जसरी गोधुलीको पूर्व सन्ध्यामा
झुल्किन्छन् एक हूल ताराहरू
ठिक त्यसै गरी
मान्छे नजन्मिदै जन्मिन्छ सपना ।
बाबुआमाका रहर र चाहनासँगै
बर्षहरु खाएपछि हुर्किन्छ सपना
क्रमशः बालक, किशोर र जवान भएर
तन्नेरीसँगै कलेज जान्छ सपना
कुनै सपना अधुरै हुन्छ र रहन्छ
दागी लागेर पढ्नै छोडेको विद्धार्थी जस्तो ।
कुनै उच्चतहको प्रमाणपत्र बोकेर
लाग्छ जुत्ता खियाउँदै सहरतिर सपना
सहरमा सपनाले हाल्छ हाँगा र पात ।
सहरमा प्रमाणपत्र नबिकेपछि
सहरमा सपना नटिकेपछि
अन्तिम बिकल्प रहन्छ ऊसँग
र लाग्छ हरियो बाकस जस्तै
हरियो पासपोर्ट बोकेर
ल्याकत अनुसारको देश–
अमेरिका, बेलायत, अष्ट्रेलिया
जापान, सिंगापुर, मलेशिया
वा म जस्तै रेगिस्तानतिर
आङ्खनै पैसाले बेचिएर
आङ्खनै मलामी बन्न ।
रेगिस्तानमा आएको सपना
बर्षै पिच्छे सपनामै सीमित हुन्छ
दशैँ, तिहार, तीजमा
ल्होसार, फगुवा, इदमा
साकेला, उँभौली र उँधौलीमा
डाँको छोडेर रुन्छ सपना
मुलुक सम्झेर रुन्छ सपना ।
कति सपना सवारीमा किचिएर मर्छन्
कति सपना टोपी खस्ने टावरबाट खसेर मर्छन्
कति सपना मर्छन् समुन्द्रमा डुबेर
तातो घाममा रन्थनिएर मर्छन् कति सपना
मर्छन् कति सपना विजुली लागेर
तर पनि किन देख्न छोड्दैन मान्छेले सपना ?
दिनहरू महिनामा फेरिन्छन्
सपना सपना नै रहन्छ
महिनाहरु बर्षमा बदलिन्छन्
सपना फेरि सपना नै रहन्छ
बर्षहरु दसक, दसकहरू रजत
र रजतहरु शताब्दीमा फेरिन्छन्
तर पनि सपना सपनामै सिमित रहन्छ ।
कसले देखायो यस्तो सपना ?
जो भत्किन्छ खोलाका किनार जस्तै भएर
र एकदिन मर्छ सपना विपना नभई
सुतेको सुत्यै भएर ।