हो, यहीँ कतै रोपेको थिएँ मैले सपनाको बिउ
गर्दै उकाली ओराली गाउँ बेसीका
हृदयभरि सजाएर सुनगाभा
जीवन फुलाउने सपना सजाएको थिएँ
र खोस्रेको थिएँ यिनै पहराहरू
बगाएर पसिनाका अजस्र धारा
सिँचेको थिएँ सपनाका पख्य्रानहरू ।
पुर्खाको थातलाई भाग्यसँग जोड्दै
म खोज्दै थिएँ जीवनको अर्थ यहीँ कतै
र निरुत्तर निरुत्तर मनलाई
चित्त नबुझेपछि
सोच्न थालेको थिएँ
हामी नर छौँ कि पशु ?
हो, त्यति नै खेर, कतैबाट
फरक सपनाको जून
झुलुक्क झुल्किइको थियो
हृदयको एक कुनामा
र जतनसँग सजाएर राखेको थिएँ
बचाउँदै राखेको थिएँ
यही मास्तिरको
चिहान डाँडाको ऐसेलुका काँडासँग,
कहिले खहरेको भेलसँग बचाएर कहिले जङ्गलको डढेलोसँग बचाएर
कहिले मृत्युको दोसाँधबाट ब्युँझाएर
मैले यतैतिर कतै छोपेको थिएँ सपना ।
पोहोरमात्र हो,
मैले विश्वास गरेर कसैलाई
सहिछाप गरेर विश्वासको तमसुकमा
शहर पठाएको थिएँ सपना
तर अहँ आजसम्म
फिर्ता आए मकहाँ ।
के तपाईंलाई थाहा छ ?
मैले भोटमा विश्वास गरेर
शहर पठाएको मेरो सपनाको तमसुक
च्यातिने दिन कहिले आउँछ ?