राति साढे दस बज्न लागेको हुन्छ। सिक्किम हाउस, दिल्लीमा सिक्किम राज्यबाट आउनुभएका एकजना सज्जनलाई भेटेपछि घर आउन ओला बुक गर्छु। सिक्किम हाउसदेखि मेरो कुटिया मात्र चार किलोमिटर टाढा छ। मेरो कुटिया त कसरी भन्नु र! सरकारी घरमा भाडा तिरेर यसो बस्ने मेलो।
चार चक्के वाहन बुक गरेको, केही समयमा बुकिङ्ग रद्द गर्यो मेरो गन्तव्य पुष्टि गरेपछि। पुनः ओला एपमा गएर चार चक्के वाहनको ठाउँमा दुई चक्के, बाइक बुक गर्छु। पिकअप टाइम चाँडै अनि भाडा पनि मात्र उन्चास रुपैयाँ रहेछ। कन्फर्म लेखेको स्क्रिनमा बुढी औंलाले छोइदिन्छु। ओला बुक गर्ने प्रक्रिया सकेर कोठादेखि पिकअप लोकेशनमा आएर ओला कुर्छु। सज्जनमित्र पनि साथमा आउनु हुन्छ।
पुसको कठ्याङ्ग्रिने जाडो, यो समय दिल्लीको सन्दर्भमा कुरा नगेर हुन्छ। जाडोले आफ्नो उचाइ सागरमाथाभन्दा माथि पुर्याएको हुन्छ। धेरै बेर बाहिर बस्न ठूलै चुनौतीपूर्ण हुन्छ। यही चुनौतीलाई स्वीकारेर दिल्लीको सडकमा कैयन गरिबहरू जिउ कप्कपाउँदै अल्लोपल्लो छेउ देखिने कमलको भरमा रात काट्ने गर्छन्। के गर्ने जाडोले राजनीति गर्न जान्दैन नत्र गरिब, धनी छुट्याएर धेरै र थोरै गरी चिसो हावा बाडिदिने थियो होला!
गफ गर्दै गरेका हुन्छौँ, ओलावालाको कल आउँछ-‘कहाँ जाने सर?’
रातिको बेला गन्तव्य नजिकै अनि भाडा थोरै भएकाले फेरि रद्द गर्ने रहेछ भनी अडकल काट्न लाग्छु। हिजो नै घरमा आउने अतिथिलाई यही समयमा ओला बुक गर्दा दस चोटि जति रद्द गरेको थियो। त्यही कुराको झझल्कोलाई सम्झिदै ओलावालाको प्रश्नमा उत्तर फर्काउँछु- ‘जनपथ जाने हो। कति समयमा पुग्छौ यहाँ?’
‘ठीक छ सर, लोकेशनमा आउँदैछु।’
मैले पर्स बोकेको हुन्न। अघिल्लो दिन हराएको थियो। निस्किनु अघि पनि धेरै चोटि खोजें तर फेला परेन। भाडा कसरी तिर्नु भनी मनमा कुरा खेलिरहेको पनि थियो। सरकारको केसलेस नीतिले पर्स नबोकी हिँड्न चैं साहस दिन्छ खास गरी दिल्लीमा।
ओलालाई फोन राख्नु अघि सोधिहाल्छु- ‘पेटियम छ भैया?’
उसले छ भन्ने जबाफ फर्काउँछ । पेटिएम भएको उत्तर दिँदा मन ढुक्क हुन्छ।
यो दिल्लीको लुटियन जोन भी.आई.पी. क्षेत्र भएर प्रशस्त मात्रमा आवतजावतका लागि वाहन भेट्न निकै गाह्रो पर्छ। व्यक्गित साधन हुनेलाई सजिलो पर्छ नत्र नहुनेलाई ओला, उबरले नै अबर काट्छन्।
दुई भाइको गफको बीचैमा ओला बाइक वाला आइपुग्छ। उहाँबाट विदा लिन्छु। ओलावालाले हेल्मेट दिँदै ओ.टी.पी. सोध्छ। म पनि हेल्मेट लगाउँदै ओ.टी.पी. भन्दिन्छु। बाइक रहेछ रोयल इन्फिल्ड। मनमा प्रश्न आइ हाल्यो, रोयल इन्फिल्ड बाइक हुनेले ओलामा नहाल्नु पर्ने?
