अचेल जङ्गलमा रुखहरू उम्रिन्दैनन्, भक्कु घरहरू पलाउँछन्, घरहरूले घरकै लागि रुखहरू ढलाउँछन् । जङ्गलको हरियो छातीभित्रको न्यानोमा रमाउने रानीचरी सत्ताच्युत भएर बेपत्ता भइसकेकी छन् । हेर्दा हेर्दै क्यामुनाको त्यो रुखको अपहरण भएछ, आरूपातेको त्यो रुखको पनि चीरहरण भएछ, गाँस,बास,कपासको आन्दोलनमा जङ्गलको बासको उठीबास भएछ। रातभरि/दिनभरि ठिङ्ग उभिएर गाउँलाई पहरा दिने सैनिक धुपीहरू कसरी कसको आक्रमणमा मारिए हँ ? विधवा चाँपको सेतो अनुहार नदेखेको पनि धेरै भयो, दुलही गुराँसको रातो अनुहार नदेखेको पनि धेरै भयो, सहुरको मगमगाउँदो बोक्रा चपाउनु नपाएको पनि धेरै भयो उहिले लटरम्म पाकेको ऐंसेलुको स्वादमा मक्ख परेको बेला त्यसको काँड़ाको घोचाइमा पनि मजा मान्ने मनभित्र अचेल बनपाखाका चकमन्न ऐयाहरू कति दुख्छन् कोनि ! मान्छेलाई सन्चो त भएकै हुन्छ कि जङ्गलको दुखाइमा आजभोलि आफ्नै दुखाइमा अरूलाई रमाइलो भएझैँ ? अचेल मैले मन पराएका चराहरू बनमा बस्दैनन् उनीहरू टिभीभित्रको जङ्गलमा सरेका छन् । मैले सास फेर्ने हावाको ओहोरदोहोर गराइमा पनि उहिलेको जस्तो रोमान्टिक स्पर्श पाउँदिनँ। उहिले घाँस-दाउराको भारी बोकेर तिर्खाएको बेला पिएको त्यो अमृतमय पानी अचेल कतातिर बग्छ कोनि ! मेरी बज्यूले खाली खुट्टै दाउरा बटुल्ने बनपाखामा मेरा बाजेले खाली खुट्टै बाकल बोक्ने बनपाखामा आजभोलि पर्यटकलाई बोकेर गाड़ाहरू खोक्दै दगुर्छन् भटभटेमा प्रेमिकालाई चढ़ाएर प्रेमीहरू बेपरवाह कुद्छन् । हिजोआज बनपाखाको छाती खनिएर किच्च हाँस्ने विकासको गाउँमा तिर्खाएका खाली भुल्डुङ र बाल्टीहरूको जुलूसले पर्खिबस्छन् नगरपालिकाको पानी बोक्ने गाड़ी । उहिले खलखल बग्ने खोलाहरूमा अचेल व्हिस्पर र स्टेफ्रीका फोहरी जगटाहरू तिर्खाएर पर्खिबस्छन् बर्खाको भेल ! अल्झिएर पर्खिबस्छन् भतुवा कुकुरको टोकाइ ! उहिले हरिया पोथ्रा-पोथ्री र अग्ला रुखका हाँगाहरूमा उफ्रन्दै मीठा स्वरहरू निकाल्ने चराहरू बस्ने त्यो ठाउँमा अहिले बाक्लो गाउँ बनिएको सत्य घटना दन्त्यकथाजस्तो लाग्छ मेरो नातिलाई । फुत्रुक्क उफ्रिएर नाघ्न सक्ने नाली धस्किएर अनि अझै धस्काइएर कत्रो खोला भएको थियो बेस्सरी तिर्खाएको ! बर्खामा मात्र ठूलो आवाज निकालेर रातभरि मेरै निद्रा खोस्न खोज्थ्यो त्यसले । बर्खापछि त चकमन्न हुन्थ्यो त्यो मेरै आन्दोलनजस्तो । अचेल मान्छेको घनत्व बढ़ेर त्यो खोलाको छाती नै च्यातिएको छ त्यो खोलाको अस्तित्व नै साँघुरिएको छ धस्किएर अनि अझै धस्काइएर नालीबाट ठूलो बनिएको खोला फेरि नाली बनिसकेको छ अचेल त्यहाँ एउटा गाउँ बनिएको छ । सप्पै मेरै हो भन्ने मेरो धाक पनि त्यो खोलाजस्तै साँघुरिएको छ दसीहीन भएर । मेरो ठाउँ मेरो गाउँ भनेर रमाउने मन पनि उसको हातमा दसी देखेर निर्वासनको त्रासमा तर्सिबस्छ अचेल । म त बिस्तारै हराउँदै रहेछु मेरै हो भनिने ठाउँमा मेरै पुर्खाका रगत-पसिना भक्कु चुहेर मौलिएको ठाउँमा मेरै पुर्खाका हड्डीहरू मकिएर मलिलो भएको ठाउँमा । वर्तमानमा अनेकताको बाक्लो हुस्सुले मेरो अस्मिता मेरो अस्तित्व बेस्सरी धुम्मिएर भविष्यमा म किंवदन्तीमात्र भएर हराउने छु कि त्यो जङ्गलजस्तै? सायद दन्त्यकथामात्र हुनेछु त्यो हराएको जङ्गलजस्तै जहाँ अचेल कस्मेटिक गाउँले आफ्नो अनुहार अपलोड गरिबस्छ सामाजिक सञ्जालमा । हिजोआज यो मनको खेतबारीमा भने आशङ्काको खेती सप्रिएको सप्रिएकै छ । (डाउहिल,खरसाङ)