रगत र पसिनाबाट अलिकति नुनिलो लिन्छ कविताले ऋतुहरूसँग लिन्छ केही मन लागेको रङ्ग अनगिन्ती स्मृतिहरू र अनुभवहरूबाट केही अँध्यारो ,केही उज्यालो र केही आवाज सपनाको विशाल भण्डारबाट केही कल्पना र केही जादू लिन्छ विस्तृत मैदानहरू,अनकन्टार जङ्गलहरू, चुनौती दिइरहेका पहाडहरू, निचाट मरुभूमि, हराभरा उच्चसमस्थली नदीहरू र समुद्रबाट केही रूपक र केही बिम्ब लिन्छ । कविताले जिद्दीपूर्वक यति धेरै उद्यम गर्छ कि मानिसहरूको जीवन आफ्नो समस्त यात्रा, सम्पूर्ण पीडाहरू, सबै पराजयहरू र असफलताहरू सारा मानवीय ईर्ष्याहरू र निराशाहरू सारा उपलब्धीहरू र उल्लासहरू, सारा स्मृतिहरू र सपनाहरू, सारा पश्चातापहरू,अतृप्तीहरू र सारा उद्देश्यहरू ती समस्त कुराहरूलाई बढीभन्दा बढी कवितामा अटाउन सकियोस र कविताको जीवन सार्थक बनाउन सकियोस । निकै थोरै कविताहरू मात्र यो लामो यात्रा पार गरेर चुलीसम्म पुग्न सक्छन् । वाँकी कविताहरूले बाटोमै कतै गुमनाम मृत्यु वरण गर्छन् या केही दिनपछि विर्सिइन्छन् । तर ती असफल, अधुरा र लक्ष्योन्मुख कविताहरू नहुँदा पनि मानवताको इतिहास लेख्न सकिन्न र, न त कविताको नै लेख्न सकिन्छ ! असफलताहरू र पराजयहरूको इतिहास भुल्नु पनि एउटा मनुष्यद्रोही र काव्यद्रोही कृतघ्नता हो ! (अनुवादक : बलराम तिमल्सिना)