मेरो मुखबाट फुस्की हाल्छ कुरा-‘तिमीले त ओलामा पनि रोयल इन्फिल्ड बाइक राखेको रछौ। वाह ! भैया।’
‘जी सर।’ उसको उत्तर मिठो स्वरमा ।
मेरो राम्रो बानी भनौं या घटिया, प्रश्नमाथि प्रश्न गरी हाल्छु चाहे त्यो चिनेको होस् या नचिनेको।
‘बाइकबाट पनि राम्रो कमाई हुन्छ र भैया?’
‘म पार्ट टाइम ओला चलाउँछु। म बिजली कम्पनिमा जागीर गर्छु। पच्चिस हजारको वेतनले दिल्लीमा परिवार धान्न गाह्रो पर्छ। ति माथि बाह्र हजार महिना पिच्छे इी.एम.आइ. भर्नु पर्छ। फ्ल्याट किनेको छु। त्यही कारणले ओलाको सहारा नलिई भएन। जीवनमा केही गर्न मिहिनत नगरी हुँदैन नि सर!’
उसको कुरा सुनेर मेरो चासो झन् बढ्छ। मलाई उसकोबारे जान्ने उत्सुकता झन् बलिन्छ।
प्रश्न फ्याकी हाल्छु-‘कति रकमको फ्ल्याट हो?’
‘तीस लाखको।’
‘कति बी.एच.के. को हो?’
‘दुई बी.एच.के. को हो।’
‘सही छ भैया। तिमी कति हिम्मत वाला है। पच्चिस हजारको जागीर गरेर पनि तीस लाखको फ्ल्याट किनिसकेछौ।
‘हिम्मत नगरी कहाँ हुन्छ र? हुन चैं मेरो श्रीमतीले मेरो आँखा खोलेकी हो। उसले मलाई बिहेपछि भनी- ‘हामी महिनै पछि नौ हजार भाडा दिन्छौँ। भाडा घरबेटीलाई दिनुभन्दा बैंकवालालाई दिँदा हामीलाई फाइदा हुन्छ। पछि गएर घर आफ्नो नाममा हुन्छ। आफ्नो प्रोपटी हुन्छ। यसै दिल्ली नबसी हुँदैन जागरीका लागि। आफ्नो घर भनेपछि संचले बस्न मिल्छ। घरबेटीको किच्किच सुन्नु पर्दैन। श्रीमतीको यो हिम्मत र सुझाउँ पाएपछि मैले छ महिना अघि फ्ल्याट किनेको हुँ।’
उसको भनाइले मलाई आकर्षित पार्यो। कतै न कतै मलाई सिकाउँदै थियो जीवन जिउने मापदण्डहरू। मनै मन आफूलाई केलाई पनि सक्छु। यसले पच्चिस हजार वेतन पाएर पनि दिल्लीमा आफ्नो घर बनाइसक्यो तर मैले यसको तुलनामा दुई गुणा भन्दा अधिक वेतन पाएर पनि अरूकै घरमा पैसा फ्याँक्दै बस्नु परेको छ। आफूमाथि प्रश्न मेरै मनले गरिरह्यो। निरूत्तर हुन्छु आफ्नै प्रश्नमा।
ओलावाला प्रति मेरो चासो सकिदैन। अर्को प्रश्न गर्न समय लगाउँदिन।
‘कति सालदेखि दिल्लीमा छौ?’
‘तेह्र सालदेखि।’
म पनि दिल्ली पसेको यति साल नै भइसक्यो। तर ऊ फ्ल्याट किनेर ओला बाइक अघि बसेर जाडा महिनाको राति साढे दस बजे मेरो सेवा गर्दै छ अनि म यो पल सेठ भएर पछि बसे पनि उसको सामु रित्तो। सिरिरि चिसो हावाले मोइँ खाइदिन्छ। आफू चिसो हावासँग बाच्न उसको पछि बसेर लुक्ने प्रयत्न गर्छु अनि ऊ चिसो हावालाई चिर्दै, लड्दै मेरो गन्तव्यतिर हाकिन्छ। उसलाई पनि चिसो लागेको होला, घर जान हतार होला। मेरो गन्तव्य अल्प समयको चार किलोमिटर अनि उसको लक्ष्य तीस लाखको। दुवैका लक्ष्य भिन्न, उद्देश्य भिन्न एकै रोयल इन्फिल्डमा बसे पनि।
‘ओलामा यत्रो महङ्गो बाइक किन?’
