सुनसरी ।
विमल स्मृति पुस्तकालयका संरक्षक समेत रहेका पुर्णवहादुर गुरुङले नेपाली साहित्यको उन्नयनका लागि १ करोड ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको बताए । विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित कविता महोत्सवमा पुस्तकालयले प्रत्येक बर्ष उत्कृष्ट एक पुस्तकलाई २ लाख नगद राशिको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा गरेको थियो ।
पुस्तकालयको तर्फबाट मुन्धुम कवि साहित्यकार प्रदीप मेन्याङ्बोले आगामी मंसिर १९ गतेकै दिन पारेर नगद २ लाख रुपैयाको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा गरे । स्वदेश र विदेश बस्ने नेपाली भाषी लेखक साहित्यकारहरुले लेखेका आख्यान र गैरआख्यान, काव्यका उत्कृष्ट पुस्तकलाई आगामी ०७९ सालको मंसिर १९ गतेदेखि प्रदान गरिने घोषणा गरेका थिए । लेखक साहित्यकारले लेखेको उत्कृष्ट पुस्तकलाई ‘विमल कृति पुरस्कार’ प्रदान गर्न संरक्षक अध्यक्ष गुरुङ र छोरी शान्तिले काठमाडाँैका प्राज्ञ कवि शशी लुमुम्बू, मुन्धुम साहित्यकार प्रदीप मेन्याङ्बो, लेखक राजकुमार दिक्पाल (पोर्चुगल), जसकुमार वेखर्ची राई (अमेरिका) र डम्बरकृष्ण श्रेष्ठ ‘अनुशील’ (हङकङ) लाई तत्कालका लागि जिम्मेवारी दिएका छन् ।
व्रिटिश गोर्खा लाहुरे पूर्णबहादुर गुरुङ र उनका स्वर्गीय श्रीमती सरस्वती गुरुङ र छोरी शान्तिले १९ बर्षको आयुमा ०४८ साल वैशाख २४ दिवंगत भएका कवि विमलको स्मृतिमा धरानको बुद्धचोकमा पुस्तकालय स्थापना गरेका छन् ।
धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयद्धारा आइतबार आयोजित राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका गणेश खतिवडाको ‘मृतिका सुगन्ध’ शीर्षक कविताले प्रथम पुरस्कार पाएको छ स्वर्गीय कवि गुरुङको ५० औं जन्मजयन्ती र ३० औं राष्ट्रिय कविता महोत्सवमा विजेता खतिवडाले नगद २१ हजार रुपैया र प्रमाणपत्र हात पारे ।
बुद्धचोकस्थित पुस्तकालाय भवनमा आयोजित समारोहमा झापाका प्रकाश निरौलाको ‘गाउँका कविता’ शीर्षकले दोस्रो पुरस्कार पाएको थियो । निरौलाले नगद १५ हजार रुपैयाँ हात पारे भने खोटाङका मुकुन्दकृष्ण थापाको ‘राहदानीको विलौना’ तृतीय हँुदै नगद ११ हजार रुपैया हातपार्न सफल भएको थियो । मोरङका नगेन्द्र सुवेदी र उदयपुरका सुमित्रा पोखरेलाई सान्तवना पुरस्कार नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
उक्त अवसरमा समाजमा विभिन्न पक्षबाट योगदान दिने २१ जनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित र विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रमाणपत्र वितरण गरेका थिए ।