चारैतिर मध्यरातको अन्धकार व्याप्त थियो । अन्धकारमा अलमलिएको मान्छेको ठूलै झुण्ड पहाडको फेदमा बिचलित मनस्थितिमा देखिन्थे । केही युवाहरुले हतासमा आत्महत्या गर्ने असफल प्रयास पनि गरे अन्धकारमा । मार्गहिन र दिशाहीन मान्छे गन्तव्यको बोध नभएपछि यो हतासा स्वाभाविक पनि लाग्थ्यो । जंगलै जंगलको उकालो एकापट्टि थियो भने अर्कोतर्फ भयानक आवाज निकाल्दै खोलो बगेको थियो । कता गयो भने उज्यालोमा पुगिन्छ कसैसँग पनि प्रष्ट दिशावोध थिएन । मान्छेहरु आत्तिएर रुन र चिच्याउन पनि थालेका थिए । आवाज पछ्याएर हिंस्रक जंगली जनावरले धावा वोल्दा भन्ने अर्को ठूलो डर थियो ।
हतासले मान्छेहरु आत्महत्या गर्लान् भन्ने डर बढिरहेकै बेला एकजना अधवैंसेले भाषण गर्दै भन्यो- “ तपाईहरुले चिन्तै लिन पर्दैन उज्यालो पुग्ने बाटोको जानकारी मसँग छ ।” यसको निर्धक्कसँग बोलेको अभिव्यक्तिमा सबैलाई आशा जाग्यो । सबैले उसलाई साथ दिएर अगाडी बढ्ने कुरामा सहमति जनाए मान्छेहरुले उसलाई नेता माने । उसले सबैलाई पछि लगाएर उकालो लाग्यो । बिचरा नेतासँग पनि उकालो लागेपछि साच्चै कुन ठाउँमा पुगिन्छ भन्ने जानकारी थिएन । तैपनि सबै मान्छेमा हौसला बढेको र आशावादी भएको देखेर ऊ आफै आफै पनि उत्साहित भयो ।
उकालिदैं जाँदा घण्टौं वितेपनि कुनै बाटो भेटिएको थिएन नेता आफैं त्रस्त भएको थियो । नेताले एउटा धमिलो छायाँ देख्यो । ऊ छायाँतर्फ बढ्दा थाहा पायो त्यो छायाँ मान्छेको रहेछ । त्यो मान्छेले नेतालाई म पथप्रदर्शनमा सहयोग गर्छु भन्यो । मलाई बाटो थाहा छ भनेर डोहोर्याउँदै लग्यो पनि । लैजाँदा लैजाँदा क्रमश अध्यारो कम हुँदै गयो । अलिअलि उज्यालो हुन लागेपछि नेताले देख्यो डोहोर्याउने मान्छे त अन्धो रहेछ । उसले पढेको एउटा कथाको पात्र जस्तो अकर्मन्य पाएपछि उसले जुक्ति निकाल्यो ।
अन्धोले नेतालाई डोर्याएको रहेछ भन्ने थाहा पाएपछि नेता बनेको व्यक्तिको यथार्थ पक्ष उजागर हुने डरले नेता स्वयमले पनि आफ्नो आँखा बन्द गरेर अन्धो बनेको नक्कल गर्न थाल्यो । पछि लागेका मान्छेहरुले आँखा बन्द किन गर्ने भनेर प्रश्न गरे नेताले उज्यालोतर्फ जान त्यसै गर्नु पर्छ भनेर तर्क गर्यो । उसका पछि लागेर उज्यालो नजिक आइपुगेको सन्दर्भमा मान्छेहरुले नेताको विश्वास पनि गरे, अनि आफ्ना सद्दे आँखा बन्द गरेर नेताको हात समातेर डोर्याइँदै पछि पछि लागिरहे ।