‘यो बाइक सुसुरालीले दिएको दाइजो हो। ओलामा चलाउने चैं अर्को छ पल्सर। अर्को बिग्रिएकोले आज यो लिएर आएको हुँ।’
‘पार्ट टाइम कति घण्टा बाइक चलाउँछौ?’
‘मेरो फ्ल्याट विकासपुरीमा छ अनि मेरो जागीर गुरूग्राममा। डेढ घण्टा जान लाग्छ। जाँदा एक जाना यात्रु लिएर जान्छु अनि आउँदा पनि। एकतिरको भाडा एक सय नब्बे बनिन्छ। दुइतिरको जोड्दा मलाई झण्डै चार सय बनिन्छ। त्यति भए मलाई पुगी हाल्छ।’
उसको चतुर्य काम सुनेर मलाई बडा आनन्द लागेर आउँछ। अरूको कारनामा सुन्न सबैलाई आनन्द लाग्छ तर यथार्थमा गर्न उतिक्कै गाह्रो।
‘तिम्रो त एक पंथ दो काज भने जस्तो पो हिसाबकिताब र’छ। तेलको भाडा काटेर पनि तीन सय जति बाच्दो होला?’
मेरो प्रश्नलाई गलत ठहर्याउँदै भन्छ-‘होइन, मेरो पुरा पैसा बाच्छ सर।’
‘कसरी र?’
‘कम्पनीले आउने जाने भाडा दिन्छ। शनिबार अनि आइतबार छुट्टी हुन्छ। दुबैदिन ओला चलाउँछु। मेरो लक्ष्य हुन्छ पाँच सौ नकमाई घर नपस्ने। जबतक पाँच सौ हुँदैन म घर जाँदिन। यति नगरी पनि हुँदैन। जागीर गएको दिन चैं राति दस बजेसम्म मात्र। जाने र आउने यात्रुको कमाइले मलाई पुगिहाल्छ।
उसको मिहिनत र पैसा कमाउने तरीका सुनेर मलाई अचम्म लाग्छ अनि उप्रति सम्मान पनि। हामी कति फिजुल खर्चा गर्छौं तर यसरी पैसा जोह गर्ने पनि हुँदा रहेछन्।
उसको बोलाईले सुरूमै बिहारको हो भनेर जानी सकेको थिएँ। तै पनि पुष्टि गर्छु प्रश्न गरेर।
‘तिमी बिहारबाट हौ?’
‘अँ म बिहारको नवादा जिलाबाट हुँ।’
‘ए! ए ! यति मिहिनत त बिहारकाले मात्र गर्न सक्छन्। हामी पूर्वोत्तरकाले पैसा खर्च गर्न मात्र जानेको हुन्छौं।’
जिब्रोले साँच्चो कुरा ओकाली हाल्छ। उसको भनाइ र गराइले ओकाल्ने नै पार्यो। ओलावालाको सर्मपण र दिनचर्या शैलीले धेरै कुरा सिकाइरहेको आभास मलाई भइरहन्छ। वास्तवमा सुव्यवस्थित जीवन जिउनका लागि गोजीभरि पैसा होइन भएको पैसालाई उचित उपयोग गर्न जान्नु पर्दोरहेछ। सानो रकमले पनि ठूलो खुसी किन्न सक्न्छि। पैसालाई यथोचित स्थान पुर्याउनु पनि कला हो, जीवनशैली हो।
यी नै कुरा मनमा खेलाउँदै, चिसो हावाको पान गर्दै ओलाको सवारीमा घरगेट पुग्छु। म नओर्लिंदै उसको मोवाइलले अर्को यात्रुको बुकिङ्ग आएको देखाउँछ। यस्तो चिसो वातावरणमा पनि उसको अनुहारमा मन्द मुस्कान र आनन्दको लाली दौडिएको देखिन्छ । म पेटिएमबाट उसलाई भाडाको रूपमा मूल्य उनन्चास रुपैयाँ ट्रान्फर गर्दिन्छु तर ऊ बाट सिकेको कुराको मूल्य कति हो कति।
(मणिपुर)