एक युग बोकेर शताब्दीलाई चुनौती दिँदै
इतिहासका प्रत्येक कालखण्डहरुमा
न हार्यौ तिमी, न हार्नेछौ, न हार्नको लागि
यस धर्तीमा प्रसव पीडाको चीत्कारसँगै
एक खिल्ली मिठो मुस्कान छरेर धर्ती
टेकाएको थिएँ तिमीलाई ।
प्रसव पीडासँगै रगतले लत्पतिएका
हिलाम्मे निथ्रुक्क रुझेका सिथिल
शरीर लर्बराउँथ्यो,थर्थराउँथ्यो, काप्थ्यो
लगलगी, बेहोस बेहोसमै मुर्छिएर
तर पनि
भविष्यका स्वर्णिम सपना बोकेर
रगताम्मे भुइँबाट एक मुठी माटो
टिपेर साहस बोकी उठेको
त्यो पल कहाँ सजिलो थियो र भुल्न ?
जीवन यात्राको क्रममा अनेकन
घुम्ती अनि मोडहरु पार गर्दै
कैयौँ पटक मेरा सपनाहरुको
मलामी आफै गएर पनि
कठाङ्ग्रिने हिमपातका तुषारोहरुमा
तिम्रो तोतेबोलीसँगै मुस्कुराउँथे
भविष्यका सपनाहरु ।
निर्ममतापूर्वक कसैको क्रुरताले
लछारिएका,पछारिएका,च्यातिएका
सुकोमल सुन्दर मेरा कोपिलाहरु
एकदिन साहसिक बनेर
अन्याय, अत्याचार, शोषण अनि
दमनका काँढेतारहरु छिचोल्दै
पूर्व क्षितिजमा मुस्कुराउने छन्
सोच्थेँ अनि पलाउँथे
आसाका त्यान्द्राहरु भुरुरु
झरी च्याउ सरी ।
अब तिमी नै हौ आसाको धरोहर
हरेक नरभक्षी रक्त पिपासु
आमाको पहरेदार
हार्ने छैनौ कहिल्यै नत हार्नको लागि
यो धर्ती टेकाएँ कैयौ प्रहर नुनिलो आँसु पिएर
ठूलो मान्छे बन्ने अभिलाषाको चाङ
थुपार्ने दुस्साहस नगरेस् छोरा
केवल एउटा असल मान्छे बन्ने
सानो झुप्रो काफी छ हाम्रो लागि
दुनियाँलाई रुवाएर पाएको स्वर्णजडित
संसारको महत्वाकांक्षा छैन
केवल झुपडीको दर्दनाक पीडाहरुमा
एक थोपा आँसु चुहे पुग्छ तिमीबाट ।
(मान्द्रे, भोजपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।