म फेरि आइपुगेको छु जेलर
तिम्रो यो बन्दीगृहभित्र ।
घरि लछारिएर
र घरि पछारिएर
घरि कुटिएर
र घरि कुल्चिएर
म फेरि ल्याइएको छु
यहाँ ।
तिम्रो आश्चर्य यो हाँसो
साक्षी रहनेछ मेरो
र तिमीले फेरि
गर्नेछौ मेरो सीदाको व्यापार ।
आश्चर्यचकित छौ हैन ?
तिम्रा उचालिएका आँखीभौंहरुले
सोध्न खोजेको प्रश्न
मैले बुझेको छु ।
उही ढुङ्गामुढाको
केस त हो नि
‘सार्वजनिक अपराधी ।’
हो, हो,
यही सरकार ल्याउन
पहिल्यै पनि
धेरैचोटि सडकमा
यस्ता थुप्रै ढुङ्गामुढा
बोकेर हिँडेको हुँ
आज फेरि
यही ढुङ्गामुढा बोकेर
हिँडेको छु ।
यो सरकारको
गोला बारुदको विरुद्धमा लड्न
सडकमा मजस्ता निहत्थाहरुका लागि
ढुङ्गामुढाभन्दा अरु
केही नहुँदो रै’छ
ढुङ्गामुढा त हाम्रो
भाग्यको नियति नै बनिसक्यो ।
सत्ता सधैं तिम्रो भयो
र सडक सधैं हाम्रो भयो जेलर ।
(तनहुँ)