदेखि माथिसम्म उसलाई । खुट्टामा फाटेका गोल्डस्टार जुत्ता थिए शरीरमा मैलो परेका पातलो कलेजी रंगको कमिज । मैले फेरि उसको अनुहारतिर पुलुक्क हेरेँ अनुहारमा बेग्लै चमक थियो लाग्छ लक्ष्य चुम्न लालायित छ । मैले सोधेँ भेटिन्छन् त सपनाहरू ? जवाफमा उसले सहजै भन्छन् यताकतै हराएका छन् म खोज्न हिँडिरहेको छु एकदिन अबश्य भेटिनेछन् सपनाहरूले पछ्याउँदैनन् हामीले पछ्याउनु पर्छ । (घोराई, दाङ)