परिस्थिति सधै तिम्रो वशमा रहने छैन – बलराम तिमल्सिना
on:
फलाम पगालेर कसरी तरवार बन्छ
तरबारको धार कसरी धारिलो बन्छ
र कसरी पाइन चढाएपछि तरवार नदोब्रिने बन्छ
त्यो सबै तिमीलाईभन्दा हामीलाई बढी थाहा छ
हामीले तरवार नघुमाएको
तरवारको ज्ञान नभएर होइन !
कुन पाटपुर्जा जोडेपछि बन्दूक बन्छ
कुन कुन पाटपुर्जा कसरी बन्छन्
कुन कुन पाटपुर्जाले कसरी काम गर्छन्
के के मिसाएपछि बन्छ बिजुली बारुद
र अचुक निशाना कसरी लगाउन सकिन्छ
त्यो सबै तिमीलाईभन्दा हामीलाई बढी थाहा छ
हजारौं बन्दुकहरू बनाएर
तिमीलाई युध्दको लागि पठाउँदा पनि
हामीले एउटै बन्दुक आफूलाई नराख्नु
तिमीले हजार पटक हामीतिर बन्दुक सोझ्याउँदा पनि
हामीले एक पटक पनि जबाफी फायर नगर्नु
हामीलाई बन्दुक चलाउन नआएर होइन !
यो धरतीमा लडिने युध्द
पानीमुनि बसेर लडिने युध्द
र अन्तरिक्षमा बसेर लडिने नक्षत्र युध्द
ती सबैमा प्रयोग हुने
सबै अत्याधुनिक हतियारहरू कसरी बन्छन्
ती सबै हतियारहरू कसरी चल्छन्
ती सबै हतियारहरू कसरी रोकिन्छन्
त्यो सबै तिमीलाईभन्दा बढी हामीलाई थाहा छ
यो सबै थाहा भएर पनि
तिम्रा बिरुध्द हामीले
आजसम्म एउटा पनि युध्दको घोषणा नगर्नु
हामीलाई युध्दकलाको ज्ञान नभएर होइन !
तिमीले प्रयोग गर्ने हरेक हतियार मान्छेले बनाउछन्
ती सबै हतियारहरू मान्छेले चलाउछन्
र जसले बोक्छन् ती हतियारहरू
त्यहाँ पनि हाम्रै खलकका मान्छे छन्
यो सबै भएर पनि
तिम्रो बर्बरताका विरुध्द
एउटा पनि बन्दुक तिमीतिर नफर्केको
हाम्रो आत्माको आगो निभेकोले होइन !
अगेनामा बसाल्नासाथ पानी उम्लदैन
घाम लाग्नासाथ हिउँ पग्लदैन
निश्चित समय पूरा नगरी
जति सुकै रहर गरे पनि बच्चा जन्मदैन
समयको अगेनामा पानी तात्दैछ
समयको तापमा हिउँ पग्लने छ
र समयको विकासक्रममा भ्रुण हुर्कदैछ !
पक्कै एक दिन यस्तो आउने छ
परिस्थिति सँधै तिम्रो वशमा रहने छैन
समयले यस्तो कमाल गर्ने छ
हाम्रा हातमा रहेका बन्दुकहरू हाम्रा हुने छन्
र ती बन्दुकहरूले
तिम्रो आदेशको उल्टो काम गर्न थाल्ने छन् !
(सिन्धुली)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।