ऊ, मोटर चढेर गयो
कस्तो निष्ठुरी, मोटर चढेर गैगयो
उसलाई मोटरले नै निष्ठुरी बनायो
जाँदा एकपल्ट पनि हात हल्लाएन
फर्केर एक झलक पनि दिएन
उसले जाने मोटर त चाडै पायो
तर फर्किने मोटर अझै पाएन कि
सायद फर्किने बाटो बिरायो कि
कहिले त मोटर बनाउनेसँग रिस उठ्छ
यो बाटो बनाउनेसँग झोक चल्छ
दिनभरी बाटो हेर्छु, मोटर गन्छु
धुवाँधुलो इन्धनका स्वर…
कानै थर्काएर, मुर्मुरिन्छु यहीसँग
उसलाई त सम्झिने मात्र गर्छु
कल्पनामा सजाउने मात्र गर्छु
रिसाउन मन छ ऊसँग
तर मन मान्दैन…
बिर्सन खोज्छु उसलाई
तर ऊप्रतिको प्रेमले दिदैन
ऊ त फर्केर आउला जस्तो छैन
तर चिठी पनि आइपुगेन
गाउँघरको सम्झनाले छोएन
सन्चो बिसन्चो कानमै परेन
कि म अबोधमा बाँचिरहेछु
कि म यादमै बाँच्ने भैसकेछु
कि म पर्खाइमै दिन काट्दैछु
ऊ त मोटर चढेर गैगयो
इन्धनले धकलेर टाढा पुर्याइदियो
मबाट पनि धेरै टाढा
ऊ त मोटर चढेर गैगयो…।।।
(धादिङ)