'म'
बस्नको निम्ति भित्र पसेको छु
'तिमी'
बाहिर निस्कन मभित्र पसेकी छौ
त्यसैले 'म' तिमीसँग जस्तै भएपनि छु
रहन्छु ।
'म' शान्त छु
आक्रान्त छु
आफ्नै तातोमा भत्भत् पिरोलिन्छु
आफ्नै जाडोमा कक्रिएर बस्छु
यही भाषाको मकलमा
यस्तै यिनै शब्दका झिल्का तापेर
बस्छु-
छु तिमीभित्रै पसेकी भएपनि
मेरो यस्तो शान्त मुद्राले तिमी आक्रोशित हुन्छयौ
तिम्रो समस्या बाहिर निस्कनु हो
त्यसैले तिमी पनि बाहिर निस्कन
शब्दकै सहारा लिन्छयौ
मेरो शान्त देखिने पीडामाथि
मैले बुझेकै शब्दका झिल्काले खनिन्छयौं ।
भत्भती मलाई पोल्छयौ
'म' त्यही लिएर पनि तिमीभित्रै बस्छु
अनि समयको सडकमाथि
घोडाको टाप जस्तै
मेरो लेखनको वारपार कुद्छयौ
तिम्रा टापले घायल
धुलो टकटक्याउँदै
'म' आफ्नो घाउ मसारेर उठ्छु ।
हेर्छु तिमी गएकी छैनौ
'म' तिमी गएको हेर्न चाहन्न
सक्तिन
तिमी असावधान छ्यौ
तिमी निस्कन मभित्र पसेकी
'म' लामो निन्द्रामा परेपछि पनि
तिम्रो निस्कने असावधानी त्यस्तै रहने छ ।
म जस्तै भाषाको मकलमा शब्द तापेर
आउ मसँगै बस् !
बाहिर बलेसीमा आकाश
पानीको थोपामा ओर्लिन्द छ
शान्त 'म' तिमीलाई
झिल्काहरुले बुनेर
यो जाडोमा तिम्रै कथा सुनाउने छु
तिम्रा अनुहार पढ्नेहरु जेसुकै भनुन्
मेरो मकललाई
मेरो झिल्कालाई
र
मेरो शान्त पीडालाई वरण गरेर
संभव भए
मसँग एकाकार भएर बस् ।।
(गान्तोक, पूर्व सिक्किम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।