शत्रुको हातबाट बाँच्नलाई अन्धाधुन्ध फाल तोड़्दै भागिरहेको थकित मृगझैँ जनता सबै यहाँ थकित छन् विवादित छन्। एकनासले लगातार बगिरहेको बर्खा यामको उर्लंदो खहरेले एउटा विशाल पत्थरलाई टुक्रा टुक्रा पारी सा-साना बालुवामा परिणत गरेझैं जनता सबै यहाँ विभाजित छन् जात जातमा झन्डा झन्डामा। वसन्तको आगमनमा नवपालुवाहरूले कोपिलाहरूले हरित मुनाहरूले फक्रिएर सारा वसुन्धरालाई जसरी हरियाली तुल्याउँदछन हर्षित तुल्याउँदछन् ठिक उसै गरी यहाँ थोत्रा व्यवस्था भित्राउँदा सबै जनता हर्षित हुँदछन् र फूलमाला चढाउँदछन् नेताहरूलाई। रातको अँध्यारोमा चम्किरहेको कुनै दीप्ति देखी जसरी अबोध पशुहरू सम्मोहित हुन्छन् ठिक उसै गरी यहाँ नेताको भाषण सुनेर जनता सबै सम्मोहित हुन्छन् र दुई हातले ताली ठोक्छन्। रातमा चन्द्रमाको किरण परी चाँदीको देख्ने हिमाल बिहान सूर्यको सुनौलो रश्मि पर्दा जसरी स्वर्णझैँ देख्दछ ठिक उसैगरी यहाँ जनता सबै बेरङ्गी छन् बिहान एउटा झन्डा समातेर एउटा नारा लगाइरहेका हुन्छन् बेलुका अर्कै झन्डा समाती अर्कै नाराबाजी गरिरहेका हुन्छन् यस्तै छन् यहाँको बुद्धिमानी जनता।। (पत्थरझोड़ा, डुवर्श)